ट्राफिक प्रहरी नभएको बेलामा तपाईंले लेन क्रस गर्नुभएको छ?, कि ‘वान वे’मै गाडी चलाई दिनुभयो ?
ट्राफिक प्रहरीले देखेको छैन भन्दैमा अब ट्राफिक नियम उलंघन गर्नुभएको छ भने ढुक्क नहुनुस्। ट्राफिक प्रहरीले काट्ने जरिवानाकाे चिट हुलाकमार्फत तपाईंको घरसम्मै आइपुग्न सक्छ।
उपत्यका ट्राफिक प्रहरी महाशाखाले २०७४ माघ २५ देखिनै सिसिटिभीबाट निगरानी गरी ट्राफिक नियम उल्लघंन गर्नेलाई कारवाही गरिरहेको छ। महाशाखाले यो प्रणालीलाई अब झनै सशक्त बनाउने भएको छ।
यो प्रणालीलाई अझ चुस्त बनाएर कार्यान्वयनलाई प्रभावकारी बनाउन लागेको उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए। ‘हामी महाशाखामा एउटा कन्ट्रोल रुम बनाएर त्यहाँबाट अनुगमन गर्ने तयारी थालेका छौँ। त्यस्तै प्राविधिक जनशक्ति पनि बढाउने सोचमा छौँ’ ढकालले भने।
महाशाखाको तथ्याङ्क अनुसार हालसम्म १५ हजार १ सय ९० जाना सिसिटिभी फुटेजकै आधारमा कारवाहीमा परेका छन्। चालु आर्थिक वर्षमा मात्रै ७ हजार ८ सय ७९ सवारीसाधन कारवाहीमा परेका छन्।
उपत्यकाभर रहेका १ हजार ६ सय ८४ ओटा सिसी क्यामरामार्फत चालकका गतिविधि निगरानी हुने गरेको उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले बताए।
बढ्दो शहरीकरण र जनशक्तिको अभाव भएका कारण सबै सडकमा ट्राफिक प्रहरी बस्न नपाए पनि सिसिटिभीमार्फत ट्राफिक व्यवस्थापन गर्न सकिने उनको तर्क छ।
‘महानगरीय ट्राफिक प्रहरी कार्यालय रानीपोखरीलाई सबै क्यामरासँग लिङ्क गरिएको छ, नियम उलंघन गरेको चालकको फुटेज ल्याउँछौँ र सवारी साधनको नम्बरको आधारमा यातायात कार्यालयबाट फोन नम्बर लिन्छौँ, फोन गरेर बोलाउछौं। यदी फोन लागेन भने ठेगाना हेरेर चिठी पठाउँछौँ’ ढकालले सेतोपाटीसँग भने।
जनशक्तिको अभावले भने हाल केही समस्या परेको ढकालले बताए। ‘हामी धेरै व्यस्त हुने ठाउँमा निगरानी गरिरहेका हुन्छौं तर कम व्यस्त हुने ठाउँमा सूचनाको आधारमा फुटेज ल्याएर कारबाही अगाडि बढाउँछौँ’ उनले भने।
त्यस्तै महाशाखाले सर्भिलेन्स भेइकल मार्फत पनि ट्राफिक नियम उलंघन गर्नेलाई कारबाही गरिरहेको छ। हालसम्म सर्भिलेन्स भेइकलको फुटेजमार्फत १ हजार ३ सय ३८ चालक कारबाहीमा परेका छन्।