तिनीहरू एकाएक कथाका पात्र भइगए
अनाहकमा डुबेको घामको खोइरे रातो लेप जस्तै
बन्दुकको नालले जितेको सत्ता
र युद्धका लासहरूमाथि बनाइएका चिल्ला बाटाहरू जस्तै
एक दिनको जोहो गर्न हिँडेका फकिरहरू
र काँधैमा सारा भविष्य बोकेर कुप्रिएका दुधिला ओठहरू जस्तै!
हुन त यिनीहरू पनि तिनै कथाका पात्र भइजालान्
जसमा उनीहरूको केही हिस्सा छैन
जसरी उनीहरूको अस्तित्वमा नै उनीहरूको केही–कुनै हिस्सा थिएन
सोधिटोपल्ने केही थान प्रश्नहरू पनि होलान्
बोक्सीको आरोपमा गाउँबाट निकालिएकी एक अधबैँसे
र भविष्यको आसमा देशबाट निकालिएका कोमल पाउहरूमा के भिन्नता छ?
सिङ्गमर्मरका खुड्किलाहरूमा चिल्ला जुत्ता टल्काउने
ती प्रश्नहरूसँग
मन्दिर खोसिएका भक्तहरूका आशा
र, तकदिर खोसिएका टुहुराहरूको सपना पनि त छन् होला नि?
निहत्था, बन्दुक थाप्ने ग्वाँचे भेडाहरूको आहुति
र टाई–सुटको साख राख्न लबेदा–सुरुवाल लगाएर
सहर पोस्ने बलीहरूको त के कुरा।
तर कालान्तरमा, यी सबै कथाका पात्र भइजानेछन्!
मात्र केही गढेका भित्री वेदना भइजानेछन्–
जोगाउन खोजेका दृश्यहरू क्षितिज पार भइजाँदा
कान्लाबाट देखिने तुवाँलोले छेकिइदिँदाको बखतका लागि
ठिहिराउने शिशिरका मोडहरूमा अझ
यिनै सबै
बन्दुकको नालमा र दसौँ हजारका कालमा क्रान्ति देख्नेहरूका लागि
मात्र, काला मसीमा लेपिएका पात्रहरू भइजानेछन्
र ज्ञानी भइजानेछन्, युगौँ पछिका पाठकहरू!