मुन्धुमी कविता
चिनो है भनेर तिम्ले
ओयामबाट पठाको रंगिन अम्लारी पेत्तारीमा
हेर्दै छामिरहेछु तिम्रै रसिला ओठहरुलाई
आवासो सोदेनहाङवा औँलाहरुले
यतिबेला सायद फुंतीअन्नामा
तिमी पनि
सावायेत्हाङ तेम्बेको लेलेप लेप्चुङको घुम्ने चौतारीमा बसेर
तिनै कामुक ओठहरुले च्यापेर
निकाल्दै छौ होला प्रेमिल पालाम र हाक्पारेका लयहरु
कङकङ कङकङ कङकङ गर्दै
मैले पठाको विनायोको झंकारबाट
खोक्लिङसम्म आएको
सुगन्ध खोज्दैखोज्दै फड्के तरेर
घुम्दैघुम्दै पुग्दा इखावुमा
मिक्किफुङहरुको ताँती देखें
ताँतीमा त फुंतिअन्नामा
तिमी यसरी सजिएकी थियौ
कि मैले नै दिएको परीले
कोरेर बाटिएको चुल्ठोमा
सिउरेर रातो थोक्फे?ला
र, सुनाखरीको धागोमा अल्झाएर विनायो
उन्नत देब्रे वक्षको छेउमा
अँ साच्चै सम्झिदैछु
उभिएर फक्ताङलुङ जस्तै अटल भएर
परेलीले सुहाएका तिम्रा एकजोर चिम्सा आँखालाई
अलिकति मुस्कुराउँदा तिम्रा मिलेका दन्तलहरलाई
पथाङले छोप्न नसकेर
मुक्कुमलुङ जस्तै उठेका एकजोर वक्षहरुलाई
ए हाउ फुङ्तीअन्नामा
अडियो मोहो? लिङ खेहो? लिङमा एक्लै हिँडिरहेको घामपनि
तिम्रो रुपको ज्योती सहन नसकेर
रोकियो वायुमण्डलमा चलिरहेको हावाका झोक्काहरु पनि
पथाङको सप्को उडाउन छाडेर
सौन्दर्यको सुवासले मात्न
र, रोकियो
बगिरहेको संग्लो इम्बिरी याङ्धाङ्वा पनि
तिम्रो प्रतिबिम्बलाई आफैमा समाहित गरेर नियाल्न
टक्क अडियो
आफ्नै बाटोमा हिँड्दा हिँड्दै समय
तिम्रो सौन्दर्यको
शक्तिशाली गुरुत्वाकर्षणले तानेर
अन्तरिक्षमाको आफ्नै परिधिमा
घुम्दाघुम्दै छाड्यो फन्को मार्न
तिमी र म उभिएको इक्साखाम्बेक
हाम्रो प्रेमको दर्शन बन्न
सप्पैसप्पै रोकिएको बेला
मेन्जो मेन्जो
जगाउदैछौं यतिबेला पनि
मिक्कीफुङहरुको भिडमा
अरुअरु मिक्कीफुङ
सावायेत्हाङ तेम्बेको
दुवो-ढुङ्गालाई
राखेर साक्षी
गाउँदै पालाम
समाएर हात मुरिङ्ला थेरिङ्लामा
नाच्दै यालाङ
पोखाउँदै बैंस मेन्छ्यायेमको डाँडामा
(कविता लिम्बु (याक्थुङ) मुन्धुममा वर्णित आदिम पात्र र उनीहरुको प्रेमको कथामा आधारित छ।)
(ओयामः ताप्लेजुङको एक गाउँ
अम्लारी पेत्तारीः सुनाखरी फुलको रेशाबाट बन्ने सानो झोला
आवासो सोदेनहाङवाः ऐतिहासिक मुन्धुमी पात्र
फुङ्तीअन्नामाः मुन्धुममा वर्णित ऐतिहासिक सुन्दरी युवती
सावायेत्हाङ तेम्बेः लिम्बु समुदायको आदिम पूर्खाको गाउँ। यो ताप्लेजुङमा पर्छ।
लेलेप लेप्चुङः ताप्लेजुङको उत्तरी गाउँ
खोक्लिङः ताप्लेजुङको उत्तरी गाउँ
मिक्किफुङः प्रेमको फूल
थोक्फे?लाः गुँरास
परीः लिम्बु समुदायका महिलाहरुले कपाल कोर्ने बाँसको काइयो
फक्ताङलुङः लिम्बु समुदायको आस्थाको प्रतिक कुम्भकर्ण हिमाल
पथाङः बर्को, पच्छ्यौरी
मुक्कुमलुङः नेपालीकरण भएको पाथिभरा शिखर
इम्बिरी याङ्धाङ्वाः तम्बर नदी
या?लाङः धाननाच
मुरिङ्ला थेरिङ्लाः ताप्लेजुङ जिल्लामा पर्ने ऐतिहासिक स्थल
मेन्छ्यायेमः मुन्धुममा वर्णित ताप्लेजुङ–तेह्रथुम र धनकुटाको संयुक्त सीमामा पर्ने ऐतिहासिक स्थल।)