चिया पसलमा चिया खाँदै गर्दा साथीको फोन आयो। साथीको बिहे हुँदै थियो। निमन्त्रणा दिनका लागि मलाई फोन गरेको रहेछ।
उसले भन्दै थियो 'मेरो बिहे हुँदैछ आउनु पर्छ है।'
'हस् यार, तिम्रो बिहे म नआउने कुरा हुन्छ र, म आउँछु।' भन्दै उसलाई मसका लगाउँदै थिएँ।
त्यही बीचमा पछाडिबाट एक जनाको आवाज आयो। 'यहाँ बिहेको कुरा नगर्नुस् त।'
उहाँको स्वरमा रिस प्रस्ट बुझिन्थ्यो।
पछाडि फर्केर हेर्दा, २२⁄२३ वर्ष उमेर देखिने, कुर्ता लगाएको मुखमा रिस प्रष्ट देखिने एक युवती हुनुहुन्थ्यो।
'हजुर? के भन्नुभयो?' भन्दै उहाँसँग बोल्न खोजेँ।
'बिहेसिहेको कुरा यहाँ नगर्नू, अरू ठाउँमा गएर गर्नू' फेरि त्यही शैलीमा भन्नुभयो।
'के भाको हो तपाईंलाई? शान्त, शान्त भएर बोल्नुस्' भन्दै फोनमा भएको साथीलाई भनेँ- फोन राख त यार पछि कुरा गर्छु।
उसले 'हस्' भन्दै फोन काट्यो।
'किन यति रिसाउनु भएको? तपाईंको घर कहाँ हो र तपाईं को हो?' उहाँको बारेमा बुझ्न खोजेँ।
'के भन्नु बाबु, अमिरा मेरो आफन्त पर्छ हुन लागेको बिहे रोकियो, घर यहीँ नजिक हो।' चियावली काकीले जवाफ दिनुभयो।
म केहीबेर चुप लागेँ।
अनि फेरि सोधेँ- काकी अमिरासँग कुरा गर्न सक्छु? अनुमति लिन खोजेँ।
काकीलाई म पहिलेदेखि चिन्थेँ र काकीले पनि चिन्नुहुन्छ।
'हुन्छ बाबु कुरा गर्दा हुन्छ। उसको नि मन हल्का होला कि तर यहाँ हैन (कोही नभएको ठाउँ देखाउँदै) त्यता गएर बस्नुस्।'
हामी केही पर गएर बस्यौं अनि मैले सोधे- अमिरा खबर ठीक छ नि?
अमिरालाई बिहे शब्ददेखि घिन लाग्छ। सुन्न नखोजेको शब्द हो। सबै कुरा बुझ्न खोज्दा कुरा यस्तो रहेछ।
उसले भन्दै गइन्।
म ‘ब्याचलर’ भर्खरै पास गरेर बाहिरबाट घर आएँ। घर आउनसाथ बुवाआमाले छोरीको बिहे गर्दिनुपर्छ भनेर मेरो लागि बेहुला खोज्नु भयो। म त्यसमा केही पनि आपत्ति जनाइनँ। सबै कुरा मिल्यो। केटा ब्याचलर पास गरेर सरकारी जागिर गर्दै हुनुहुन्थ्यो, घरपरिवारसँगै केटा पनि राम्रो थियो।
सबै कुरा मिले पनि लेनदेनको कुरा ‘क्लियर’ भएको थिएन। उहाँको माग अनुसार बुवाले लगभग अधिकांश कुरा जोहो गर्नु भएको थियो। केही रकम बाँकी थियो। बेहुलातिरबाट दिनहुँ फोन आइरहन्थ्यो।
एक दिन बेहुला र बेहुलाको बुवा मेरो घर आउनुभयो र अलि नराम्रो तरिकाले बुवासँग बोल्न थाल्नु भयो।
'छोरीलाई बिहे गर्न सक्नु हुन्न भने किन जन्माउनु भयो, पहाडतिर, हिमालतिर, अन्य समुदायमा नभन्दै लाखौं, लाख लेनदेन गर्छ, तपाईंलाई जाबो यतिका सामान र रकम दिन गाह्रो किन?' मेरो बुवा केहीबेर चुप लागेर, शान्त भएर बसिरहनु भयो।
अनि भन्नुभयो-छोरी मैले जन्माएको छु, त्यसको पीडा तपाईंले लिनु पर्दैन। रह्यो लेनदेनको कुरा म सक्षम भएसम्म तपाईंलाई दिएको छु, ढाड भाँच्ने गरी तपाईंले माग गरेपछि गाह्रो भइहाल्छ नि तै पनि म जोहो गर्दैछु र दिएको समयमा सबै पूरा गर्न कोसिस गर्छु।
'मेरो छोरा राम्रो छ, पढ लेखेको छ, सरकारी जागिरे छ, धनसम्पत्तिको कमी छैन, तै पनि जाबो यति सानो माग पूरा गर्न कति गाह्रो भएको हो, छोराले भने समयमा पूरा गर्नु नभए फेरि के होला सोच्नु,' बेहुलाको बुवाले भन्दै हिँड्यो।
मेरो बुवा केहीबेर ट्वाल परेर उभिरहनु भयो। बिहेको ४ दिन बाँकी थियो। लभगभ सबै तयारी पूरा भइसकेको थियो। उहाँ दिनभरि केही गर्नु भएन, दिनभरि टाउको हातमा राखेर कुनामा बसिरहनु भयो।
बेलुकी खानाका लागि बोलाउन जाँदा, आफैं बरबराउन थाल्नु भयो।
'मेरो घरमा तिमी जन्मिँदा हामी औधी खुसी भएका थियौं। छोराछोरीलाई हरेक कुरामा बराबर राखेर हरेक आवश्यकता पूरा गरेँ। अनि अहिले आएर यस्तो सुन्नु परेको छ। म आफ्नो घरको लक्ष्मी दिँदैछु, उसको वंश बढाउने जग पठाउँदै छु। मेरो मुटुको टुक्रा सादाका लागि दिँदैछु, त्यति मात्रै हैन मेरो छोरी सक्षम छे घरपरिवार मजाले सम्हालन सक्छिन्। उनीहरूको माग अनुसार केही त नपुग्या हो नि। यसरी बोल्नु त भएन नि। छोरी, म तिम्रो कन्यादान गर्दिनँ, मलाई डर लाग्न थाल्यो। यसरी बोल्नेले कालान्तरमा के गर्ला भर छैन।
केही दिन पहिले समाचार सुनेको थिएँ 'बिहेको भएको केही वर्षपछि भनेको अनुसार दहेज नदिएपछि श्रीमानले श्रीमतीलाई जलाएर मार्न खोज्यो' छोरी तिम्रो बिहे जोसँग लेखेको हुन्छ त्यहीसँग हुन्छ तर बिना लेनदेनको गराउँछु तर यो केटासँग बिहे गराउँदिनँ।
त्यसपछि, अमिरा चुप लागिन्।
म त्यसपछि के भयो सुन्न उसले केही बोल्छे कि भनेर उसको मुख हेरिरहेको थिएँ।
'बाबु, अमिरालाई बिहे गर्ने रहर थिएन तर बिहे गर्नैपर्छ भनेर सपना पक्कै देखेको थिइन्। अधुरो रह्यो अमिराको बिहे गर्ने सपना' यति भन्दै चियावली काकीको आँखा रसायो।
'मलाई बिहे गर्ने सपना थियो, बिहेदेखि घृणा हैन तर जुन तरिकाले बिहे हुने गरेको छ, त्योदेखि समस्या छ। कतिपयले लाखौं खर्च गरेर बिहे गर्छ त्यसलाई आदर्श विवाहको संज्ञा दिन्छ, खुसीले केही दियो भने प्रथा भन्छ,' अमिराले भनिन्।
'हो नि, धेरै कुरा बदलियो तर कतिपय कुरा बदलिन जरूरी छ। जुन तरिकाले दहेजलाई प्रथा भनेको छ त्यो पनि गलत हो नि, लेनदेन सबैतिर हुन्छ तर प्रथा केही सीमित ठाउँमा मात्रै छ जस्तो भान गराउँछ। फरक यति हो, तराईको कति ठाउँमा केही व्यक्तिले जबरजस्तीले माग्छ भने अन्य ठाउँमा खुसीले त्यसको कयौं गुणा बढी दिन्छ,' चियावाली काकीको जवाफ।
कुरा जे भए पनि सोच र समाजको बुझाइ बदल्न जरूरी छ। जुन छोरी अरू घरमा गएर वंशको अगाडि लग्छ, घर परिवार समाल्छ, परिवारको महत्वपूर्ण अंश बन्छ, बाँकी जीवन त्यही बित्छ, त्यहाँ लेनदेन हुनुहुँदैन। कन्यादान करले हैन रहरले गर्नुपर्छ।
'ल तपाई ‘कुल’ हुनु भविष्य बनाउनु सपना पूरा भइहाल्छ,' भन्दै म आफ्नो गन्तव्यतिर लागेँ।