रातो पुलकी ज्योती अग्रवालले गत पुस २८ गते आफ्नो घर अगाडि स्कुटर पार्किङ गरेकी थिइन्।
बेलुका करिब ८ बजे खाना खान माथिल्लो तलामा गइन्। १५ मिनटपछि फर्केर आउँदा उनको स्कुटर त्यहाँ थिएन।
‘घर अगाडिबाटै स्कुटर हराउला भन्ने सोचेको पनि थिइनँ। एकदमै तनाव भयो,’ उनले सेतोपाटीसगँ भनिन्।
उनले तत्कालै प्रहरीमा जानकारी गराइन् र भोलिपल्ट महानगरीय ट्राफिक प्रहरी महाशाखामा उजुरी दिइन्।
‘ट्राफिक प्रहरीले हामी खोज्छौं तर पाउने सम्भावना थोरै छ भन्नुभयो। पाउने सम्भावना कम भए पनि झिनो आशा भने थियो,’ उनले भनिन्।
अचानक शानिबार (हिजो) प्रहरीले स्कुटर भेटियो लिन आउनु भनेर फोन गरेपछि उनमा खुसीको सिमा रहेन।
यो घटनाबाट उनले २ वटा कुरा बुझिन्। स्कुटर घर अगाडि पार्क गर्दा पनि लक लगाउनुपर्छ र स्कुटर हराएको थाहा पाउनेबित्तिकै रिपोर्ट गरे भेट्न पनि सकिन्छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्राङ्गणमा चावहिलका विश्वराम दंगाल रोकेर राखिएको पल्सर मोटरसाइकलमा दंग परेर बसिरहेका थिए।
उनको कहानी पनि ज्योतीको जस्तै छ। उनले सदाझैं गत पुस ८ गते पनि मोटरसाइकल आफ्नो पसलको छेउमा पार्किङ गरेका थिए।
बेलुका करिब साढे ७ बजेतिर बाइकभित्र राख्न पसल बाहिर निस्किए तर त्यहाँ बाइक थिएन। उनले तत्कालै प्रहरीलाई फोन गरे।
भोलिपल्ट प्रहरीबाट रिपोर्ट ल्याएर ट्राफिक महाशाखामा उजुरी गरे। भेटिने खासै आशा थिएन त्यसकारण ढिलो नगरी बीमाको लागि काम सुरू गरे।
उनी ट्राफिकले भनेझैं ३५ दिनपछि बग्गी खाना पुगे। महाशाखा अगाडि आफ्नो बाइक देख्दा उनको खुसीको सिमा थिएन।
ट्राफिकले उनलाई आज मोटरसाइकल लिन बोलायो। कागजपत्र हातमा लिदैं उनले ट्राफिक प्रहरीलाई धन्यवाद दिए। मोटरसाइकल हराउनु दोष उनी आफैंलाई दिन्छन्।
‘ह्यान्डिल लकको भरमा मोटरसाइकल सुरक्षित हुने होइन रहेछ। डिस्क लक, ह्विल लक पनि लगाउनु पर्ने रहेछ,’ उनले भने।
आइतबार ज्योती र विश्वराम जस्ता २५ जनाले आफ्नो हराएको मोटरसाइकल फिर्ता पाए। महाशाखाको अनुसार हराएकोमध्य निकै थोरै मोटरसाइकल मात्रै भेटिने गरेको छ।
२०७६ साउन १ गतेदेखि माघ २५ गतेसम्म १ हजार १८ मोटरसाइकल र स्कुटर हराएका थिए। जसमध्ये २ सय ६१ ओटा मात्र भेट्टिएर जिम्मा लगाइएको छ। त्यस्तै चोरीमा संलग्न ३० जनालाई अनुसन्धान अघि बढाइएको छ।
विशेषगरी कुनै कार्यक्रम वा असुरक्षित स्थानमा पार्किङ गरिएका महंगा र लक तोड्न सजिलो मोटरसाइकल चोरी हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकालले जानकारी दिए।
‘यस्ता मोटरसाइकल गन्तब्यमा पुर्याउन सकेन भने बिचैमा छोडिदिने रहेछन्। त्यस्तै कतिपयले वर्कसपमा लगेर टुक्राएर पार्ट पुर्जा झिकेर बेच्ने, मोडिफाई गरेर ट्राफिकको उपस्थिति कम हुने गाउँमा पठाउने रहेछन्,’ उनले सेतोपाटीसँग भने।
मोटरसाइकल चोरीबाट जोगाउन सवारी धनी सचेत हुनुपर्ने उनको तर्क छ।
‘गार्ड बस्ने पार्किङ, सिसि क्यामरा भएको स्थानमा पार्किङ गर्नुपर्छ। त्यस्तै ह्यान्डिल लकको मात्र भर नपरी अतिरिक्त लक प्रयोग गरियो भने मोटरसाइकल चोरीबाट जोगाउन सकिन्छ,’ ढकालले भने।