विद्यालयको वार्षिकोत्सवमा आयोजना गरिएको वादविवाद प्रतियोगितामा सुखीरामले धन ठुलो भन्ने पक्षमा र खुसीरामले विद्या ठुलो भन्ने पक्षमा आफ्ना आफ्ना विचारहरू प्रस्तुत गरेका थिए।
सुखीरामले आफ्नो बिचार प्रस्तुत गर्ने क्रममा संसारका वैभवका उदाहरणहरू, ठुला-ठुला अर्बपतिका सफलताका कथाहरू, सुविधा सम्पन्न भौतिक संरचनाहरू, आलिसान र मोजमस्तीको जिन्दगी बिताउन धनको अपरिहार्यताको जिकिर गर्दै आफ्नो बिचार टुङ्ग्याएको थियो।
खुसीरामले सम्बोधनपूर्व नै संस्कृतको श्लोक `रुपयौवनसम्पन्ना विशालकुलसम्भवा विद्याहिनाना स्वभन्ते निर्गन्धा इव किम्शुका´ अर्थात् रूपले जतिसुकै सम्पन्न भए पनि, विशाल कुलमा जन्मे पनि विद्या नभएको मानिस पलासको फूल जस्तै हुन्छ (पलासको फूल सुन्दर भए पनि वासना हुँदैन) भनेर आफ्नो बिचार प्रस्तुत गर्दै विद्याका कारण सम्भव भएका सभ्यताहरू, वैचारिक आधुनिकीकरण, संसारका बौद्धिकहरूका सफलताका कथाहरू, विद्याका कारण सम्भव भएका मानवीय जीवन सहज बनाउने आविष्कारहरू, ठुला-ठुला लेखकहरूका कृतिहरू र तिनले विश्वमा पारेका सकारात्मक प्रभावहरू उल्लेख गर्दै आफ्नो बिचार टुङ्ग्याएको थियो।
अन्तमा निर्णायक मण्डलले आफ्नो नतिजा सुनाए- धन ठुलो भन्ने पक्षमा बोल्ने सुखीराम पराजित भए, विद्या ठुलो भन्ने पक्षमा बोल्ने खुसीराम विजयी भए।
प्रवेशिका परीक्षा आयो, दुवैले प्रथम श्रेणिमा उत्तीर्ण गरे। दुवै काठमाडौँ आए। वादविवादमा संयोगले धन र विद्याको पक्षमा बोले पनि स्वभावैले सुखीरामको धनप्रतिको आशक्ति र खुसीरामको विद्याप्रतिको आशक्ति अर्को संयोग थियो।
सुखीरामले कलेज भर्ना गरेन! उसले राजधानीको एक प्रतिष्ठित होटेल रेस्टुरेन्ट तालिम गराउने इन्स्टिच्युटमा भर्ना गर्यो। खुसीरामले आफ्नो स्वभावअनुसार नै विद्याको ज्योति बाल्ने लक्ष्य राखेर शिक्षा क्याम्पस भर्ना गर्यो।
सुखीराम तालीममा अब्बल ठहरियो, पाँच तारे होटेलमा अन्तर्वार्ता दियो, छानियो। मेहनत गरेर काम गर्यो। बर्सेनि ‘इम्प्लोई अफ दि इयर’ को प्रमाणपत्र थाप्यो। उसको महत्त्वाकांक्षा चुलियो। युरोपका समुद्रहरूमा कुद्ने पानीजहाजमा हुने तारे होटेलमा अन्तर्वार्ता दियो, छानियो। त्यहाँ पनि आफ्नो कार्यकुशलताले अब्बल भयो, म्यानेजरमा पदोन्नति भयो। त्यतै तिरका युरोपियन युवती बिहे गर्यो। बालबच्चाहरू भए। उतैका आधुनिक स्कुलमा पढायो। फ्ल्याट किन्यो, गाडी किन्यो, स्थायी बसोबासको लागि आवासीय पत्र प्राप्त गर्यो। गैर आवासीय नेपालीको रूपमा परिचय बनायो।
उता खुसीराम मेहनत गरेर पढ्यो। पहिलो दोस्रो दुवै सेमेस्टर कलेज टप गर्यो। स्नातक परीक्षामा राष्ट्रिय रूपमा टप दसमा पर्यो। शिक्षा सेवा आयोगले लिने शिक्षक लाइसेन्स प्राप्त गर्यो। शिक्षक सेवाको लागि आयोग लड्यो, उत्कृष्ट नतिजासहित नाम निकाल्यो। दूरदराजका दुर्गम गाउँहरूमा शिक्षाको ज्योति बाल्ने अपेक्षा राख्यो। दरबन्दी उतै पार्यो।
कुनै पनि देशलाई सिद्ध्याउनु छ भने उक्त देशको शिक्षा प्रणाली ध्वस्त पार्नुपर्छ भन्ने कुनै तानासाहको अभिव्यक्ति मनन गर्यो र शिक्षाको अपरिहार्यता महसुस गर्यो। विद्यार्थी, अभिभावक सबैको आँखाको नानी थियो। खुसीराम सर समग्र समाज र देशकै आशाको केन्द्र र भरोसाको बिम्ब थिए। नैतिकता, अनुशासन, सदाचार र आदर्शका पर्यायवाची नै बनेका थिए।
एउटी निम्नमध्यम वर्गीय घरानाकी युवतीसँग विवाह सम्बन्धमा बाँधियो। बालबच्चाहरू भए, उतै आफैले पढाउने स्कुलमा भर्ना गरे। त्यही गाउँमा डेरा लिएर सपरिवार बस्न थाले।
दिनहरू बित्दै गए। सुखीरामको जिन्दगी सुविधाजनक, वैभव र आधुनिकताको प्रविधिमैत्री वातावरणमा सुखसँग बित्दै गयो। खुसीरामको जिन्दगी आर्थिक कारणले केही कष्टकर भए पनि आफ्नो नैतिकता र सामाजिक पुँजी, विद्यार्थी र अभिभावकको अतुलनीय प्रेम अनि समग्र समाज र देशकै आशाको पुञ्ज बन्न पाएकोमा खुसीले बित्दै गयो।
यता सुखीरामको जिन्दगी आफ्नै विलासी र वैभवको लयमा बित्दै गयो। उता खुसीरामलाई शिक्षकको तलबले बालबच्चा पढाउन र दैनिकी धान्न धौधौ हुन थाल्यो। श्रीमती बेलाबेला तल्लो पेट दुख्यो भनेर छटपटाइ रहन्थिन्।
सहर बजारमा अङ्ग्रेजी माध्यममा पढेर छुट्टीमा आएका गाउँका बालबच्चाहरूको तडकभडक देख्दा खुसीरामकी श्रीमतीलाई पनि आफ्ना बालबच्चा सहर लगेर पढाउने तृष्णा जाग्यो। श्रीमानलाई कर गर्न थालिन र अन्ततः जितिन।
खुसीरामकी श्रीमती बालबच्चा सहित डेरा खोजेर काठमाडौँ बस्न थाले। खुसीराम एक्लै दुर्गमको डेरामा बसे। वृद्ध बाउआमा आफ्नै जन्मभूमिमा थिए, एउटा परिवार तीन चुल्होमा बाँडियो। तीनै वटा चुल्होमा बल्ने इन्धन र पाक्ने सामग्रीको जोहो खुसीरामले नै गर्नु पर्थ्यो।
आर्थिक रूपले धान्नै नसक्ने र जर्जर हुँदै गयो खुसीराम! कता कता भोको पेटले राष्ट्रिय गान गाउन सकिँदैन भन्ने निष्कर्षमा खुसीराम पुग्यो र आफ्नो विद्यालयकालीन बालसखा सुखीरामलाई सम्झियो।
सुखीरामले कागजात मिलाइदियो, जागिर लगाइदिने वचन दियो। अन्ततः भारी मन लिएर सुखीरामले ठुलो हवाईजहाज चढेर बिदेसियो।
एयरपोर्टमा लिन सुखीराम आयो। आफ्नै फ्ल्याटमा राख्यो। भोलिपल्ट दिनभरि युरोपको बजार घुमायो अनि बेलुका राम्रो रेस्टुरेन्टमा डिनर खुवाउने भनेर लिएर गयो।
दुवैले अलिअलि मदिरा पिए। प्रसङ्गवश सुखीरामले पुरानो कुरो कोट्यायो।
‘स्कुलमा धन ठुलो कि विद्या ठुलो भन्ने वादविवाद प्रतियोगितामा तैँले मलाइ हराएको है’ भन्दै अलिअलि अहंकारयुक्त अट्टहास हाँस्यो।
खुसीराम झसङ्ग भयो। आकाशले थिचे जस्तो लाग्यो उसलाई। वादविवाद प्रतियोगितामा प्रथम भए बापत दलिएको अबिर सम्झेर तेजाबले पोले जस्तो गर्यो। जिते बापत प्राप्त खादामाला सम्झेर गर्धन कस्सिएको अनुभव गर्यो।
मस्तिष्कको भित्री नेपथ्यमा वादविवादको शीर्षक धन ठुलो कि विद्या ठुलो गुन्जिरह्यो, चिमोटिरह्यो।