एउटा उखान छ, खुट्टा भए जुत्ता कति, कति। म चाहिँ त्यसो भन्दिनँ। जुत्ता खुट्टाको साइज मिल्ने चाहिन्छ। खासमा नितेश र मबीच प्रेम थियो कि शारीरिक आकर्षक चाल पाइनँ।
बाबुआमाको कान्छो छोरो थियो ऊ। सहरमा घर थियो। होलसेल र खुद्रा जुत्ता पसल चलाउथ्यो। डिजाइन डिजाइनका जुत्ता किन्न युवायुवती उसको पसल पुग्थे। फूर्ति हेर्दा पसल राम्रै चलेको भान हुन्थ्यो। पल्सर बाइक २५० सिसीको हुइँक्याउँदै कलेज आउथ्यो। अरूभन्दा विशेष छु भन्ने देखाउँथ्यो।
भन्थ्यो ऊ 'दैनिक ५०/६० हजारको व्यापार हुन्छ।' १० प्रतिशत नाफा राख्दा दैनिक ६ हजार नाफा। सटर र तलब घटाउँदा पनि दैनिक ४ हजार बचत हुन्छ रे।
ऐनामा हेर्दा नराम्री चाहिँ थिइनँ म पनि। बाजेकै पालामा सहर आइबसेको खानदानी परिवार हो हाम्रो। पछि लाग्ने केटाहरू कम थिएनन्। तर उसको पछि लागेँ म। क्याम्पसको क्यान्टिनमा चिया र खाजाको पैसा उसैले तिर्थ्यो। व्यापारी भनेर धक्कु छोड्थ्यो कहिलेकाहीँ। विशेष मान्छेले तिर्नु पर्दैन भन्थ्यो। लौ त भनेर म पनि पछि सर्थें तिर्न।
क्याम्पस आउजाउ हुँदा थप नजिक हुँदै गयो। मप्रति माया र प्रेम दर्साउँथ्यो। साँच्चिकै हो-होइन भनेर अरू साथीसँग बुझ्न खोजेँ। एक हिसाबले परीक्षण गरे उसको। हो, ऊ मलाई नै मन पराउँदो रहेछ। २/३ वर्ष यसरी नै चल्यो। क्याम्पसमा बिहे कहिले? भोज कहिले? ठट्टा हान्नेहरू कम थिएनन्। हाँसेर टारिदिन्थेँ।
क्याम्पस छुट्टी भएपछि कहिलेकाहीँ पसल गएर सघाउँथे। घरमा पनि जान्थेँ म। उसका बाआमालाई मेरोबारे थाहा थियो। मेरो परिवार पनि त्यो कुरामा जानकार थियो। बेला बेलामा आमा बाले सम्झाउनु हुन्थ्यो।
'छोरी मान्छेको जिन्दगी सिसा जस्तै हुन्छ। फुटेपछि जोड्न मुस्किल' अलि विचार गरेस्। उत्ताउलो नहुनू।' खासै वास्ता गरिनँ त्यसबेला। महत्त्व नै दिइनँ त्यो कुरालाई।
कलेजमा रमाउँथ्यौं। घुम्न जान्थ्यौं। फोटो खिच्नु, टिकटक बनाउनु र पोष्ट गर्नु सामान्य थियो। वर्षहरू यसरी नै बिते। खै के भएको हो? पसलमा ध्यान दिन छोड्यो उसले। मेरो कारण त होइन? सोधेँ उसलाई। 'पसल जान र व्यापार गर्न' बार-बार सम्झाएँ।
मैले नै चाल पाउने गरी व्यापार ओरालो लाग्यो उसको। ग्राहकको कुरामा ध्यानै थिएन। पसलमा सामान थिएन। घरबेटीले भाडा कहिले दिने भनेर किचकिच गरेको आफैले सुनेँ। किन किन उसको व्यवहार अलिक फरक लाग्न थाल्यो मलाई। कहिलेकाहीँ काल्पनिक कुरा गर्थ्यो।
'म मरेँ भने तिमी के गर्छौ?'
'यस्तो हावा कुरा गर्ने?' उसको प्रश्नको जबाफ दिँदैनथेँ। उल्टो सम्झाउँथेँ।
प्रष्ट भयो मलाई। व्यापारमा पटक्कै ध्यान छैन उसको। सम्झाएँ तर सकिनँ। एकदिन खबरै नगरी पसल गएँ। भगवानको मूर्ति ल्याएर मध्य दिनमा पूजाआजा गर्दै रहेछ। के भयो तिमीलाई? सोधेँ मैले।
सामान्य रूपमा जबाफ दियो।
'मन्दिर जान भ्याइएन, यही पूजा गरेँ।'
कहिल्यै मन्दिर नजाने र मूर्ति पूजाको विरोध गर्ने मान्छेको चाला देखेर थप झस्केँ। गुगल सर्च गरेँ र च्याट जिपिटीलाई सोधेँ। उसका लक्ष्यणहरू बताएँ। उसलाई खबरै नगरी एक्लै मनोपरामर्श र मानसिक डाक्टरलाई भेट्न पुगेँ।
सम्भावित कारण के हुन सक्लान् खोज्न थाले। मनोचित्सकसँग कुराकानी गराएँ। शंका पो गर्यो मलाई। खासमा ऊ पूरै मनोरोगी भैसकेछ। उसका बाआमालाई सबै कुरा बताए। पत्याएनन्। उल्टो गाली गरे। धामीझाँक्री र फुकफाकमा लागेछन्। २१ औं शताब्दीमा सहर बस्नेहरू पनि यति रूढीबादी? सोच्नै सकिनँ। मोहनी लगाएर बगारेको रे। दोष मलाई थोपरेछन्।
क्षण क्षणमा उसले फोन र म्यासेज गर्थ्यो। तुरून्त आऊ भेट्न भनेर। जान्थेँ पनि। कहिलेकाहीँ त आधा रातमा घरमा बोलाउन थाल्यो। आधा रातमा कसरी जान सक्थे र म? भोलिपल्ट भेट्दा ननिदाएको जस्तो लाग्थ्यो। सोध्थेँ- तिमी निदाएनौ? उसले मलाई नै गल्ती देखायो। 'तिमी किन आएनौ त?' बानी व्यवहार थप फेरिँदै गयो उसको। गुनासो र आरोप लगाउन थाल्यो मलाई। आफन्त र बाआमाले रोगको गहिराइ बुझ्नै सकेनन्। विवाह नभैसकेको हुनाले मेरो के लाग्थ्यो र?
पसल जाने काम ठप्पै भयो उसले। व्यापार पहिल्यै ओरालो लागेको हो। झन् खराब भयो। हरेक दिन सटर बन्द। एक दिन उसका बाआमालाई नितेशको बानी व्यवहार र रोगबारे विस्तृत रूपमा बताएँ। पसलमा भगवानको मूर्ति राखेर पूजा गर्छ ऊ। कुरा सुनेँ मेरा तर मतलब गरेनन्। विश्वासै गरेनन्। रोगको गहनता पत्तै पाएनन् उनीहरूले।
मर्दिऊ भन्थ्यो ऊ मलाई। तुरून्त भेट्न आऊ भनेर धम्क्याउँथ्यो बेला बेलामा। गहिरो निराशाका लक्षण देख्न थाले उसमा। सोध्दा केही भएको छैन भन्थ्यो बारबार। मनोपरामर्श र औषधिका लागि पटक पटक सुझाई उसलाई र उसको परिवारलाई। समस्या झन-झन गहिरियो। प्रयास निर्थक भए। सकिनँ।
जिन्दगी के हुने होला? सोच्न थालेँ म। चिन्तामा परेँ आफै। छोरीको जिन्दगी सिसा जस्तै हो; टुक्रेपछि जोड्न मुस्किल भनेको कुरा झल्झली सम्झिएँ।
अचानक मोबाइलमा म्यासेज आयो। १० मिनेटभित्र भेट्न आउने कि नआउने? यो कस्तो प्रश्न हो? १० मिनेटमा उडेर आउने हो र? मानसिक स्वास्थ्य थप गडबड भएको पत्ता लगाएँ। उसका बाआमाले थाहा पाएर पनि यो कुरा लुकाए। लाज हुन्छ रे। फलानाको छोरो बहुलाएछ भन्छन् रे। प्यारो मान्छे मनोरोगी भयो। माया नपाएर वा मेरो कारण डिप्रेसनको सिकार भएको थिएन। मायामा कुनै कमी गरेको थिइन। उसैलाई खन्याएको थिएँ भए भरको माया।
अवस्था थप बिग्रँदै गयो। वरपरका मान्छेले थाहै पाएनन्। एकाएक मेरो नाम जोडेर आत्महत्या गर्यो रे। दोषी देखायो रे मलाई। सामाजिक संजालमा गालीको ओइरो लाग्यो। विगतमा बनाएका टिकटकहरू पोष्ट गरेछ उसले आत्महत्या गर्नु अगाडि। ती भाइरल भए। दुखी थिए म। त्यसमाथि सामाजिक सञ्जाल मैमाथि खनियो। पुलिसले आत्महत्या दुरूत्साहनमा अझ केरकार गर्यो मलाई। आफ्नै मनलाई सोधेँ मैले एकपटक। 'म पनि आत्महत्या गरूँ त?'
'होइन' समाजले सत्य थाहा पाउनु पर्छ भन्ने लाग्यो। पछाडि हटेँ। साँच्चिकै नकारात्मकता र उठन्ते कुरा कति धेरै बिक्ने हाम्रो समाजमा।
गुदी कुरा बुझ्नै खोजेनन् र बुझेनन्। आइतबारको त्यो घटना दु:खद मात्र थिएन; हुर्कँदो प्रेम जीवनको अन्त थियो। 'ग्लूमी सन्डे' थियो त्यो मेरा लागि। सम्हालिनँ नसकेको बेला मान्छेहरू मैमाथि खनिए। र भने 'प्रेममा धोका दिई' सहन नसकेर ज्यान फ्याँक्यो रे उसले। सतप्रतिशत झुट थियो। खासमा साँचो प्रेमले बचाउन नसकेको एउटा जीवन र समाजले बुझ्न नसकेको कथा थियो यो।