चितवनको टाँडीस्थित न्यू गोर्खाली पुस्तक पसलमा गत मंसिरमा स्कुलकै पोसाकमा एक विद्यार्थी किताब किन्न आए।
किताबको मूल्य ४ सय ९० थियो। ५ सय रुपैयाँ बोकेर आएका ती विद्यार्थीले छुट मागे।
पसल सञ्चालक नारायण रेग्मीले छुट दिन नमिल्ने भनेपछि ती विद्यार्थीले कलम मागे। धेरै कर गरेपछि रेग्मीले प्याकेटको २२ रुपैयाँ पर्ने कलम दिए। त्यसको केही बेरमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी सघंका प्रतिनिधि आएर किताबमा छुट दिएको भन्दै १० हजार जरिवाना तिर्न भने।
'मैले किताबमा छुट दिएको होइन। त्यो विद्यार्थीले धेरै कर गरेकाले कलममा १२ रुपैयाँ छुट दिएको हुँ। उक्त विद्यार्थीलाई महासंघले नै पठाएका रहेछन्,' रेग्मीले भने।
उनले त्यो जरिवाना तिर्न नमानेपछि चितवनका कुनै पनि होलसेलरलाई किताब दिन बन्देज लगाएको उनको आरोप छ।
'मलाई अहिले चितवनमा कसैले पनि किताब दिँदैन। कोही कोही साथीले लुकाएर दिएको किताब बेचेको छु। अहिले किताब बेच्ने सिजनमै यस्तो गरेपछि कसरी व्यवसाय गर्नु,' उनले दुखेसो पोखे।
केही सिप नलागेर लकडाउनपछि जरिवाना तिर्छु भन्दा पनि चेक समेत लिन नमानेको उनको आरोप छ। किताब बेच्न नपाएपछि रेग्मीले गत मंगलबार सिडिओ कार्यालयमै निवेदन दिएका छन्।
'पहिले चेक लिन मानेनन्। अहिले निवेदन फिर्ता लिएर फाइन तिर्नुस् अनी बल्ल प्रतिबन्ध खुलाउँछौं भन्छन्,’ उनले भने। महासंघकै सिन्डिकेटको कारणले ग्राहकले धेरै पैसा तिर्नु परेको उनले बताए।
'उनीहरूले तोकेभन्दा कममा किताब बेचे प्रतिबन्ध लगाउँछन्। प्रतिबन्धित पसललाई कुनै होलसेलरले किताब दिए उनीहरूलाई पनि १० हजार जरिवाना लाग्छ। यिनीहरूले पब्लिकेसन सम्मलाई तर्साएर बसेका छन्,' रेग्मीले भने।
रेग्मीले भनेझैं महासंघले कुनै कार्य नगरेको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी संघका अध्यक्ष राजेन्द्र तिवारीले बताए।
'तीन वटा पुस्तक पसलले महासंघको निणर्यविपरीत केही कार्य गरेकाले मंसिरमा कारोबार नगर्न चिठी काटेका हौं। तर भोलिपल्टै निणर्य फिर्ता लियौं,' उनले भने।
गोर्खाली पुस्तक पसलका बारेमा आफूले केही बोल्न नचाहेको उनले बताए।
'महासंघ व्यवसायीको हक हितकै लागि हो। यी पुस्तक पसललाई किताब नदिनु भनेर कसैलाई भनेका छैनौं। होलसेलले दिँदैनन् भने त हामीलाई दोष दिन मिलेन नि,' उनले भने।
६ महिनादेखि किताब दिन प्रतिबन्ध लगाएको भए उक्त पसल रित्तिसकेको हुनुपर्ने उनको तर्क छ।
'त्यो पसलमा अझै पनि टनाटन किताब छन्। प्रतिबन्ध लगाएको भए कसरी हुन्थ्यो त्यति किताब,' तिवारीले भने। महासंघले सिडिओ कार्यालयमा समेत स्पष्टिकरण दिइसकेको उनको जिकिर छ।
मिडियामा यो कुरा बाहिरिएपछि केही दिन अगाडि महासंघको लेटरहेड बिनै क्षेत्रीय संयोजक डिलेन्द्र राज पौडेलको हस्ताक्षरमा म्यासेन्जरमा निर्देशन दिइएको रेग्मीको आरोप छ।