धेरै वर्षपछि कलेज पढ्दाको साथी ‘ज्वाला’लाई अचानक बाटोमा भेटे मैले। उसलाई भेट्दा ३२ वर्ष अगाडिको कलेज जीवनको अनुभूति भयो। साह्रै मिल्ने साथी थियो ऊ। एकैछिन बाटोमा गफ गरेपछि चिया पिउन अनुरोध गरेँ। सहमति जनायो। दुवै चिया पसल पस्यौँ।
सामान्य भलाकुसारीपछि उसले आफ्ना भोगाइ र अतीत बतायो। उसका कुरा सुनेपछि आफ्ना कुरा बन्द गरेँ मैले। सुन्दा रोइहालौँ वा प्रतिवादमा उत्रौँ जस्तो लाग्थ्यो! अनि के भयो? उत्सुकता पूर्वक सोधेँ उसलाई!
चिया पिउँदै थप कुरा अगाडि बढायो। सुनिरहेँ म। ऊ भन्दै गयो...
‘जेल भन्ने बित्तिकै मानिसहरू डराउँछन्। जेल सुधार गृह हो भन्छन् कोही! कोही नरक भन्छन्! स्नातक तह सकेपछि जागिर खान सहर छोडेँ। गाउँ गएँ। २०५० ताका सिन्धुपाल्चोकमा अङ्ग्रेजी शिक्षकको खाँचो थियो। घर नजिकको स्कुलमा शिक्षक भएँ। भर्खर स्नातक सकेको जोसिलो युवा भएकाले विद्यार्थीहरू आशावादी थिएँ। बिहान बेलुका सित्तैमा ट्युसन पढाएँ। अङ्ग्रेजीको हाउगुजी हटाएँ। विद्यार्थीहरू अङ्ग्रेजी बोल्न लागे। त्यसले सन्तुष्टि दिन्थ्यो मलाई।धेरै समय स्कुलमा बिताउँथेँ तर हेडसर थिइनँ।’
टाउको हल्लाउँदै अ...अ भन्दै गएँ। धारा प्रवाह भन्दै गयो ऊ। एक टक सुन्दै गएँ म!
‘२०५३ सालमा स्कुल नजिक दुई जना प्रहरीको हत्या भयो। प्रशासनले अनेक छानबिन गर्यो। अन्ततः प्रहरीले हत्याको योजनाकार मलाई बनायो। संलग्न थिइनँ। नामकै आधारमा मलाई माओवादी बनाए। आकाश, धर्ती, ज्वाला, वर्षा, बादल जस्ता नामलाई उनीहरूले माओवादी ठान्दा रहेछन्! पक्राउपछि जिल्ला अदालत हुँदै काठमाडौँ कारागार पुर्यायो प्रहरीले! निर्दोष मान्छे जेलमा बस्नुपर्दा आगोको मुस्लोझैँ रिसको मुस्लो उठ्थ्यो। रिसाउँथेँ। त्यही झोकमा कैदीसँग कहिलेकाहीँ वाद प्रतिवाद हुन्थ्यो मेरो। अरू जस्तो साँच्चिकै हत्या र बेइमान गरेर जेल गएको थिइनँ म। फसाइएको थियो।’
‘अनि... के भो ?’ फेरि सोधेँ मैले।
‘केन्द्रीय कारागार अझ अचम्म लाग्थ्यो। पुलिस मारेर जेल आएको माओवादी भनेर निगरानी गर्दथे मलाई। माओवादीलाई अचम्मैको प्राणी ठानिन्थ्यो त्यस बेला। जेलमा हुँदै एमए पढ्न चाँजोपाँजो मिलाएँ। राजनीति शास्त्रमा प्राइभेट परीक्षा दिएँ। पढ्न सहज रहेछ। राम्रै लाग्यो। फर्स्ट डिभिजनमा पास गरेँ। अर्को कुरा कैदीलाई आत्मनिर्भर हुने काम सिकाइँदो रहेछ त्यहाँ। त्यो पनि मन पर्यो। ढाकाका कपडा बुन्ने, बाँसका मुढा बनाउने, खेलौना बनाउने आदि। त्यो कुरामा मलाई भने जाँगर थिएन। किताबहरू पढ्थेँ। अनाहकमा राज्यले माओवादी कार्यकर्ता बनाई बन्दा बनायो। असली स्वरूप देखेँ मैले राज्यको।
जेलभित्र छुट्टै संसार रहेछ। एक दिन एउटा मान्छेले ‘खुब पढ्छस् रे! नाम के हो तेरो?’ भन्यो! ‘ज्वाला’ हो भनेँ। उसका कुरा सुन्दा पनि झोँक चल्यो मलाई। ‘तँलाई के मतलब?’ भनिदिएँ! रिसाएर आगो भयो ऊ। टेढो आँखाले हेऱ्यो मलाई। तुरुन्तै झम्टियो! थप्पड हान्यो! जेल पर्नुअघि चौकीमा पुलिसले कुटेको भन्दा बढी कुट्यो।
एक जना अर्को कैदी जो आएको ५ वर्ष बितेको रहेछ। ऊ जेलका सबै जसोलाई चिन्दो रहेछ। उसले मलाई सम्झायो। ‘नयाँ जस्तो छौ भाइ। त्यो कुट्ने मान्छे नाइके हो। नाइकेसँग डराउनु पर्छ। जेलभित्रको राजा हो नाइके! होसियार हुनु!’
बल्ल नाइके बारे बुझ्न थालेँ मैले।
नाइकेलाई नमस्कार गर्नु पर्ने! सिधा र ठाडो नजरले हेर्नु नहुने प्रचलन रहेछ। जे भन्यो हस् भन्नु पर्दो रहेछ। मलाई के थाहा? कैदीबारे प्रशासनमा रिपोर्टिङ गर्ने व्यक्ति नाइके नै हुँदो रहेछ। बाहिर आउजाउ गर्न पाउँदा रहेछन्। भाइ नाइके पनि नियुक्ति गर्दा रहेछन्। फुर्ती नै बेग्लै तिनको। अर्कै संसारको मान्छेझैँ गर्थ्यो ऊ! मानौँ ऊ कैदी नै होइन।
थुनुवाहरूले सामान किन्न नाइकेमार्फत पठाउनु पर्ने रहेछ। सामानको मूल्य बढी तर परिमाण कम हुन्थ्यो। त्यसमा पनि चुप लाग्नु पर्ने! खुब नाफा खाँदा रहेछन्! नाइके नियुक्तिमा ठुलै चलखेल र तँछाडमछाड हुने रहेछ। जेल प्रशासनले सहजताका लागि बनाएको नाइकेले उधुम मच्चाउँदो रहेछ जेलमा। नाइकेमार्फत प्रशासनसम्म रस पुग्छ कि क्या हो?’
‘ए होला र?’ थपेँ मैले।
‘नाइकेको व्यवहार खराब छ भनेर जेल प्रशासनलाई उजुरी गरेँ। जेल प्रशासनले मतलब गरेन। हटाउने कुरा कता पुग्यो पुग्यो। त्यसपछि त झन् म उसको आँखाको तारो बनेँ। जेलमा पनि अर्को शत्रु निस्कियो। उसलाई देख्ने बित्तिकै लुक्थेँ म!
अनाहकमा अपराधी बनाउँदा झन् विद्रोही भएँ। त्यसले मलाई नाइकेको कोपभाजनमा धेरै पटक पार्यो। उसको मुक्का र लात्ती त कति खाएँ खाएँ। उजुर कसलाई गर्नु? पछि आफैँ परिवर्तन भएँ।
मलाई थुनेको केन्द्रीय कारागारको नाइकेले जेलभित्रै बसेर दुई वटा घर काठमाडौँ बनाएछ। अर्को छोरो पनि जन्माएछ उसले! ‘बुढो जेलमा हुँदा कसरी छोरो जन्मियो?’ कुरा काटेछन् श्रीमतीको! नाइकेलाई जेलबाट दिउँसो दिउँसो घर जान छुट हुन्छ भन्ने कुरा छिमेकीहरूले पत्तै पाएनछन्।
१० वर्षको जेल जीवन सकियो। पत्र दियो त्यही नाइकेले मलाई। जेलमा मसँग मिल्ने एउटा तामाङ भाइ अलि निराश भयो मेरो पत्र देखेर। उसले भन्यो- दाइ एउटा निवेदन लेख्नु बरु!
‘के निवेदन भाइ?’ सोधेँ मैले।
भन्यो उसले, ‘मेरो घर छैन, विवाह गरेको छैन। म जेलमै बस्छु। बरु मलाई नाइकेको नियुक्ति दिनू।’
उसको कुरा सुनेर हाँसेँ म। त्यो त हो... मास्टरभन्दा नाइके हुनु फाइदा! गहन रूपमा लिएँ उसको कुरा। निवेदन लेख्न भने मनले पटक्कै मानेन। लेखिनँ।
मास्टर्स डिग्रीको एउटा उपाधि थपेँ जेलमै बसेर। त्यति मात्र होइन, व्यवहारिक जीवनमा धेरै कुरा सिकेँ। लोकतन्त्र बहालीपछि जेलबाट बाहिर निस्किएँ! राजनीतिक मुद्दा भनेर सरकारले पुनः शिक्षक जागिरमा पुनर्बहाली गर्यो। सेतै कपाल फुलेपछि पुरानै स्कुलमा मास्टर भएँ म! धेरै परिवर्तन भएछ।’
साथी ज्वालाका कुरा सुनेर अवाक् भएँ म! राज्यले जसलाई पनि कैदी बनाउँदो रहेछ! उसका कुरा सुन्दा तुरुक्क आँसु झरे। रुमाल झिकेर पुछेँ! यस्तो पनि हुन्छ! नयाँ अनुभूति र नयाँ कुरा थाहा पाएँ उसबाट आज।
झन्डै दुई घण्टाको बसाइपछि फेरि भेट्ने गरी दुवै छुट्यौँ। उसको कुरा सुन्दा जेल सुधार गृह र सजाय दिने ठाउँ मात्र होइन रहेछ, कमाउने कार्यस्थल पनि रहेछ! जेलको अर्को पाटो पनि रहेछ। भ्रष्टाचार र बेइमानी समाजको कण कण घुसेको देख्दा अचम्म र अनौठो लाग्यो मलाई।