इन्टरनेट सेवा प्रदायक सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबीच बिहीबार एक समारोहमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
शिक्षालाई प्रविधिसँग जोड्ने उद्देश्यसहित भएको सम्झौतामा सजिलो नेटका सिइओ सतिश कार्की र कलेजका क्याम्पस प्रमुख प्रा.डा. हरिकृष्ण श्रेष्ठले हस्ताक्षर गरे।
समारोहमा सिइओ कार्कीले एभरेष्ट कलेजसँगको साझेदारी व्यवहारिक सीप अभाव समाधान गर्ने महत्वपूर्ण कदम भएको बताए।
उनका अनुसार सहकार्य कागजी मात्र नभई साझा दृष्टिकोण र प्रतिबद्धतामा आधारित छ। कलेज प्रमुख प्रा.डा. श्रेष्ठले पनि विद्यार्थीमा व्यवहारिक ज्ञान अभावबारे आउने गुनासोलाई यो सहकार्यले हदसम्म कम गर्ने विश्वास व्यक्त गरे।
कलेजका सिइओ अरुणकुमार भण्डारीले शिक्षामा प्रतिस्पर्धाभन्दा सहकार्य आवश्यक भएको उल्लेख गर्दै देशका लागि दक्ष प्रविधिज्ञ उत्पादनमा यस्तो साझेदारीले योगदान पुर्याउने बताए।
समारोहमा सजिलो नेटका अध्यक्ष प्रकाशमान सिंह जिसी, सीओओ विकास मुडभरी तथा कलेजका बोर्ड सदस्य राजेन्द्र भट्टराईलगायतको उपस्थिति थियो।