आरतीले पहिलो पटक सूर्यलाई देखेकी थिइन् चौराहेमा, एक हातमा फाइल र अर्को हातमा फुर्सदिलो हिँडाइ। सूर्यलाई त्यो क्षणमा केही छुट्टै लाग्यो— मानौँ भिडमा एउटा अनुहारले बाँकी संसारलाई निष्प्रभ बनाइदियो।
उनीहरूको पहिलो नजर, पहिलो मुस्कान र पहिलो संवाद त्यति विशिष्ट थिएन तर त्यही सामान्यतामा केही विशेषता थियो, जुन कहिल्यै बिर्सन सकिने थिएन। जीवनको यात्रा त्यस दिन सुरु भएको थिएन तर माया भने सुरु भइसकेको थियो।
आरती प्राज्ञिक थिइन्, योजनाबद्ध थिइन् र देशप्रति जिम्मेवार थिइन्। सूर्यको संसार चाहिँ सृजनात्मक थियो, जहाँ कल्पनाले गहिरा रङहरू भर्थे। उनीहरू एउटै सपना बाँड्न थाले— देशमै केही गर्ने, देशमै केही बन्ने। तर ती सपनामा एउटा कुरा थिएन— देश प्रेम र माया कहिले एकअर्कासँग लड्नेछन् भन्ने कल्पना।
जब आरती वास्तविकताका भित्री तहहरूमा पुगिन्— सरकारी कार्यालय, नियमको विडम्बना, प्रणालीको पाखण्ड, त्यसपछि माया बाँच्न गाह्रो भयो।
के प्रेम यत्रो गहिरो हुँदा पनि एक देशको बिग्रिएको सिस्टमसामु टिक्न सक्दैन?
कि वास्तवमै देश बदलिन्छ भन्नु केवल काल्पनिक आदर्श हो?
सूर्यले आरतीलाई पहिलो पटक देख्दा त्यो क्षणमा समय ठहरिएजस्तो लाग्यो। एउटी स्वाभिमानी, तेजस्वी र आत्मविश्वासी युवती जसले उसको मनको एक कोठा एकै झलकमा कब्जा गरिन्। आरतीलाई पनि सूर्यको सरल स्वभाव, चुपचाप अनुहार र उसले भन्ने साना कुराहरूमा गहिराइ महसुस हुन्थ्यो। उनीहरू भेटिरहे, रमाइलो गरे, हाँसे, भविष्यका सपना बुने— हाम्रो घर यस्तो हुनेछ, छतमा सौर्य प्यानल राखौँला, फूल रोपौँला, र बिहान चिया सँगै पिउँला।
सूर्य कविता लेख्थे, आरती योजनाकार थिइन्। उनीहरूको प्रेम यति साँचो र सुमधुर थियो कि संसार केही समयका लागि उज्यालो लाग्थ्यो। जीवनको यात्रा सुरु भएको थियो— हातमा हात समाएर, भविष्यको बाटोमा साथ दिने वाचासहित। तर आरतीको नजरसँगै उसको अन्तर्मन पनि संवेदनशील थियो— देशको अवस्था, सिस्टमको सडेको स्वरूप अनि आफ्ना नागरिकको पीडा उसलाई बिर्सन सकिने थिएन।
एक दिन आरती कर कार्यालय गइन्। सानो काम थियो तर त्यहाँको प्रक्रियाले उनलाई झस्कायो। कागजात सक्कल छ भनिए पनि थप प्रमाण मागियो, लाइनमा घण्टौँ बसे पनि भित्रबाट फोन आउने मान्छेहरू सिधै पस्न थाले। अर्को दिन नगरपालिका पुगिन्— जुन कुराको जानकारी लिने गइन्, त्यसको उत्तर ‘भोलि आउनुहोस्’ थियो।
तेस्रो दिन सहायकले अलिक गम्भीर हेराइ दिँदा उनले सम्झिन्— यहाँ काम बुझाएर होइन, चिनजानले मात्र हुन्थ्यो।
केही दिन यसरी सरकारी कार्यालय धाउँदा आरती भित्रभित्रै फुट्न थालिन्। जुन देशमा आफू जन्मिइन्, जहाँ आफ्ना सपनाहरू बुनेकी थिइन्, त्यहाँ आफूजस्ता इमानदार नागरिकलाई अपमान र अप्ठ्यारो मात्र किन थियो? उनी रिसाइन्, थाकिइन् र अन्ततः सूर्यसँगको भेटमा उनले गहिरो सास फेरिन्— ‘सूर्य, यो देशमा केही हुँदैन। कानुन, सिस्टम, प्रक्रिया— सब भ्रष्ट छन्। मैले सक्दिनँ अब।’
सूर्य शान्त थिए तर पीडित थिए। उनले मुस्काउँदै भने— ‘आरती, परिवर्तन एकै दिनमा हुँदैन। हामी जस्तै युवाहरूले यस देशलाई बदल्न सक्छौँ। देश प्रेम पनि त माया जस्तै हो— सहने, बुझ्ने र बाँध्ने कुरा। बसौँ, गरौँ केही।’
आरतीको आँखामा आँसु झुल्कियो। उनले चिच्याएर भनिन्— ‘तिमी नै बस, म सक्दिनँ अब यत्रो सडेको सिस्टममा जिउन।’
त्यो दिन सूर्य केही बोलेनन्। उनले आरतीको हात समात्न खोजे तर त्यो हात अब साथमा बस्न चाहँदैनथ्यो। केही दिनपछि आरती देश छोडिन्— सायद विदेशतिर जहाँ कानुन काम गर्छ, सम्मान पाइन्छ र व्यवस्था निष्पक्ष हुन्छ।
सूर्य एक्लिए तर उनले आफ्नो देशसँग प्रेम गर्न छोडेनन्। उनी अझै पनि प्रत्येक बिहान कार्यालय पुग्छन्, साँझ फर्केर स्थानीय टोलमा युवा भेला गर्छन्— ‘हामी के गर्न सक्छौँ?’ भनी छलफल चलाउँछन्। साना कार्यशाला, कानुनी सचेतना कार्यक्रम, युवाको आवाज सरकारसमक्ष पुर्याउने कसरत— यो सब सूर्यको नयाँ जीवनको हिस्सा भयो। उनले आरती गुमाए तर देश प्रेम अझै बाँकी छ।
राति कहिलेकाहीँ उनी टिनको छानामुनि बसेर तारामण्डल हेर्छन्। त्यहाँ उनले आरतीको अनुहार देख्छन्। उनी भन्छन्, ‘तिमीले भनेझैँ यो देश अझै सुस्त छ। तर हामीले जति सस्तो माया गर्न सकेनौँ, देशले पनि हामीलाई त्यति सजिलो साथ दिएको छैन।’
त्यो प्रेम अब भूत बनिसकेको छ तर त्यो भूतले उनलाई डर देखाउँदैन, बरु प्रेरणा दिन्छ। सूर्यको प्रेम आरतीप्रति मात्र थिएन— उनी आरतीको सपना, सोच र संकल्पसँग पनि माया गर्थे। र ती सबै कुरा उसले देशप्रेममार्फत जीवित राखेका छन्।
आज त्यो कथा कुनै पत्रिकामा छापिएको छैन, त्यो कथा फिल्म बनेको छैन। त्यो केवल हजारौँ युवाहरूको कथामा लुकेको छ— जो आफ्नो देशलाई माया त गर्छन् तर बारम्बार निराश भइरहन्छन्। आरती जस्तै हजारौँ युवा हर वर्ष देश छाड्छन् र सूर्य जस्तै केही थोरै व्यक्ति बाँकी रहन्छन्, जसले ‘बिस्तारै हुन्छ’ भन्ने विश्वास बोकेर संघर्ष गर्छन्। प्रेम कहिलेकाहीँ हार्छ तर त्यो हार केवल सम्बन्धको अन्त्य हो, जीवनको होइन।
जब आरती गइन्, सूर्य बसिरहे। बस्नुको पीडा थियो तर बस्नुको साहस पनि। माया टुट्न सक्छ तर विश्वास कहिल्यै पनि भाँचिँदैन। जहाँ प्रेम गुम्यो, त्यहीँ आशा बाँकी रह्यो। आरती गइन्। उनले आफ्नो सपना, प्रेम र देशप्रतिको भरोसा सबै पछाडि छोडिन्। उनले नतिजा रोजिन्, प्रक्रिया होइन। सजिलो जीवन रोजिन्, संघर्ष होइन।
तर सूर्य बाँचे— भत्किएको मन, टुटेको सपना र अधुरो प्रेम बोकेर पनि बाँचे। किनभने उसले माया गर्न छोडेन— न आरतीलाई, न आफ्ना आदर्शहरूलाई, न आफ्नो देशलाई। यो केवल प्रेमको कथा थिएन, यो संघर्षको कथा थियो। त्यो संघर्ष, जुन प्रत्येक सचेत नेपाली युवाले भोगिरहेछ। जब सिस्टम अपारदर्शी हुन्छ, जब देशले आफ्ना सच्चा नागरिकलाई पीडा दिन्छ, तब कतिले भाग्छन् आरतीजस्तै।
तर केही सूर्यजस्तै पनि छन् जो बस्छन्, सुस्तरी, चुपचाप तर दृढताका साथ। माया कहिलेकाहीँ जित्दैन। कहिलेकाहीँ देशप्रेमसँग हार खान्छ। तर त्यो हार नै कहिलेकाहीँ परिवर्तनको सुरुवात बन्छ। आरती गइन् तर सूर्य बसे। सूर्य जस्ता थुप्रै छन्, जसले आरतीहरू गुमाउँछन् तर सपना गुमाउँदैनन्।
यदि तिमी पनि कहिल्यै सूर्यजस्तै बसेका छौ भने— तिमी मात्र एक्लो हैनौ। परिवर्तनलाई साथ दिनेहरू थोरै हुन्छन् तर सधैँ आवश्यक हुन्छन्।