काठमाडौँको एउटा व्यस्त कलेज। पहिलो दिन नयाँ-नयाँ अनुहारहरू, अनजान आँखाहरू, कतै डर, कतै उत्साह।
अनुषा गुलाबी कुर्ता र कालो सुरुवालमा सजिएकी थिइन्। आँखामा हल्का गाजल, अनुहार शान्त तर आत्मविश्वासी लाज संकोच सम्हाल्दै कलेजको गेट छिर्दै गर्दा एक जना केटासँग आँखा ठोक्किन्छ- सेतो सर्ट, कालो जिन्स पाइन्ट, पिठ्युँमा झोला, गहिरा आँखा र त्यो हाँसो जसले कुनै दिनलाई उज्यालो बनाइदिन्थ्यो, हेमन्त।
‘पहिलो दिन?’ हेमन्तले हल्का हाँस्दै सोध्यो।
अनुषा अचम्ममा परिन्! यति सहजता? यस्तो हिम्मतिलो स्वर?
‘उम् हो नि... तपाईंको पनि आज पहिलो दिन हो? अनुषाले सोधिन्।
‘हो नि, तर लाग्दै छ अब हामी धेरै दिन सँगै बिताउनेछौँ,’ हेमन्तले आँखामा चमकसहित भन्यो।
अनुषा झस्किइन्। अनौपचारिक कुरा मन पराउँदिन थिइन् तर हेमन्तको हाँसोमा यस्तो केही थियो जसले उसको मुटु शान्त गरायो।
त्यस दिनको कक्षाले खासै महत्त्व पाएको थिएन, सबैको ध्यान आफ्ना वरिपरिका नयाँ अनुहारतर्फ मोडिएको थियो। हेमन्त र अनुषासँगै एउटै समूहमा परे। पहिलो दिनकै चिया ब्रेकमा उनीहरू सँगै थिए।
‘कफी मन पर्छ?’ हेमन्तले सोध्यो।
‘एकदमै,’ अनुषाले संक्षिप्त उत्तर दिइन्।
‘अनि? किताबभन्दा कविता?’ उसले हाँस्दै थप्यो।
‘कविता मन पर्छ, तर वास्तविकता अझ मन पर्छ,’ अनुषाको जवाफ छोटो तर गहिरो थियो।
त्यसपछि दिनहरू बित्दै गए; साथीहरूका हाँसोबिच, प्रोजेक्टको रातभरको तयारीबिच अनि क्याफेमा चियाका गफबिच। उनीहरूबिचको सम्बन्ध अलिकति गहिरिँदै गयो। कसैले औपचारिक ‘आई लभ यू’ भनेन तर नजरले सबथोक बताउँथ्यो।
अनि एक दिन हिउँदे साँझको छायामा हेमन्तले भने, ‘अनुषा, तिमी मेरो कविता हौ, शब्दभन्दा गहिरो।
अनुषा मौन रहिन् तर गालामा पर्ने डिम्पलले उसको जवाफ दिइसकेको थियो।
समयले साथ दिइरहेको थियो, हेमन्त र अनुषाको सम्बन्ध कलेजभरि चर्चित थियो। साथीसंगीले ‘एच+ए कपल’ भन्दै जिस्क्याउँथे अनि उनीहरू मुस्कुराउँथे। त्यो हाँसोमा स्वीकृति थियो, आत्मीयता थियो।
तर सम्बन्धको सबैभन्दा कमजोर पाटो हो अप्रकट कुरा, जुन बोलेर होइन, चुप लागेर बिग्रन्छ। एक दिन कलेजको क्यान्टिनमा अनुषा परीक्षाको तयारी गर्दै थिइन्। हेमन्त ढिलो आए अनि आएपछि सँगै ल्याए एक सहपाठी कमला।
‘अनुषा, कमला मेरी स्कुल मेट हुन्,’ हेमन्तले अनौपचारिक स्वरमा भन्यो।
कमला निकै खुली स्वभावकी थिइन्। कुरा गर्न रुचाउने, हाँसोमा ढुक्क हुने। अनुषाले हल्का मुस्कान दिइन् तर भित्र कतै चिसो लागेको थियो।
ती दिनपछि हेमन्त र कमलाको केही प्रोजेक्ट एकै साथ पर्यो। अनुषाले धेरै पटक देखिन् उनीहरू हाँस्दै कुरा गरिरहेका, केही दिन त मन सम्हालिन्, आफैँसँग भन्थिन्, ‘उसले कमला साथी मात्र हो भनेको हो।’
तर मनको भित्र गहिरो खाल्डो बन्न थालिसकेको थियो।
एक साँझ, हेमन्तले म्यासेज गर्यो— ‘आज कमला र म लाइब्रेरीमा अलि ढिलोसम्म प्रोजेक्टको काम गरिरहेका छौँ।’
त्यो लाइनले अनुषाको मनमा शंकाको बीउ रोपिदियो।
‘त्यो कमला त तिमीभन्दा नजिक हुन खोज्दै छ जस्तो लाग्छ,’ उसले अर्को दिन चिया खाने बेला भनिन्।
‘के तिमी मलाई विश्वास गर्दैनौ?’ हेमन्त झस्किए।
‘विश्वास त थियो, तर अब... केही कुरा लुकाइरह्यौ जस्तो लाग्छ।’
‘म तिमीलाई कहिल्यै धोका दिने मान्छे होइन अनुषा!’ हेमन्तको स्वर उक्लिएको थियो।
‘शब्दमा होइन, व्यवहारमा देखिन्छ सबथोक,’ अनुषाको स्वर कठोर भयो।
त्यो रात, दुवै सुत्न सकेनन्। आत्मसम्मान बिचमा आइपुग्यो। माफी माग्न सक्थे तर कसैले पहल गरेन दिनहरू मौनतामा गुम्न थाले।
कुनै बिदाइको दिन थिएन न त अन्तिम संवाद बस, हरेक दिन एकअर्काबाट टाढा हुँदै गए।
एक अधुरो प्रेम, जुन तिक्तताले ढाकिएको थियो।
तीन वर्ष न कुनै सन्देश, न खबर। समयले पुराना पाना च्यात्दै गयो, तर केही यादहरू मनको कुनामा चुकचुकाइरहे।
अनुषा अब एक सशक्त युवती बनेकी थिइन्; कामकाजी, आत्मनिर्भर तर कहिलेकाहीँ साँझमा चिया समाउँदै ढल्कँदो घाम हेर्दै, मन अघिल्लो मोड फर्किन्थ्यो जहाँ हेमन्त थियो।
हेमन्त पनि बदलिएको थियो। अब ऊ काठमाडौँको एउटा कम्पनीमा काम गर्थ्यो, हाँसोमा अझै उही डिम्पल थियो तर आँखामा थकाइ मिसिएको थियो। धेरै कुरा पाएको थियो उसले तर जे गुमेको थियो, त्यो अझैभित्र गहिरो चोट बनेर बसेको थियो।
त्यो दिन नियतिले खेल खेलेको जस्तो लाग्यो।
एक दिन अनुषा काम विशेषले पोखरा जान टिकट काट्न बसपार्क पुगिन्। टिकट काट्दै गर्दा अनुषाको नजर केही पर गयो। उही उचाइ, उही ढंग, उही आँखा— हेमन्त।
मनले एकछिन धड्कन बिर्सियो। ‘हो कि होइन?’ उसले आफैँलाई सोधी।
त्यही बेला हेमन्तको नजर पनि उसैमा ठोक्कियो। तीन वर्षपछि, नजर फेरि भेटिएका थिए। तर त्यो मात्र संयोग थिएन, हेमन्त पनि काम विशेषले गर्दा पोखरा जान लागेका थिए। जब दुवै बस चढ्न लागे, टिकट हेर्दा अचम्म परे; एउटै सिट, दायाँ–बायाँ।
बसको झ्यालपट्टि अनुषा बसिन्। चिटिक्क सारी लगाएकी थिइन्, आँखामा हल्का गाजल, गालामा डिम्पलसहित हल्का हाँसो, त्यो मुस्कानले हेमन्तको मुटु फेरि पुरानै गतिमा धड्किन थाल्यो।
हेमन्त छेउमा बस्यो, उसले हल्का स्वरमा भन्यो’ कस्तो संयोग, है?’
अनुषाले घामले झुल्किएको अनुहार मोड्दै भनिन्— ‘संयोग मात्र कि नियति, बुझ्न सकिनँ।’
एकछिन मौनता छायो। बसले गति लिँदै थियो तर उनीहरूको मन चाहिँ अघिल्लो पानामा अड्किएको थियो।
‘ती दिन सम्झन्छ्यौ?’ हेमन्तको स्वर नरम भयो।
‘बिर्सन खोजेकी थिएँ तर तिमीझैँ डिम्पल परेको अनुहार कतै देख्दा फेरि सम्झन्छु,’ अनुषाले नजर झ्याल बाहिर फर्काइन्।
‘तिमी बोल्थ्यौ भने म सुन्थेँ, म बोल्थेँ भने तिमी टाढा हुन्थ्यौ। हामी बुझ्न नसकेका थियौँ एकअर्कालाई।’
‘शब्दहरू त थिए तर भावना दबिरहे, तिमी आफैँ एक दिन टाढा भइदियौ,’ अनुषाको स्वर थोरै भाँचिएको थियो।
हेमन्तले चुपचाप उसको हात समात्ने प्रयास गर्यो, अनुषाले झसङ्ग भई हात झिकिन्।
‘म तिमीलाई अझै पनि माया गर्छु,’ हेमन्तले नरम स्वरमा भन्यो, त्यो तीन वर्षको मौनता भत्काउँदै!
अनुषाको आँखामा नमी झुल्कियो। उसले फेरि झ्यालतर्फ फर्किई तर यो पटक आँखाभित्र आँसु लुकेको थियो, रिस होइन।
बसको मोडसँगै उनीहरू पनि फेरि मोडिँदै थिए; पुरानो गल्ती सम्झँदै, भविष्यको सम्भावना खोज्दै।
बस पहाडी सडकमा बिस्तारै अघि बढ्दै थियो। झ्यालबाहिर हरियाली थियो, भित्र— दुवैको मुटुमा उही पुरानो हलचल। कहिले हावा चल्थ्यो, झ्यालको पर्दा हल्कासँग उड्थ्यो अनि उनीहरूको मौनतालाई झन् भारी बनाउँथ्यो।
अनुषा केही बोल्न खोज्थिन् तर शब्द घाँटीमै अड्किन्थे। उसले ती दिन सम्झिई— जब उसले सानो शंका साँचेर ठुलो दूरी बनाइन्।
‘तिमी रिसाएको थियौ,’ हेमन्तले फेरि नरम स्वरमा भन्यो।
अनुषाले नजर फेरिन् ‘हो, रिसाएकी थिएँ... तर रिसभन्दा बढी चोट लागेको थियो। माया गर्ने मान्छे जब तिमीलाई बुझ्दैन, त्यो पीडा अरू जस्तो हुँदैन।’
‘म बुझ्न चाहन्थेँ तर तिमी मौन भयौ। अनि म पनि मौन भएँ। शब्दले होइन, अहंकारले बोल्न थालेपछि प्रेम सकिँदो रहेछ।’
हेमन्तको आँखामा थोरै नमी झल्कियो। उसले आफूलाई सम्हाल्दै भन्यो— ‘माफ गर मलाई अनुषा, मैले तिमीलाई गुमाउन चाहेको थिइनँ।’
अनुषाले गहिरो सास फेरिन्, मुटु अझै काँपिरहेको थियो- ‘सायद म पनि दोषी थिएँ। तिमीलाई समयमै बुझ्न सकेकी भएँ, तिमी टाढा जानु पर्दैनथ्यो।’
मौनता फेरि केही छिन टिक्यो।
त्यस मौनतामा सारा माफी थियो, सारा पछुतो र सारा प्रेम।
त्यो मौनता अब चिच्याएको जस्तो लागेन, बरु शान्त थियो, न्यानो थियो।
अनुषाले हल्का स्वरमा भनिन्— ‘हामी फेरि सुरु गर्न सक्छौँ?’
हेमन्तले गहिरो हाँसो दियो डिम्पलसहित, ‘हामी त कहिल्यै समाप्त भएका थिएनौँ।’
त्यो हाँसो, त्यो आँखाको चमक, त्यो पुनर्मिलन, सबै चीजहरूले तीन वर्षको दूरी एकैक्षणमा छोटो बनाइदियो।
पोखराको बसपार्क नजिक पुग्दासम्म उनीहरूको संवाद खुलिसकेको थियो। मुटुमा तीन वर्षअघिको खालीपन थियो तर अब त्यो ठाउँ फेरि भरिँदै थियो; शब्दले, नजरले र मौन सहमतिले।
त्यस साँझ उनीहरू फेवातालको किनारमा बसे। चुपचाप— कसैले केही नबोले पनि सारा कुरा भइसकेको थियो।
‘अनुषा,’ हेमन्तले हल्का स्वरमा भन्यो, ‘के थाहा थियो, तिमी फेरि मेरो जिन्दगीमा यत्तिकै चुपचाप आइपुग्ने छ्यौ भनेर?’
अनुषाले मुस्कुराउँदै भनिन्— ‘सायद म पनि यस्तै कुनै मोडको पर्खाइमा थिएँ।’
त्यो मुस्कान, त्यो गालामा पर्ने डिम्पल, फेवातालको पानीमा झल्किएको थियो !
हेमन्तले उसको हात समात्यो अब डरबिना, संकोचबिना। अनुषाले पनि हात झिकिनन्, बरु अझ मजबुतले समाइन्।
‘अब भने कुनै शंका, मौनता वा अहंकार बिचमा आउन दिने छैनौँ है?’ हेमन्तले भने।
अनुषाले उसको आँखामा हेरेर थोरै भिजेका स्वरमा भनिन्— ‘अब हामी बोल्नेछौँ, सुन्नेछौँ र अझ माया गर्नेछौँ।’
त्यो रात, उनीहरू धेरै हिँडे, हात समाएर। तीन वर्षको दूरी आज त्यो साँझको हरेक कदममा चुलिँदै थियो।
फूलझैँ ताजा सम्बन्ध, चिसो बतासझैँ मिठो स्पर्श र चन्द्रमाको उज्यालोमा प्रतिबिम्बित दुई चिह्नित छायाहरू सधैँ सँगै हिँड्न थाले, त्यसपछि भने दुई जना बिच कुनै पनि किसिमको मनमुटाब भएन। हाँसी खुली जीवन जिउन थाले।
‘प्रेम कहिल्यै अन्त्य हुँदैन— त्यो केवल मौन भएर साथ रहिरहन्छ।’