पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जीले परिकल्पना गरेको नेपाल अझ बढी लोकतान्त्रिक र अग्रगामी नै हुने विश्वास व्यक्त गरेकी छन्। बिहीबार सार्वजनिक वक्तव्यमार्फत् धारणा सार्वजनिक गर्दै उनले नेपाली जनताको त्याग, समर्पण र बलिदानको प्रतीकको रूपमा रहेको यो संविधान एउटा उत्कृष्ट संविधान रहेको बताएकी हुन्।
‘म विश्वास गर्दछु, सामाजिक सञ्जाल बन्द गरिँदा निस्सासिएको नेपाली समाजलाई जीवन उत्सर्ग गरेर फेरि स्वतन्त्रताको परिवेशमा फिर्ता ल्याउने ‘जेन–जी’ ले परिकल्पना गरेको नेपाल अझ बढी लोकतान्त्रिक र अग्रगामी नै हुनेछ। यस सन्दर्भमा जेन–जीको उत्साहलाई लोकतान्त्रिक व्यवस्थामाथि घात पर्ने गरी कुनै निर्णय गरिनु हुँदैन र नागरिक सर्वोच्चतामा चोट पुर्याउनु हुँदैन भन्नेमा पुनः जोड दिन चाहन्छु। यस्तो कठिन परिस्थितिमा पनि धीरता, संयम र सहज परिवेशको आशा लिनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति आभार प्रकट गर्दछु। साथै, शान्ति तथा अमनचयन कायम गर्न अहोरात्र खटिरहने नेपाली सेनालगायत सुरक्षा निकायको सराहना गर्दछु,’ उनले भनेकी छन्।
पूर्वराष्ट्रपति भण्डारीले जस्तोसुकै विषम राजनीतिक परिस्थितिमा पनि यसको सही निकास निकाल्न संविधानको मर्म र भावनालाई आत्मसात गर्दै संवैधानिक प्रावधान अनुसार अगाडि बढ्न सुझाएकी छन्।
‘प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रपतिले स्वीकृत गरेपछिको अवस्थामा सरकार काम चलाउ छ, तर हामीसँग मुलुकको संविधान बमोजिम गठित राष्ट्रपति र जननिर्वाचित संसद जस्ता संस्थाहरू कायम नै छन्। त्यसकारण, अहिलेको अवस्थामा राष्ट्रपति, प्रतिनिधिसभाका सभामुखको समन्वयका आधारमा वैधानिक प्रक्रियामार्फत अर्को मन्त्रीपरिषद गठन प्रक्रिया अगाडि बढाउनु पर्दछ। यस प्रक्रियामा सम्माननीय राष्ट्रपतिले पहलकदमी लिनु पर्दछ संविधानभित्रबाट नै वर्तमान राजनीतिक समस्याको समाधान निकाल्नु पर्दछ। यसो गरिरहँदा आन्दोलनकारी जेन–जी पुस्ताको माग र चाहनालाई अभिव्यक्त गर्ने कुरामा गम्भीरतापूर्वक ध्यान पुर्याउनु पर्दछ,’ उनको आग्रह छ।
राजनीतिक दल एवम् यसका नेता, कार्यकर्ता र सदस्यको ठूलो परीक्षा विषम राजनीतिक परिस्थिति उत्पन्न हुँदा नै हुने उनको ठहर छ। एउटा लोकतान्त्रिक र क्रान्तिकारी राजनीतिक व्यक्तिले अप्ठ्यारो राजनीतिक अवस्था उत्पन्न भयो भन्दैमा पलायन हुने, निष्क्रिय हुने र आदर्श प्रतिकूल हुने टिका टिप्पणी गर्न नसुहाउने उनको तर्क छ।
‘पार्टीहरूले संस्थागत ढंगले आफ्नो दृष्टिकोण स्पष्ट गरी पार्टीभित्रको एकता, हार्दिकता र समन्वयलाई बलियो बनाएर सहयात्री राजनीतिक दलसँग समेत सामन्जस्यता कायम राख्दै मुलुकलाई सही दिशामा हिँडाउन दृढ अठोट गर्नु पर्दछ। यस विषयमा सम्बद्ध सबैको थप ध्यान पुग्नेछ भन्ने मलाई लागेको छ,’ उनले भनेकी छन्।