बालकुमारी बसोवास गर्ने पूर्णमाया मगर बैशाख १३ गते स्थानीय निकायले पठाएको गाडीमा श्रीमानसहित गृहजिल्ला रामेछाप फर्किइन्।
लकडाउनको कारणले उनको सिलाइ कटाइको काम र श्रीमानको घर बनाउने काम ठप्प भएपछि उनीहरुसगँ गाउँ फर्कनुको विकल्प थिएन।
लकडाउन केही खुकुलो भएको सुनेपछि यी दम्पत्तीले काठमाडौं नै फर्कने निणर्य गरे।
‘बिना काम गाउँमा पनि खान पुग्दैन। त्यही भएर यतै आएर काम गर्ने सोच्यौं,’ पूर्णमायाले भनिन्।
काठमाडौं फर्कने भएपछि उनले घरबेटीलाई फोन गरिन्। घरबेटीले पिसिआर टेष्ट गराएपछि मात्र घर आउन भनेपछि उनी झोली–तुम्बा बोकेर सिधै टेकु अस्पताल आएकी हुन्।
तर, दिउँसो १ बजेसम्म मात्रै परीक्षण गर्नेरे, त्यही भएर आज परीक्षण गर्न पाइएन,’ उनले दुखेसो पोखिन्।
टेष्ट गर्न पाइएन, अव के गर्नुहुन्छ त भन्ने हाम्रो प्रश्नमा उनले भनिन् ‘नेपाल सरकारले लक्षण नदेखिएको मान्छेलाई टेष्ट गराउनु पर्दैन भनेको छ रे। त्यो सूचना फोटो खिचेर घरबेटीलाई देखाउँछु। भोलि बिहान टेष्ट गराउन आउँछु।’
त्यस्तै राजविराजका नापी कार्यालयका नापस अधिकृत नरोत्तम प्रसाद देवको परिवार बालाजुमा बस्छन्। उनी बढुवाको नियुक्ती लिन आइतबार राजधानी आइपुगेका हुन्।
‘परिवारसगँ सम्पर्क गर्दा त्यो टोलमा बाहिरबाट आउनेले अनिवार्य पिसिआर टेष्ट गर्नुपर्ने रहेछ। त्यही भएर एक रात कर्मचारी युनियनको अफिसमा बसेर आज टेष्ट गराउन आएँ,’ उनले भने।
टेकुकी रन्जना कार्कीको समस्या पनि उस्तै छ। लकडाउनको कारणले आफूले काम गर्ने छापाखाना बन्द भएपछि २ महिनाअघि छोरो बोकेर रामेछाप गइन्। छापाखानाले काम गर्न बोलाएपछि आइतबार राती ११ बजे काठमाडौं आइपुगिन्।
‘टोलका मान्छेले केही दिनअघि एउटा मान्छे निकाल्दियो भन्ने भनेपछि सोमबार दिउँसो १ बजे टेष्ट गराउन अस्पताल आए तर टेष्ट गर्न भने पाइन्,’ रन्जनाले भनिन्, ‘घरबेटीले त केही भन्नु भएको छैन तर टोलका मान्छेले पुलिस बोलाएर निकाल्लान् भन्ने पिर छ।’
‘पूर्णमाया, नरोत्तम र रन्जना प्रतिनिधि पात्र मात्र हुन्। उनीहरु जस्ता दैनिक सयौ टेष्ट गराउन टेकु अस्पताल आइपुग्ने अस्पतालले जनाएको छ।
लकडाउन खुकुलो भएपछि दैनिक एक हजारको हाराहारीमा टेष्ट गराउन टेकु अस्पताल आइपुग्ने शुक्रराज टपिकल तथा सरुवारोग अस्पतालका निर्देशक सागर राजभण्डारीले जानकारी दिए।
‘हामीले त धान्नै नसक्ने स्थिति छ। परीक्षणको आवश्यकता नपरेका सर्वसाधारण, जनप्रतिनिधिदेखि सरकारी कर्मचारीसम्मलाई परीक्षण गर्ने दवाब छ। अदालतले पनि हामीलाई नै पेल्छ,’ राजभण्डारीले गुनासो पोखे, ‘सबैको टेष्ट गराउन त अमेरिकाले पनि सक्दैन होला। आए जति सबैको टेष्ट गराउने हो भने आवश्यक भएकाहरूलाई टेष्ट गराउन पाइँदैन।’
यो विषयमा अस्पतालले मन्त्रालयलाई पत्राचार गरिसकेको उनले बताए।
‘हामीसगँ स्रोत साधन कम छ। भोलिको दिनमा संक्रमण अत्याधिक बढ्न पनि सक्छ। अहिले लक्षण नदेखिएकालाई परीक्षण गर्दा पिपिई, टेष्ट किट, केमिकल लगायतका परीक्षणका सामग्री धेरै खर्च हुन्छ,’ उनले भने।
हाल अस्पतालले टेष्ट गर्न आउनेलाई वर्गीकरण गरेर कोरोना संक्रमण जोखिम भएको क्षेत्रबाट आएका, संक्रमितसँग सम्पर्कमा आएका, विदेशबाट आएका लगायतको मात्र परीक्षण गरिरहेको उनले जानकारी दिए।