दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुल्ला गर्न यातायात व्यवसायीले असहयोग गरेपछि सरकारले वैकल्पिक उपायका सम्वन्धमा छलफल थालेको छ।
यसै सम्वन्धमा आज यातायात व्यवस्था विभाग , निजी विद्यालयहरुको संगठन प्याव्सन र साझा यातायातबीच छलफल भएको छ। छलफलमा प्याव्सनले आवश्यक परेमा आफ्ना सम्पूर्ण बस उपलव्ध गराउने जनाएको छ।
विभागका प्रवक्ता डा. टोकराज पाण्डेले यातायात व्यवसायीहरु गैरजिम्मेवार भएपछि अन्य संघसंस्थासँग दसैँमा बस सञ्चालनमा ल्याउन सक्ने अवस्था भए नभएको बारे छलफल थालिएको जानकारी दिए।
उनले भने, ‘चाडबाडको समयमा यात्रुहरुलाई मार पर्न नदिन विभाग प्रतिवद्ध छ। व्यवसायीको यस्तै रबैया कायम रहेमा साझा, निजी विद्यालय तथा सरकारी कार्यालयका बस सञ्चालनमा ल्याएर भएपनि यात्रुलाई गन्तब्य सम्म पुग्ने सहज अवस्था सिर्जना गर्न हामी प्रतिवद्ध छौँ।’
प्याब्सनका महासचिव राजेन्द्र बानियाँले भूकम्पका बेला यात्रुहरुलाई घर जान सहज होस भन्ने उद्देश्यले काठमाडौंका निजी विद्यालयका बसहरु उपलब्ध गराएको स्मरण गर्दै सरकारले आवश्यक ठानेमा आफूहरु अहिले पनि उपलव्ध गराउन तयार रहेको बताए।
‘यदि सरकारले हामीसँग आग्रह गर्छ भने हामी यात्रुहरुको सहजताका लागि बसहरु दिन तयार छौँ’ उनले भने ‘बस चालकको पारिश्रमिक तथा इन्धन सरकारले उपलब्ध गराएमा हामी कुनै पनि शूल्क नलिई बस सेवा दिन तयार छौँ।’
तर उनले यात्रुबाहक बस सञ्चालन गर्ने कार्य यातायत व्यवसायीहरु तथा विभागको भएको भन्दै आफूहरु दुवै निकायबीच तत्काल सहमति भएर टिकट बुकिङ खुलोस भन्ने पक्षमा रहेको जिकिर गरे।
उनले भने, ‘हामी यातायात व्यवसायीहरुको रोजीरोटी खोस्ने पक्षमा पनि छैनौँ, उहाँहरुको जायज माग विभागले सम्बोधन गर्नुपर्छ र व्यवसायीले पनि अनावश्यक माग राखी यात्रुहरुको सहज यात्रा गर्न पाउने अधिकारको हनन् गर्न मिल्दैन।’ बसहरुको अभाव भएर यात्रुहरु घर नै जान नपाएमा भने आफूहरु सेवा दिन तयार रहेको उनले प्रतिबद्धता जनाए।
बानियाँले प्याब्सनसँग आवद्ध विद्यालयहरुसँग करिब १० हजार बसहरु रहेको भन्दै आधा भाडाका रहेकाले ५ हजार बसमार्फत सेवा दिन सकिने दाबी गरे।
त्यस्तै साझा यातायातले पनि सरकारले निर्णय गरेमा उपत्यकाबाहिर थप बसहरु लान सकिने प्रतिबद्धता जनाएको विभागले जानकारी दिएको छ। गत वर्षको दसैँमा काठमाडौंदेखि सुनौली, बागलुङ, वीरगञ्च तथा गोर्खासम्म साझा बस संचालन भएका थिए।
यसअघि यातायात व्यवसायी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीसहितको सर्वपक्षीय छलफलले भदौ २२ गतेबाट अग्रिम बस टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो।
तर यातायात व्यवसायीहरुले यात्रुको सामान राख्नका लागि क्यारियर (हुट) राख्न पाउनुपर्ने माग गर्दै आएकोमा प्रक्रियागत रुपमा सो माग पुरा नभएको र सडकको जिणोद्धार गर्ने विभागले गरेको प्रतिवद्धता पुरा नगरेको भन्दै अग्रिम बस टिकट नखुलाइएको बताएका छन्।
यात्रुको सुरक्षाको लागि सडकको मर्मत, पहिरो जाने ठाउँमा हेभी इक्युप्मेन्टको व्यवस्था र यात्रुहरुको सामान राख्नको लागि क्यारिङ हाल्न पाउनुपर्ने व्यवस्था तत्काल लागू गर्नुपर्ने उनले बताए। तर विभागले केही पनि प्रतिकृया नदिएको व्यवसायीको भनाइ छ।
राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारी पक्षले आफ्ना प्रतिबद्धता पुरा नगरेकाले अग्रिम बस टिकट बुकिङ खोल्न नसकिएको बताए।
उनले भने, ‘भोलि आउने समस्याले झन् ठूलो समस्या ननिम्तियोस् भन्ने उद्देश्यले अहिले टिकट खोल्ने अवस्था देखेका छैनौँ। सरकारले प्रतिबद्धता कार्यान्वयन गरेमा हामी तत्काल टिकट खोल्न तयार छौँ।’