के तपाईले ट्याक्सीमै सामान छोड्नु भएको छ? वा छुटेको सामान भेटिँदैन भनेर उजुरी नै गर्नुभएन?
कतिपय अवस्थामा हराएको सामान पुनः भेटिने विश्वास नहुन सक्छ, त्यो पनि भाडाका सवारीसाधनमा। हराएको पैसा वा वहुमूल्य वस्तु भेटियो भने अचम्म लाग्ने नै भयाे।
हिजोआज ट्याक्सीमा छुटेको सामानमा यस्तै अचम्म हुन थालेको छ।
गत माघ २७ गते बर्दिया स्थायी घर भई बसुन्धारा बस्ने २५ वर्षीय नविन सिग्देल आफ्नो बा २ ज ४०७१ नम्बरको ट्याक्सीमा लाजिम्पाटतिर थिए। उनले थापाथलीसम्मको ट्रिप पाए।
यात्रुलाई थापाथली छोडेपछि उनले थप ३ ट्रिप लिए। पछि वसुन्धाराको ट्याक्सी स्टेसन गएर डिक्की खोल्दा थापाथली जाने यात्रुको सामान त्यही छुटेको रहेछ।
त्यो झोलामा १३ तोला सुन, ल्यापटपसहित करिव १० लाख ६६ हजार बराबरको सामान थियो। ‘झोला नखोली १०३ मा फोन गरेर जानकारी गराएँ, अरुको झोला किन खोल्नु। प्रहरीले मलाई महाशाखामा बोलायो,’ उनले भने।
त्यतिञ्जेल सामान हराउने गुल्मी घर भई सुन्धारा बस्ने लक्की रिजालले प्रहरी रिपोर्ट गरिसकेकी थिइन्। प्रहरीले सिसी क्यामराबाट ट्याक्सी खोज्न सुरु गर्न पनि लागेको रहेछ।
चालक आफै सम्पर्कमा आएपछि महाशाखाले दुबैलाई भेटाइदियो। लक्की खुसी भएर एउटा सुनको सिक्री समेत उपहार दिइन्।
‘त्यो १३ तोला सुन भन्दा मेरो लागि उपहारमा पाएको एउटा सिक्री कयौ गुणा ठूलो हो। हराएको मान्छेले सामान भेटेपछि धेरै खुसी हुनुभयो। मेरो त्यही लागि त्यही आत्मसन्तुष्टी हो,’उनले भने।
त्यस्तै गत साउन १६ गते सुन्धाराका विवेक खड्का न्यूरोडस्थित बैंकमा पैसा राख्न ट्याक्सी चढे। हतारमा उनले ट्याक्सीको सिटमै २ लाख ५० हजार छोडेर हिँडेछन्। बैंकमा पुग्दा पैसा छैन।
‘आशा त थिएन त्यही पनि भेटिन्छ कि भनेर सिभिल मलको सिसी क्यामरा भएको ठाउँमा गएँ, ट्याक्सी चालक (कुल बहादुर श्रेष्ठ) पहिल्यै त्यहाँ पुगेर कोही बुझ्न आए फोन नम्बर दिनु भनेर आफ्नो नम्बर छोडेका रहेछन्,’ उनले भने।
चालकले सो पैसा महानगरीय ट्राफिक प्रहरी महाशाखामा बुझाई सकेका रहेछन्। खड्का खुसी भएर चालक श्रेष्ठलाई केही नगद समेत दिए। सबै ट्याक्सी चालकलाई ठग र बेइमान भन्न नहुने उनको तर्क छ।
लक्की र विवेक त प्रतिनिधी पात्र मात्र हुन्। यो आर्थिक वर्षको ७ महिनामा मात्रै यस्तै सामान छुटाएका ३ सय ९५ ओटा निवेदन ट्राफिक महाशाखामा परेको थियो। जसमा ५२ ओटा मात्रै फेला नपरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सूचना अधिकारी जीवनकुमार श्रेष्ठले जानकारी दिए।
फेला परेको सामान, पैसा र गरगहनाको कुल मूल्य १ करोड ४८ लाख ६० हजार ३ सय ६५ रहेको महाशाखाले जनाएको छ। सर्वसाधरणले सामान हराउँदा प्रहरीलाई जानकारी दिए भेटिने सम्भावना धेरै हुने श्रेष्ठ बताउँछन्।
‘केही ट्याक्सी चालकले आफै सामान प्रहरीलाई बुझाउँछन्। केहीलाई सिसिटिभी फुटेज, अनुसन्धानबाट पत्ता लगाउँछौं’ उनले भने।
महाशाखाले नविन, कुलबहादुर लगायत स्वतस्फुर्त रुपमा सामान फिर्ता गर्न आउने २१ जना ट्याक्सी चालकलाई सोमबार सम्मान समेत गरेको छ। यी २१ ट्याक्सी चालकले झण्डै २५ लाख रुपैयाँ बराबर पैसा, गहना र सामान फिर्ता गरेका थिए।
‘चालकलाई आफ्नो कामप्रति सम्मान जगाउन, प्रोत्साहन गर्न र अरू चालकलाई सकारात्मक सन्देश दिन सम्मान गरेका हौं,’ उनले भने।