यो पहाड कहिल्यै नग्न हुन जान्दैन। एक मौसम हिउँको तन्ना ओढेर सेतै ढाकिन्छ, अर्को मौसम हरियो पातहरूले हरियै पोतिन्छ। बाँकी सिजनहरू विभिन्न प्रजातिको कोरियन फूलहरूले रङ्गिन्छ।
यसलाई छोरोक पहाड भनेर नाम दिइएको छ। यसकै नामबाट एउटा गल्ली पनि छ छोरोक रोड भनेर। हो, त्यही रोडै रोड भएर आउँदा भेटिन्छौँ हामी केही नेपाली ठिटाहरू जो केही सालदेखि यो पहाडको आँगनमा रमाइरहेका छौँ। कर्म गरिरहेका छौँ। हो हामी जरुर भेटिन्छौँ तर भेटिन्नन् मोहन दाइ अब कहिल्यै पनि।
अङ्ग्रेजी नयाँ वर्षको मुखैमा हाम्रो कम्पनीको कान्छो सदस्यको रूपमा मोहन दाइ कोरिया आइपुगेका थिए। हामी नयाँ वर्षको छुट्टीमा सानोतिनो रमाइलो गर्ने तरखरमा थियौँ। त्यसैमा मिसियो मोहन दाइले नेपालबाट ल्याएको कोसेली, खुकुरी रम। हामीहरू खुकुरी रममा रमायौँ, मोहन दाइले सोजु (कोरियन रक्सी) चाख्ने इच्छा राख्नुभयो। त्यसरी सुरु भयो हामीहरूको चिनापर्ची, सहकार्य र कोरिया कर्म।
कोरियाली सहकर्मीहरूले मरिकाट्टे मोहन भन्न जानेनन्। शब्दै उच्चारण गर्न सकेनन्। त्यसैले माहुन भनेर बोलाउन थाले। त्यसपछि दाइको नाम माहुन नै हुनपुग्यो। माहुनको अर्थ कोरियन भाषामा चालीस हुन्छ।
मोहन दाइ अक्सर भन्ने गर्थे- ‘ठिकै भने त यी सेता मान्छेहरूले! उमेरले चालीस पुग्नै लागिसकेँ! माहुन नै त हो म। भाइहरूजस्तै उमेरमै कोरिया आउन सकिनँ।’
रोजगारीको लागि ढिलो विदेश आएको गुनासो गर्थे मोहन दाइ। कोरियनहरूलाई ‘सेता मान्छे‘ भनेर इङ्गित गर्थे। साह्रै असल, इमान्दार, मेहेनती र फरासिलो स्वभावका मान्छे थिए।
नयाँ सालको पहिलो महिनामा मैले उनलाई एउटा सुन्दर भित्तेपात्रो दिएको थिएँ। त्यसलाई उनले आफ्नो दराजमा झुन्ड्याएका थिए। जसो-जसो महिना सकिन्थ्यो उक्त पाना च्यातेर फ्याँक्दै मुसुक्क हाँस्दै भन्थे- ‘भाइ! साह्रै आनन्द लाग्छ हौ महिना कट्दा त। यो एउटा सिङ्गै क्यालेन्डर च्यातिसकेर अर्को साल ठ्याक्कै यहीबेला छुट्टी जाने हुँ।‘
भित्तेपात्रो क्रमशः पातलिँदै जाँदै थियो। मोहन दाइको नेपाल जाने प्रतीक्षाको दिन पनि नजिकिँदै थियो। पात्रोमा तीन पाना मात्रै के बाँकी थियो, नियती क्रूर र निष्ठुर भैदियो।
मोहन दाइको नाइट सिफ्ट चलिरहेको थियो। मेरो चाहिँ डे सिफ्ट। अलग-अलग कोठा अलग-अलग समय तालिका भएकोले मज्जाले नभेटेको दुई हप्ता जति भएको थियो।
एक रात अचानक खैलाबैला मच्चियो। आधा निन्द्रामा ‘साराम् छुगस्स! साराम् छुगस्स! (मान्छे मर्यो! मान्छे मर्यो!)’ भनेको आवाज आयो। आधा होस सम्हालेर म पनि हल्ला भएको तिर चप्पल लगाएर दौडिएँ। आवाज हाम्रै कम्पनीको कार्यशालाबाट आएको थियो।
हाम्रो कोठाबाट एक आँगनपारि नजिकै हाम्रो कार्यशाला छ। म आँगनको अन्तमा मात्र के पुगेको थिएँ स्याङ्तेन भाइ चिच्याए- ‘ दाजु... मोहन दाजुलाई करेन्ट लाग्यो... मोहन दाजु ढल्नुभो...’
स्याङ्तेन भाइले के-के बर्बराए राम्रो बुझिनँ। म जब भित्र पुगेँ, सबै कामदारहरूले उनको ढलेको शरीरलाई घेरेर राखेका थिए। मैले देखेँ केही प्रहरीहरू, केही स्वास्थ्यकर्मीहरू अनि एम्बुलेन्स। मैले मोहन दाजुको कक्रिएको शरीर हेर्न सकिनँ।
मानिसहरूले उनलाई एम्बुलेन्स चढाएर अस्पताल कुदाए। मलाई चिसो पस्यो। फुस्लाएँ- ‘अहँ! प्राण छैन।’
नभन्दै कम्पनी कमान्डरले एक घण्टापछि सूचना ल्यायो- ‘माहुन अब हामीमाझ रहेनन्।‘
सकस त तब सुरु भो जब घरमा खबर दिनुपर्ने मैले थियो। कुन शब्दले सुनाउन सकुँला दुलही भएको एक वर्ष मात्रै पुगेकी भाउजूलाई। हाम्रो निम्ति मोहन दाइ थिए। कोरियनहरूको निम्ति माहुन थिए तर भाउजूको निम्ति भर्खरै भेटिएको एक नयाँ ब्रह्माण्ड जो थिए जहाँ भाउजूले नयाँ संसार बसाउने भरपूर सपना हुर्काएकी थिइन्।
भएभरको साहस बटुलेर मैले खबर गरिदिएँ। त्यसपछि लुटिएको ब्रह्माण्डको निमित्त एक नवप्रेमिकाले गरेको बिलौना कुन हदसम्मको हृदयभेदक होला म व्यक्त गर्न असमर्थ छु।
तीन महिनाछि फेरि साल फेरियो। नयाँ क्यालेन्डरहरू छापिए। मोहन दाइले पल्टाउन नसकेका अथवा भनौं कर्मले पल्टाउन नदिएको त्यो तीनपत्रे क्यालेन्डर कोठामा यसै झुन्डिनै रहेको थियो।
सोचेँ- नयाँ पात्रो सरसर्ती पल्टाएर सालभरिको दिन हेर्नु कति सजिलो छ। तर असलमा त्यो पात्रोको एक-एक पानामा हामीले जीउने आयु छ कि छैन यसै भन्न नसकिने रहेछ। त्यो क्यालेन्डरको कुन पानासम्म जिन्दगी छ खै कसले भनिदिने?