दुर्घटनाले होस् वा कुनै रोगले यदि मानव शरीरको महत्वपूर्ण अङ्गहरु जस्तै ब्रेन, मुटु, फोक्सो, कलेजो, मृगौला अनि त्यस्तै अन्य कोष, तन्तु, अंग प्रणालीको असन्तुलन लगायत श्वास प्रणालीले काम गर्न छोड्छ अनि मान्छेको मृत्यु हुने गर्छ।
मृत्युपछि मान्छे के हुन्छ भन्ने प्रश्न पनि आउन सक्छ । धर्म र शास्त्रले आफ्नो कर्म अनुसार मान्छे कि नर्क कि स्वर्ग जान्छ भन्छ । तर शास्त्रमा उल्लेख गरीएको जस्तो वास्तवमा त्यो स्वर्ग र नर्क देखेर आउने र आफ्नो अनुभव सुनाउने कोही छैनन्। अनि, विज्ञानले मान्छे मरेपछि यही ब्रमाण्डमा शक्तिपुञ्ज भएर बस्छ भन्छ। त्यो शक्ति पुञ्जको आकार कति छ, कहाँनेर गएर बस्छ, कसरी फैलिएको छ भनेर ठोस प्रमाण पनि दिन सकेको छैन।
इतिहास साक्षी छ, अहिलेसम्म कोही पनि मरेपछि फर्केर आएको छैन । कसैले पनि मृत्युपछि फेरि फर्केर आएर मृत्युको अनुभव सुनाएको छैन । मृत्युको अनुभव के कस्तो हुन्छ भनेर अनुमानमा मात्रै आजसम्म सिमित छ । न कुनै दर्शन, न कुनै शास्त्र त न कुनै विज्ञानले मृत्युको त्यो शुन्यतालाई अनुभव गरेको छ । त्यहीँ कारणले पनि अनुभव र अनुभूति भन्दा टाढा हुन्छ मृत्यु ।
कति जनाले ‘मर्ने शरीर हो, आत्मा त हाम्रै वरीपरी घुमिरहन्छ, आत्मा कहिल्यै मर्दैन’ भन्छन् । तर त्यो आत्मा कुन रुपमा वरीपरी घुमिरहेको छ कसैले पनि भन्न सकिरहेको छैन । जे जति भनिएको छ यी सबै अनुमानले भनेको हो अनुभवले होइन । मृत्युपछि हामी कहाँ जान्छौ भन्ने कुरा अझै रिसर्च फेजमा नै छ । विभिन्न आँकलन गरे पनि अहिलेसम्म कुनै ठोष प्रमाण भने छैन । यसको खोज अननत कालसम्म भइरहनेछ ।
सुघ्ने नाक, खाने बोल्ने मुख, स्वाद लिने जिब्रो, सुन्ने कान, सोच्ने दिमाग, महसुस गर्ने मुटु, स्वास फेर्ने स्वासनली तथा तमाम शरीरका गतीशील अंगहरुको नै मृत्यु भएपछि रहने त हाम्रो कर्म हो । आत्मा जीवित रहन्छ भन्ने कुरामा भन्दा पनि म कर्म जिवित रहन्छ भन्ने पक्षमा छु ।
शरीर, आत्मा र कर्मको त्रीकोणत्मक सम्बन्ध छ जस्तो लाग्छ मलाई । आत्माले शरीरलाई चलाउँछ, शरीर र आत्मा भएर कर्म गराउँछ अनि त्यति कर्मले आत्मा र शरीर दुवैलाई कालकालन्तरसम्म जीवीत राख्छ । त्यसैले पनि मानिस ठूलो कर्मले हुन्छ । हाम्रो कर्म कालभन्दा पनि माथि हुन्छ। काल भन्दा पनि शक्तिशाली हुन्छ । कालले झुक्काएर शरीरदेखि आत्मा छुटाउन सक्छ तर कर्म कहिल्यै नष्ट गर्न सक्दैन ।
आर्यघाटमा शरीर जलिरहँदा त्यो शरीर र आत्माले गरेको कर्म हरेकको मन मष्तिष्कमा जीवति रहन्छ । त्यसैले पनि आफू अमर रहनु छ भने, मृत्युलाई पनि जीत्नु छ भने कर्म राम्रो गर्नुपर्छ । कहिलेकाँहि कर्म नराम्रो भइदिदाँ शताब्दीसँग पनि गन्याएर इतिहासमा बस्नुपर्ने देखिन्छ ।
हामी मानिसहरु जन्मको कुरा गर्न रमाउँछन् तर मृत्युको बारेमा सोच्न डराउँछौ । मृत्युः शब्दले नै भयावह कम्पन दिनेहुँदा यसको बारेमा हामी खुलेर कुरा गर्न सक्दैनौ । मृत्युको कुरा गर्दा मन आत्तिन्छ । तन भयभीत हुन्छ । मृत्यु देख्नै नपरोस्, भोग्नै नपरोस् भन्ने चाहना राख्छौ । तर मृत्यु भनेको अन्तिम सत्य हो । नचाहँदा नचाहँदै पनि स्वीकार्नुपर्ने धुव्र सत्य हो । मृत्युसँग कुनै सहमति हुँदैन । मृत्युले आफ्नो कर्म गर्ने हो र हामीले हाम्रो कर्म । त्यो कर्मले यो कर्म लादैन ।
यदि कर्म पनि मर्ने भए आजसम्म भगवान बुद्ध र हिटलरको चर्चा हुँदैन थियो होला । कर्मको मामिलामा मृत्यु समझदार छ तर शरीरमा कुनै तर्कविर्तक छैन । यतिखेर मृत्यु एक्लो हुन्छ । मृत्यु एकोहोरो हुन्छ । मृत्यु सिधा बाटो हिँड्छ । मृत्यु एकसुरमा हिड्छ । कविशिरोमणि लेखनाथ पौड्यालले काल महिमामा भनेजस्तै ‘मृत्यु भाका, भूल, दया, क्षमा र ममता सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ति गरुन झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो । थुप्रोमा उधिनी मिठो र नमिठो छुट्टयाइ छान्दैन त्यो, खाता जाँचि सबै दुरुस्त नबुझि बिर्सेर हान्दैन त्यो ।’
स्वयंम् भगवान बुद्ध, परमज्ञानी कविर, भगवानका अवतार मानिएका श्रीकृष्ण र श्रीराम लगायत अन्य परम महात्माहरुले पनि मृत्युसँग कुनै सहमति गर्न सकेका थिएनन् । न कुनै वार्ता, न कुनै संवाद नै भयो । आफ्नो जीवनकालभरी मृत्युको बारेमा ज्ञान दिदैँ, मृत्युको गुणगान गाइरहँदा पनि मृत्यु उनीहरुको वशमा रहेनन् । मृत्युले न त उनीहरुमाथि कुनै दया देखायो न त परममित्र बनेर अमरत्व नै प्रदान गर्यो। गर्यो त वश आफ्नो कर्म । गर्यो त वश समयमानै महाप्रस्थान गर्ने निश्चितता । तर रह्यो त वश उनीहरुको कर्म । छुन सकेन त वश उनीहरुको कर्म । लान सकेन त वश उनीहरुको कर्म । मृत्युभन्दा पनि माथि रहेर गरिएको कर्म युगलाई नै आर्शिर्वाद रह्यो । त्यो कर्मले युग परिवर्तन गर्ने सामथ्र्य बोकेर स्वयंम् मृत्युलाई नै पराजित गर्यो । त्यस्ता संसारमा धेरै उदाहरणहरु छन् मृत्यु कर्मसँग परास्त भएको । चाहे त्यो कर्म राम्रो होस् वा नराम्रो । मृत्यु दुवै कर्मसँग हार्छ । मृत्युले दुवै कर्ममाथि पनि भेदभाव गर्दैन ।
जसरी सूर्यले हरेक जीवजन्तुलाई समान रुपमा प्रकाश दिएर जीवन दिन्छ त्यसरी नै मृत्युले पनि सबैलाई समान व्यवहार गरेर एउटै चिता र चिहानमा सुताउँछ । कर्म कस्तो गरेर सधै आफ्नो आत्मा र शरीरलाई इतिहासमा जीवीत राखिरहने भन्ने कुरा हामीमा निर्धारण गर्छ । राम आफैमा राम्रो नाम होइन त्यो उनको कर्मले राम्रो बनाएको हो अनि रावण आफैंमा नराम्रो नाम होइन तर उनको कर्मले नामलाई नै दुषित पारिदियो। आजसम्म राम, कृष्णा धेरैको नाम रहेको छ तर रावण र कंश नाम राख्न मान्छे डराउँछ । मृत्युसँग डराएको झैँ ।
अनि मृत्युसँग सहमति नभएजस्तै सम्झौता पनि गर्न मिल्दैन । नत्र कति धनाढ्यले आफ्नो पैसासँग, कति विद्वानहरुले आफ्नो विद्यासँग, कति नेताहरुले आफ्नो शक्तिसँग, कति कुमारीहरुले आफ्नो अस्मितासँग त कति गरीवहरुले आफ्नो दुःख प्रस्पुटन गरेर मृत्युसँग सम्झौता गर्र्थे होला । तर मृत्युको लागि न कोही धनी, न कोही गरीब, न कोही विद्वान न कोही नेता । सबैलाई समान व्यवहार ।
यो समान व्यवहार गर्ने मृत्यु हामीलाई लिन जतिखेर जहाँ पनि आउँन सक्छ भनेर थाहा पाउँदा पाउँदै पनि हामीले धेरै धमण्ड, अहंमता, छलकपट, घृणा, कपटीपन, द्वोष , ईर्श्या, व्यविचार पालेर बसेका छौ । आर्यघाटको चित्तामा कयौँ लाशहरु नाङ्गै जलेर खरानी हुँदा अनि मलामीको ताँती देख्दा आखिर जाने त नाङ्गै रहेछ अनि जल्ने त शरीर रहेछ तर रहने त सधै कर्म रहेछ भनेर आफूलाई परिवर्तन गर्न पनि जरुरी ठान्दैनौ । एकछिन जरुरी ठानेपनि बीस दिनमा विर्सन्छौ हामी यी सारा कुरा अनि सुरु गछौ कुकर्म । राम्रोकुरा सम्झने भन्दा पनि विर्सिहाल्ने बानी नै मानवचोलाको यो सबैभन्दा दुर्भाग्य हो ।
कोरोनाको महामारीमा हामीले हरेकको मृत्युलाई प्रत्यक्ष रुपमा देखेका छौ, भोगेका छौ र निहालेका छौ । यो महामारीले कसैलाई पनि छोडेको छैन । न रुप, न रंग, न धनी, न गरीब, न होचो, न अग्लो, न कालो, न सेतो, न ज्ञानी, न अज्ञानी, न चोर, न महात्मा, न युवा, न वृद्ध सबैलाई मृत्युले समान भावले लगेको छ । यो शरीर र एक तान्दो श्वास जतिखेर पनि महाप्रस्थान गर्न तयारीमा छ तर महाप्रस्थान नगर्ने भनेको हाम्रो कर्म हो ।
त्यसैले यो छोटो जीवनमा सकेसम्म राम्रो र असल कर्म गर्न प्रयत्न गरौँ । यस्तो कर्म र मरण होस् कि जसको ध्वनी युगयुगान्तरसम्म गुन्जिरहोस् ।
यतिखेर स्वर्गीय राष्ट्रकवि माधव घिमिरेज्यूले लेख्नुभएको गीत याद आयो
त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।।
***
सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
विहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण ।।
***
मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो रासमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण ।।
***
अमरापुरी सभामा आफैंलाई गरूँ वरण
त्यसरी होओस् मरण ।।