कोरोना भाइरसको महामारीले धेरै व्यवसाय धरापमा छ।
नेपाल सरकारले भ्रमण वर्ष २०२० को पूरा तयारी गरिसकेको थियो। तर नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले भ्रमण वर्ष स्थगित गर्यो।
नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक सौराहा अहिले सुनसान छ।
हाल सौराहामा लामो समय बस्न आएका करिब १०/११ जना मात्र विदेशी पर्यटक रहेका क्षेत्रीय होटल सघंका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए।
अघिल्लो वर्ष २ लाख पर्यटक आएको सौराहामा यो वर्ष सिजनमै लकडाउन भएको कारण होटल, रेष्टुरेन्ट र पर्यटनसँग आश्रित सबै क्षेत्र प्रभावित भएको भट्टराईले बताए।
‘सौराहाको लागि फागुनदेखि जेठसम्म मुख्य सिजन हो। यो वर्ष सिजन अघिनै मेघौली र सौराहा गरेर १ लाख ७५ हजारको हाराहारीमा पर्यटक आइसकेका थिए,’ उनले सेतोपाटीसँग भने।
सौराहाका पर्यटन व्यवसाय तथा यससँग आश्रित व्यवसायलाई जोगाउन सरकारले आन्तरिक पर्यटनलाई जोड दिनुपर्ने भट्टराईको सुझाव छ।
‘२ वर्ष विदेशी पर्यटक आउने सम्भावना छैन। यो क्षेत्र जोगाउन त्यसैले आन्तरिक पर्यटनको लागि पोलिसी बनाउनु पर्छ,’ उनले भने।
त्यस्तै, सरकारले पर्यटनलाई पनि कृषिलाई जस्तै सहुलियत दिनुपर्ने उनको माग छ।
पर्यटन बढाउने बारेमा सरकार मौखिक रूपमा मात्र सीमित भएको उनको आरोप छ।
‘सौराहाका पर्यटन व्यवसायमा २० अर्ब ऋण छ। व्यवसायीले अब डेढ वर्ष सावा ब्याज तिर्न सक्दैनन्। त्यसैले सरकारले पुनर्कर्जाको व्यवस्था मिलाउनु पर्छ। त्यस्तै कृषिमा जस्तै थोरै ब्याजदर बनाउनुपर्छ,’ भट्टराईले भने।
सौराहाका होटलहरूले सुरक्षा र सफाइ कर्मचारीलाई मात्र राखेर अरूलाई बिदा दिएको होटल अर्थ लाइटको प्रबन्ध निर्देशक उद्धव कुमार कोइरालाले जानकारी दिए।
होटल तथा रेष्टुरेन्टहरूले कर्मचारीलाई आपसी सम्झौता अनुसार तलबी तथा बेतलबी बिदा दिएको उनले बताए।
‘केही वर्ष अगाडिसम्म बर्खामा सौराहाका होटल बन्द हुने ट्रेन्ड थियो। त्यो बेलामा पनि आपसी सम्झौता अनुसार कर्मचारीले बिदा पाउँथे,’कोइरालले सेतोपाटीसँग भने।
नेपालको पर्यटन क्षेत्र जोगाउन नयाँ प्रकारको आर्थिक नीति लिनुपर्ने उनको सुझाव छ।
‘सरकारले फोर्स लिभको व्यवस्था गर्नुपर्छ। यस्तै बिदामा बस्दा घुम्न गएका पर्यटकले खर्च गरेको रकमबाट कर फिर्ता पाउने व्यवस्था हुनुपर्छ,’ उनले भने।
हेर्नुस्, सुनसान सौराहा