सरकारले सवारी साधन दर्ताका लागि नयाँ व्यवस्था लागू गरेसँगै पुरानो नम्बर भएकाले के गर्ने भन्ने अन्यौल छाएको छ।
मन्त्रिपरिषद्ले अञ्चलको आधारमा दिइने सवारी नम्बर प्लेटलाई हेरफेर गर्दै गत बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ व्यवस्था लागू गर्यो।
सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा भएको नम्बर प्लेट सम्बन्धी पुरानो व्यवस्थालाई हेरफेर गर्दै नयाँ व्यवस्था अनुसार अब दिइने नम्बरप्लेट अञ्चलको आधारमा नभएर प्रदेशको आधारमा हुनेछ।
यसअघि बागमती अञ्चलमा ९९ लटका सबै नम्बर सकिएको र तीन अंकको लट नम्बर दिन सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गर्नुपर्ने भएकाले नयाँ मोटरसाइकल र स्कुटरको दर्ता रोकिएको थियो।
सवारी साधन धेरै दर्ता हुने चाडबाडको समयमा बाग्मती अञ्चलमा दर्ता बन्द भएपछि मोटरसाइकल तथा स्कुटर आयातकर्ता कम्पनीले अरू अञ्चलमा दर्ता गराएर बेचेका थिए।
बिहीबार राजपत्रमा प्रकाशित सूचनाले सवारी दर्ताको बाटो त खोल्यो। तर, अञ्चलमा आधारित पुराना नम्बर प्लेट के हुन्छ भन्ने आम चासो बढेको छ।
पुरानो (अञ्चलमा आधारित) नम्बर प्लेटलाई एकैपटक प्रदेशमा लैजादा भद्रगोल हुने भएकोले अहिलेलाई यथावत हुने यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य कुमार ढकालले जानकारी दिए।
‘एकैपटक लाखौं नम्बर प्लेटलाई प्रतिस्थापन गर्दा भद्रगोल हुन्छ। त्यसैले अहिलेलाई यथावतनै छोड्ने सोच छ’, उनले सेतोपाटीसँग भने, ‘पछि सवारी दर्ताको नविकरण गर्न जाँदा नम्बर प्रदेशमा कन्भर्ट गर्ने तयारी गरेका छौ।’
यदि यो बिचमा इम्बोस्ड नम्बर प्लेट लागू भए सिधै इम्बोस्ड नम्बर प्लेटनै राखिने उनले जानकारी दिए।
‘केही जटिल समस्या उत्पन्न भएर नम्बर प्लेट तुरुन्तै प्रदेशमा लानुपर्यो भने छुट्टै कुरो हो, तर अहिलेसम्मको हाम्रो तयारी भने पुरानालाई अहिले त्यत्तिकै छोड्ने बिचार छ’, ढकालले भने।
नयाँ नम्बर प्लेट भएका सवारी साधन सडकमा गुड्न थालेपछि अब नेपालका सडकमा तीन थरिका नम्बर प्लेटका सवारी साधन हुनेछन्। हाल केही चार र दुई पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेका छन्। सर्वोच्च अदालतमा परेको मुद्दाका कारण इम्बोस्ड नम्बर प्लेटको वितरण हाल रोकिएको छ।
यस्तो हुनेछ नयाँ नम्बर प्लेट
नयाँ व्यवस्था अनुसार अगाडि र पछाडि दुबै नम्बर प्लेटको माथिल्लो लाइनको सुरूमा सवारी दर्ता गर्ने कार्यालयको प्रदेश संकेत र त्यसपछि उक्त प्रदेश भित्रको यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक उल्लेख गर्नुपर्नेछ।
प्रदेशभित्र रहेका यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक यातायात व्यवस्था विभागले तोकेबमोजिम हुनेछ।
अगाडिको नम्बर प्लेटको तल्लो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र सवारी दर्ता नम्बर लेख्नु पर्नेछ।
पछाडिको नम्बर प्लेटको दोस्रो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र तेस्रो लाइनमा सवारीको दर्ता नम्बर लेख्नु पर्नेछ। त्यस्तो सवारी समूह जनाउने अंक आवश्यकताअनुसार ००१ देखि ९९९ सम्म हुनेछ।
त्यस्तै सवारी दर्ता नम्बर बढीमा ४ अंकको (०००१ देखि ९९९९) सम्म हुनेछ। प्रयोगअनुसार दर्ता नम्बर ४ अंक कटेपछि अर्को समूह संकेतको संख्या दिई त्यसमा पनि ०००१ देखि ९९९९ सम्म दिँदै जानु पर्ने छ।
उदाहरणको लागि प्रदेश नम्बर ३ को क्रम संख्या ०१ भएको कुनै सवारी यातायात व्यवस्था कार्यालयमा दर्ता हुने पहिलो समूहको (०००१ देखि ९९९९भित्रको) १२८६ दर्ता नम्बरको निजी मोटरसाइकलको नम्बर प्लेट यस्तो हुनेछ।