‘कृपया गाडी चढेपछि आफ्नो गन्तव्यसम्मको खुद्रा रकम मिलाएर गाडी चालकलाई दिनुहोला।’ ‘गाडीमा सहचालकको व्यवस्था नभएकोले सिट तथा खाली ठाउँमा आफै मिलेर बसिदिनुहुन अनुरोध छ।’
यही दुई स्लोगन माइकमा बोलेर गंगाराम खाईजुको दिन सुरु हुन्छ। यात्रु पनि आउँछन् गंगारामलाई भाडा तिर्छन र सिटमा बस्छन्। यस्तो प्रणाली थाहा नभएका यात्रुलाई पनि अरुले भनिदिन्छन्।
गंगारामले गाडी चलाउन थालेको १८ वर्षभन्दा धेरै भयो। यो प्रणाली लागू भएको भने असारबाट मात्रै हो। एकदिन उनले आफ्नो साहुलाई भनेछन्, ‘अब सह–चालक नराखुम्। ढोका स्वचालित हुने बनाउनु पर्यो।’
वर्षौदेखि यातायात व्यवसाय गरेका साहुलाई भने गंगारामको कुरा सुन्दा अचम्म लाग्यो। गंगारामले ढोका स्वचालित बनाउन धेरै पैसा नलाग्ने र सह–चालकलाई दिनुपर्ने तलब भत्ता बच्ने कुरा सुनाएपछि साहु पनि राजी भए।
‘ढोकालाई हाइड्रोलिक बनाउँदा महंगो पर्छ। यसैले ड्राइभर सिटमै बसेर हातकै मद्दतले ढोका लगाउन र खोल्न मिल्ने बनाउन लगाएँ’ उनले भने, ‘वयस्क मान्छे गाडीमा सह–चालकको काम गर्न मान्दैनन्।
फेरि सरकारले बालबालिकालाई सह–चालक राख्न पनि दिँदैन। उनीहरुले यात्रुलाई राम्रो व्यवहार नगर्दा त्यसको दोष पनि आफैमाथि आउने। त्यही भएर यो प्रणाली बनाएको हुँ।’
सुरुमा यो प्रणाली यात्रुलाई बुझाउनै गाह्रो भए पनि अहिले धेरैले बुझेको उनले बताए। ‘अहिले त यात्रुहरुले नै हौसला दिनुहुन्छ। कतिपयले त विदेशमा यस्तो प्रणाली देखेको थिएँ, नेपालमा पनि गर्नुभएछ है, भन्नुहुन्छ। त्यस्तो सुन्दा राम्रो काम गरेँ भन्ने लाग्छ,’ उनले भने।
गंगारामले यात्रुको सुविधाको लागि डस्टबिन र न्यापकिन पनि राखिदिएका छन्। ‘यात्रुहरुले खाजा पानी खाएर बाटोमा फाल्नाले हाम्रो शहर फोहोर भएको हो। डस्टबिन राखेपछि यात्रुलाई फोहोर फाल्ने समस्या हुँदैन।
हाम्रो शहरबाट थोरै भए पनि फोहोर कम हुन्छ भन्ने विश्वास छ,’ उनले भने। वर्षौको अनुभवमा यात्रुहरुले धेरै सास्ती खेप्नु परेको उनले बुझेका थिए। अझ बृद्ध र बच्चालाई झनै अप्ठेरो।
यही अप्ठेरोलाई बुझेका उनले गाडीमा पानी र चाउचाउको पनि व्यवस्था गरेका छन्। खान मन लाग्ने यात्रुले २० रुपैयाँ तिर्नुपर्छ। ‘मैले व्यापार गर्ने उद्देश्यले चाउचाउ र पानी राखेको होइन।
धेरैपटक गाडीमा बच्चाहरुले आफ्ना आमा बुवालाई पिरोलेको देखेर राखेको हुँ ’ उनले भने ‘गाडीमा चढेपछि तिर्खा वा भोक लाग्यो भने यात्रुले सहेर बस्नु पर्दैन।’
प्रत्येक व्यक्तिले आफ्नो क्षेत्रबाट स–सानो प्रयास गरे जतिसुकै ठूलो समस्या सुल्झने उनको धारणा छ। सुधारको सुरुवात आफैबाट गर्ने हो। हामीले सुरु गर्यौँ भने त्यसलाई अर्को पुस्ताले अवलम्बन गर्छन् भन्ने उनको विश्वास छ।
गाडीमा सहचालक हुँदा जति धेरै यात्रु नभए पनि यो कामलाई निरन्तरता दिने उनले बताए। ‘२ जना छोराछोरी पढाएकै छु। खान, लगाउन पुगेकै छ। धेरै यात्रु कोचेर पनि के गर्नु,’ उनले भने।