बदलिँदो राजनीतिक परिस्थितिमा प्रधानसेनापतिसँग कुराकानी गर्न धरानका मेयर हर्क साम्पाङ यति बेला काठमाडौं आइपुगेका छन्।
बुधबार साँझ काठमाडौं आउनेबित्तिकै सैनिक मुख्यालय गएर प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल भएको उनले बताएका छन्।
सैनिक मुख्यालयबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, 'दसौं हजार युवाहरूले तपाईं काठमाडौं आउनैपर्छ भनेर बोलाएपछि म यहाँ आएको हुँ।'
प्रधानसेनापतिसँग अब बन्ने अन्तरिम सरकारबारे कुराकानी भएको उनले जानकारी दिए।
उनले अन्तरिम सरकार प्रमुखका रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम आएको उल्लेख गरे। त्यसपछि पत्रकारहरूले सुशीला कार्कीको नाममा 'तपाईंको सहमति छ?' भनेर सोधेका थिए।
जबाफमा साम्पाङले भने, 'सहमति वा असहमति जनाउने म को हुँ र? यसमा युवा पुस्ताले नै निर्णय लिने हो।'
उनले आफ्नोबारे वा प्रधानसेनापति सिग्देलसँग भएको कुराकानीबारे थप केही बताएनन्। उनले 'कुराकानी अझै जारी छ' मात्र भने।
सैनिक मुख्यालय बाहिर भेला भएका केही युवाले भने साम्पाङको समर्थनमा नाराबाजी गरेका थिए। अन्तरिम सरकारको नेतृत्व साम्पाङलाई दिनुपर्ने उनीहरूको माग थियो।
त्यहीँ भेला भएका केही युवाको अर्को समूह काठमाडौंका मेयर बालेन शाहको समर्थनमा उभिएका थिए।