प्रदेशमा उत्पादित कृषिजन्य उत्पादनको बजार व्यवस्थापनमा प्रदेश सरकार लाग्ने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन्।
शुक्रबार राजधानी वीरेन्द्रनगरमा भएको ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले उत्पादित कृषिजन्य वस्तुको विक्रीका लागि चिन्ता नलिन कृषकहरूलाई आग्रह गरे।
कर्णाली प्रदेश कृषि उत्पादनको लागि राम्रो सम्भावना भएको क्षेत्र भएको बताउँदै मुख्यमन्त्री शाहीले फलफुल, पशुपालन, तरकारी र अन्न बालीको व्यवसायिक खेतीमा लाग्नुपर्नेमा जोड दिए। अहिलेसम्म कृषकहरूले निर्वाहमुखी कृषि गर्दै आएकाले अब व्यवसायिक उत्पादनतर्फ लागेर समृद्ध बन्नुपर्ने उनको भनाई छ।
सरकारले भर्खरै ल्याएको नीति तथा कार्यक्रम र बजेटमा समेत कृषिलाई उच्च प्राथमिकतामा राखिएको भन्दै शाहीले कर्णाली प्रदेशको कृषि उत्पादनलाई अर्गानिक कृषि उत्पादनका रूपमा व्यवस्थित गरिने समेत बताए। कर्णाली प्रदेशमा आउने पर्यटकहरूलाई समेत स्थानीय कृषि उत्पादनबाट सन्तुष्ट बनाउनुपर्ने उनको भनाई छ।
‘कर्णाली प्रदेशमा आएका पर्यटकले समेत चिनोको रूपमा कृषि उत्पादन लिने वातावरण बनाउन जरुरी छ,’ मुख्यमन्त्री शाहीले भने,‘सेल्फी खिचेर मात्र पर्यटक फर्किनुमा हाम्रो समृद्धि छैन।’
५ जना कृषक पुरस्कृतयस्तै, व्यावसायिक रूपमा कृषि गरिरहेका कर्णाली प्रदेशका उत्कृष्ट ६ जना कृषकहरूलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको छ।
पुरस्कृत हुनेहरूमा दैलेखका देवेन्द्र कुमार गोदान, सुर्खेतका प्रेमकुमार आचार्य, बाँकेका लालबहादुर सुनार, डोल्पाका रणजित बोहोरा र सल्यानका सुरेश कुमार गाहा मगर रहेका छन्।
उनीहरूलाई जनही २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।