सहिद परिवार
सौरन किशोर श्रेष्ठलाई श्रीमती र आमाबुबाले भदौ २३ गते जेनजी आन्दोलनमा नजान पटक पटक आग्रह गरेका थिए।
तर उनले मानेनन्।
'देशमा दिनहुँ भ्रष्टाचार बढिरहेको छ। त्यसविरूद्ध बोल्नुपर्छ, हामी जानुपर्छ भन्यो,' सौरन बुबा बसन्तले भने, 'झोलामा बिस्कुट, चाउचाउ र रूमाल बोकेर आन्दोलनमा गएको थियो। फर्किएन।'
सौरनले जिद्दी गरेपछि कसैले रोक्न सकेनन्।
आन्दोलनमा भिडभाड भयो भने प्रहरीले अश्रुग्यास, पानी हान्ला तर गोली नै त नचलाउला भन्ने बसन्तलाई लागेको थियो। त्यही सोचेर बसन्तले चित्त बुझाए।
भदौ २२ गते बाबुछोराको लामै कुराकानी भएको थियो। २३ गते भने कुराकानी भएन।
६३ वर्षीय बसन्त र उनकी ६० वर्षीया श्रीमती निरू छोरी भेट्न साढे तीन महिनाअघि मात्र अमेरिका पुगेका थिए। त्यसैले बसन्त अमेरिकामा बसेर जेनजी आन्दोलनमा के के भइरहेको छ भनेर सामाजिक सञ्जालमा हेरिरहेका थिए।
'भदौ २३ गते दिउँसो सामाजिक सञ्जालमा खबर हेर्दै गर्दा एक्कासि मृत्यु हुनेमा छोराको नाम सुनेँ,' बसन्तले भने, 'आफन्त र साथीभाइसँग बुझ्दा मृत्यु भएको अपुष्ट खबर आयो।'
३८ वर्षीय सौरनकी श्रीमती नेपालमै थिइन्। तर उनले पनि केही खबर पाएकी थिइनन्। बसन्तले सबैतिर सोधपुछ गर्दा मृत्यु भएको भन्ने कुरा मात्र आइरहेको थियो।
साँझतिर सौरनको मृत्यु भएको पुष्टि भयो। त्यसपछि बसन्तले निरूलाई केही नभनी नेपाल फर्किने तयारी गरे।
'श्रीमतीलाई छोराको मृत्यु भएको खबर नसुनाई भदौ २५ गते बुधबार काठमाडौं आएँ,' उनले भने, 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तहरू भेटेपछि श्रीमतीले छोराको मृत्यु भएको थाहा पाइन्।'
उनी विमानस्थलमै बेहोस भइन्।
सोधपुछ गर्दा सौरनलाई नयाँबानेश्वरको दक्षिण गेटमा साढे दुई बजेतिर गोली लागेको जानकारी आयो।
उनलाई गोली लागेर सुरूमा सिभिल अस्पताल पुर्याइएको थियो। त्यति बेला उनी अलिअलि बोल्न सक्ने अवस्थामा रहेको साथीहरूले बसन्तलाई बताएका थिए।
'सिभिल अस्पताल लैजाँदै गर्दा सौरनले नै श्रीमतीको नम्बर साथीहरूलाई दिएको भन्ने सुनेँ,' बसन्तले भने।
अवस्था गम्भीर भएपछि उनलाई सिभिल अस्पतालले काठमाडौं मेडिकल कलेजमा रिफर गरेको थियो।
'केएमसी पुर्याएको साढे २ घन्टापछि मृत घोषणा गरिदियो रे,' बसन्तले भने, 'छोरालाई छातीको दाहिने भागतिर दुई गोली लागेको थियो।'
केएमसीले नै उनको साथीहरूबाट नम्बर लिएर सौरनकी श्रीमतीलाई फोन गरेर मृत्यु भएको जानकारी दिएको उनको भनाइ छ।
बसन्त र निरू नेपाल आइपुग्दा सौरनको शव टिचिङ अस्पतालमा राखिएको थियो। उनीहरूले त्यहीँ गएर शव हेरे। भदौ ३० गते पशुपतिमा लगेर अन्त्येष्टि गरे।
'नेपालमै काम गर्छु भनेर विदेशबाट आएको थियो तर सरकारले ज्यान लियो,' बसन्तले भने, 'मेरो छोरामाथि गोली चलाउने र आदेश दिनेलाई कारबाही होस्।'
सौरन ५ वर्ष कोरिया बसेर २०७५ जेठमा फर्केका थिए। २०७५ फागुनमा उनको बिहे भयो।
उनले विभिन्न ठाउँमा जागिर खोजे। तर टिकाउ काम कतै भेटेका थिएनन्। काम खोज्दै हिँड्दा उनले धेरै कुरा भोगेको बसन्तले बताए।
'जताततै भ्रष्टाचार, नातावाद देखेर छोरा वाक्क भएको थियो। त्यसैले फेरि कोरिया वा अन्य देश जाने सोच्दै थियो,' बसन्तले भने, 'भ्रष्टाचार र नातावाद देखेर वाक्क भएकाले ऊ त्यस दिन आन्दोलनमा आवाज उठाउन गएको थियो।'
उनले थपे, 'नभए अहिलेसम्म त्यस्तो आन्दोलन तथा कुनै कार्यक्रममा गएको थाहा छैन। कुनै राजनीतिक पार्टीमा पनि आबद्ध थिएन। भदौ २३ गते भने बोल्नैपर्छ भनेर गएको थियो।'
सरकारले छोरालाई सहिद घोषणा गरेर क्षतिपूर्ति दिए पनि गोली चलाउनेलाई कानुनी कारबाही नगरेसम्म आफूहरूले न्याय नपाउने उनले बताए।
'जेनजीकै रगतमा बनेको सरकारले गोली चलाउनेलाई कारबाही नगरे केही अर्थ छैन,' उनले भने, 'भदौ २४ गते बिहान सडकमा उठ्दा प्रधानमन्त्री सुशीला कार्कीले गोली चलाउनेलाई कारबाही गर्नुपर्छ भनेकी थिइन्। जेनजी सहिद परिवार संघर्ष समितिले सरकारसँग वार्ता गरिरहेको छ। माग पूरा हुने आशा छ।'