भाडा दर घटाएर प्रस्ताव आह्वान गरिएपछि रूपन्देहीको रोहिणी गाउँपालिका वडा नं. १ वगाहास्थित विशेष आर्थिक क्षेत्र सेजमा मागभन्दा धेरै उद्योग स्थापनाका लागि आवेदन दर्ता भएका छन्।
कुल ५२ बिगाहामा फैलिएको भैरहवा सेजमा उद्योग स्थापनाको लागि ६८ वटा प्लट रहेका छन्। तीमध्ये २३ वटा प्लटमा यसअघि नै उद्योग सञ्चालन गरिएका छन्।
खाली रहेका ४५ वटा प्लटमध्ये ब्लक ‘ए’ मा रहेका २२ वटा प्लटमा मात्रै उद्योग स्थापना तथा सञ्चालनका लागि फागुन १५ गतेदेखि प्रस्ताव आह्वान गरिएको थियो। तर बाँकी रहेका प्लटभन्दा बढी ५७ वटा प्लटको लागि २२ वटा उद्योगले आवेदन दर्ता गरेको सेज प्राधिकरणले जनाएको छ।
सेज प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले २२ वटा प्लटको लागिमात्रै प्रस्ताव माग गरिए पनि आवेदन दर्ता गराएका उद्योगहरूलाई फिर्ता नगर्ने गरी खाली रहेका ४५ वटै प्लट उपलब्ध गराइने सेतोपाटीलाई जानकारी दिए।
आवेदन दर्ता गराएको उद्योगहरूको प्रकृति अनुसार प्लट घटाएर भए पनि इच्छुक उद्योग स्थापनाको वातावरण तयार गरिदिने भट्टले बताए।
‘कस्तो उद्योग छ त्यसलाई हेरेर थोरै प्लटमा पनि सञ्चालन गर्न सकिने छ भने त्यस्तोलाई प्लट घटाएर दिन्छौं, धेरै र ठूलो प्लट चाहिने उद्योगलाई पनि सोही अनुसार प्लट व्यवस्थापन गर्छौं, अब भैरहवा सेजमा कुनै पनि प्लट खाली रहने छैनन्,’ भट्टले भने।
अहिले आवेदन दर्ता गरेका उद्योगहरूमा किचन वेयर, इलेक्ट्रिकल, इलेक्ट्रिक स्कुटर एसेम्बल, गार्मेन्ट, हर्वल, मिनरल, स्टिल, स्टोन, प्लाष्टिक लगायतका उद्योग रहेका छन्।
विशेष आर्थिक क्षेत्रमा विशेषगरी वातावरणलाई असर नगर्ने खाद्य उद्योग तथा कृषि जन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका वस्तु, तयारी पोशाक, गलैंचा तथा ऊनी सामान, पस्मिना तथा रेशम, हाते कागजका वस्तु लगायतका १७ किसिमका उद्योगहरू राख्न पाइने व्यवस्था छ।
सोही अनुसार इलेक्ट्रिक, स्टिल, प्लाष्टिक, मेटल लगायतका ७ वटा उद्योगले यसअघि नै उत्पादन गरिरहेका छन्।सञ्चालनमा रहेका उद्योगहरूमा शक्ति मिनरल्स प्रालि पहिलो उद्योग हो।
शक्तिले स्वदेशी चुनढुंगालाई प्रशोधन गरी फाइनस्टोन, फ्लक्स, लाइनस्टोन र डोलोमाइटको उत्पादन गरी भारत निर्यात गर्दै आएको छ।
त्यस्तै, ब्रिलियन्ट लाइटिङ इण्डष्ट्रिज प्रालिले एलइडी बल्ब, भिस्टार ग्लोबल प्रालिले स्टिलका भाँडा, पञ्चकन्या एसएस एक्स्पोर्ट प्रालिले पानी ट्यांकी, तिरुपति मेटल इण्डष्ट्रिज प्रालिले ब्याट्रीमा राखिने सिसा उत्पादन गर्दै आएको छ।
सेजमा यस प्लाष्टिक इण्डष्ट्रिजले प्लाष्टिक र जयबुद्ध मेटल एण्ड क्राफ्टले पित्तलको मूर्ति, कलश, पूजाको सामग्री तथा भाँडा उत्पादन गर्दै आएको छ।
कार्यकारी निर्देशक भट्टका अनुसार यी उद्योगमा मात्रै झण्डै दुई अर्बको लगानी रहेको छ भने अब थपिने २२ वटा उद्योगले ९ अर्ब लगानी गर्दा सेजमा ११ अर्ब लगानी पुग्नेछ।
पटक/पटक प्रस्ताव आह्वान गर्दा पनि उद्योगीहरू आउन अनिच्छिुक देखिएपछि सेज प्राधिकरणले यहाँ स्थापना हुने उद्योगहरूलाई विभिन्न प्रोत्साहन सुविधासँगै भाडा दरमा समेत कटौती गरेको थियो। यसअघि प्रति वर्गमिटर प्रतिमहिना २० रुपैयाँ भाडा लिने गरिएकोमा भाडादर घटाएर प्रति वर्गमिटर प्रतिमहिना १० रुपैयाँ लागू गरिएको छ।
सेज सञ्चालनको सुरूआती समयमा यहाँ उत्पादित उद्योगलाई पहिलो १ वर्ष निर्यातमा छुट गरिएकोमा अहिले १ वर्ष थप गरी २ वर्षसम्म शून्य निर्यात प्रावधान राखिएको छ। त्यसपछि भने स्थापनाको तेस्रो वर्ष कुल उत्पादनको २० प्रतिशत, चौथो वर्षमा ४० र पाँचौ वर्षदेखि उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान राखिएको छ।
यसअघि उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्नेमा त्यसलाई घटाएर ६० प्रतिशतमा झारिएको छ।
त्यस्तै, पाँच वर्षसम्म आयकर छुट, कच्चा पदार्थ तथा मेसिनरी उपकरणको आयातमा तिरेको मूल्य अभिवृद्धि कर पनि फिर्ता पाउने गरेका छन्।
कार्यकारी निर्देशक भट्टले सेजमा स्थापना गर्न चाहने उद्योगहरूको प्रावधान सहज बनाएपछि सेजप्रति उद्योगीहरूको आकर्षण बढेको बताए।
यद्यपि यसअघि पनि उद्योग सञ्चालनको लागि प्लट ओगटेर लामो समय उद्योग स्थापना नभएको कारण आवेदन दिएका सबै उद्योग स्थापना हुन्छन् भन्नेमा प्राधिकरण विश्वस्त हुन सकेको छैन।
यसअघि २२ वटा उद्योगले सञ्चालन अनुमति लिएकोमा लामो समयसम्म उद्योग स्थापनाको कुनै प्रक्रिया नै सुरू नगरेपछि उद्योगको इजाजत खारेज गरिएको थियो।
तीन वर्ष पहिले नै उद्योग स्थापनाको लागि प्लट लिएका अरिहन्त एग्रो प्रोसेसिङ प्रालि, नेसनल अर्गनिक्स प्रालि, कुराकानी अनलाइन प्रालि, आइडिएस इलेक्ट्रिकल्स प्रालि, नीर इन्डष्ट्रिज प्रालि, शक्ति मिनरल्स प्रालि र क्रिएसन वर्ल्ड वाइड प्रालिले उद्योग स्थापना नगरेपछि सम्झौता खारेज गरिएको थियो।
जग्गा ओगटेर वर्षौसम्म उद्योग सञ्चालन नगर्ने परिपाटीलाई हटाउन यसपटक भने जग्गाको सम्झौता गर्दा नै ६ महिनाको अग्रिम भाडा लिने योजनामा सेज रहेको छ।
कार्यकारी निर्देशक भट्टले पहिले अनुमति दिँदा नै भाडा नलिएको कारण लामो समय जग्गा ओगटेर बसे पनि यसपटक भने ६ महिनाको अग्रिम भाडा लिनेगरी योजना बनाइएको बताए।
‘आवेदन दिएका उद्योगीहरूले सम्झौता भएपछि लगत्तै उद्योग स्थापना गर्छौं भन्नुभएकोले पहिले जस्तो नहोला, पहिलेजस्तो नहोस् भन्नका लागि अग्रिम भाडा लिनुपर्छ कि भन्ने योजना पनि सेजको रहेको छ,’ उनले भने।
भट्टका अनुसार यहाँ आवेदन दिएका कतिपय उद्योगहरू अन्यत्र समेत सञ्चालनमा रहेको र स्थापित उद्योगहरू नै धेरै रहेकोले सेजमा पनि सञ्चालन हुन्छन् भन्नेमा ढुक्क हुने अवस्था रहेको बताए।
आवेदन दिएका उद्योगहरूसँग अबको १५ दिनभित्रैमा सम्झौता गर्ने तयारीमा सेज रहेको छ।
‘उद्योगहरूको सम्झौतासँगै एक महिना भित्रैमा भौतिक पूर्वाधार, आन्तरिक सडक, पानी, विद्युत, पेट्रोलियम पम्प, धर्मकाटा, सुरक्षा पोष्ट, पानी प्रशोधन केन्द्र, बैंक, बीमा लगायतका सुविधा उपलब्ध गराउने गरी तयारी भइरहेको छ,’ भट्टले भने।
देशमा भएका रुग्ण तथा नेपाली बजारमा उत्पादन भएर पनि विदेशमा माग बढी भएका सामान उत्पादन गरी बढ्दो व्यापार घाटा कम गर्ने र मुलुकको आर्थिक वृद्धि गर्ने उद्देश्यले सरकारले २०५७ सालमा नमूनाको रूपमा आयोजना अगाडि बढाएको थियो।
पाँच वर्षमा काम सम्पन्न गर्नेगरी सुरू गरिएको सेजको निर्माण कार्य भने १५ वर्षपछि २०७१ सालमा मात्रै सम्पन्न भएको थियो।
२०७१ सालमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र उद्योगमन्त्री महेश बस्नेतले संयुक्त रूपमा उद्घाटन गरेको सेज २०७३ साल फागुनमा तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले दोस्रोपटक उद्घाटन गर्दै सेज सञ्चालन भएको घोषणा गरेका थिए।
तर दोस्रो पटक उद्घाटन गरिएको ५ वर्ष पूरा भए पनि सेज पूर्ण रूपमा सञ्चालनमा नआउँदा निर्यातमुखी उद्योगमार्फत् विदेशी मुद्रा आर्जन गर्ने सरकारको योजना अझै पूरा हुन सकेको छैन।