सवारी चालक अनुमति पत्र (लाइसेन्स) छाप्ने जिम्मा पाएको मालिका इन्कर्पोरेटले मंगलबारदेखि काम सुरू गरेको छ।
दैनिक २० हजार लाइसेन्स छाप्ने भन्दै मंगलबारदेखि काम सुरू गरेको मालिकाले तोकिएको संख्यामा लाइसेन्स प्रिन्ट गर्न सकेन।
आफूहरूलाई यातायात व्यवस्था विभागले प्रयाप्त डाटा (चालकको व्यक्तिगत विवरण) उपलब्ध नगराएकाले क्षमता अनुरूप काम गर्न नसकिएको मालिका इन्कर्पोरेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले दाबी गरे।
‘हामीसँग दैनिक २० हजार लाइसेन्स छाप्न सक्ने क्षमता छ, तर केही प्राविधिक गडबढीले विभागबाट पर्याप्त डाटा उपलब्ध नहुँदा आज कम संख्यामा छापियो,’ ढकालले सेतोपाटीसँग भने, ‘विभागले उपलब्ध गराएकको डाटा अनुसार हामीले छापेका छौ, केही केहीमा अझै पनि फाइल इरर’ हुने समस्या देखिएको छ, त्यसकारण क्षमता अनुसार लाइसेन्स छाप्न नसकिएको हो।’
लेजर इन्ग्रेभिङ (डढाएर अक्षर उठाउने) प्रविधिको लागि बनाइएको कार्ड थर्मल प्रिन्ट प्रविधि मार्फत छाप्दा केही समस्या आएको विभागका महानिर्देशक लावण्य कुमार ढकालले जानकारी दिए।
‘एउटा सफ्टवेयरका लागि बनाइएको कार्ड अर्को सफ्टवेयरको प्रिन्टरमा छाप्दा केहीमा फाइल इरर हुने समस्या देखिएको हो’, उनले सेतोपाटीसँग भने, ‘इरर आएपछि पुनः चेक गरेर हेर्नुपर्दा केही ढिलाई भएको हो।’
फाइल इरर भएपछि मद्रासबाटै समस्या बुझ्नुपर्ने हुँदा ढिलाई भएको महानिर्देशक ढकालले बताए।