मनसुनपछिको अवस्था अब केही दिन मात्र बाँकी छ। यो अवधिमा पानी कम पर्छ। हिलो सुक्ने र घमाइलो वातावरण हुने भएकाले शरद–हेमन्त ऋतुको सौन्दर्यको विम्बसमेत मानिन्छ।
पहारिलो घामले ढाड सेक्न पाइन्छ। खेतीबारी र अरू निर्माणका काम गर्न उतिसारो कठिन पनि हुँदैन।
तर काठमाडौंको मौसम कहाँ यस्तो छ र!
१५–२० वर्ष अघिका दिन सम्झनुहुन्छ भने काठमाडौंलाई बिहान १० बजेसम्म भुइँकुहिराले छपक्कै ढाक्थ्यो। जमिन तात्दै गएपछि भुइँमा लडीबुडी खेलिरहेका भुइँकुहिरा माथिमाथि उडेर आकाशमै अलप हुन्थे।
कहिलेकाहीँ शिवपुरी, फुलचोकी, चन्द्रागिरि, नागार्जुनतिरका जंगल पनि विचरण गरिरहेका हुन्थे। तिनीहरूको बेग्लै छटा बन्थ्यो।
अहिले त पर्यावरण बदलिइहाल्यो! काठमाडौंले कहाँ भुइँकुहिराको संगत पाउनु!
चन्द्रागिरि, शिवपुरी र पूर्व चाँगुनारायण, साँगा, जहरसिंह पौवाबाट देखिने हुस्सु, कुहिरोभित्र हराएको काठमाडौंको चित्ताकर्षक दृश्य अब स्मृतिमा मात्र गुँडुल्किइरहेछन्। र, हामीलाई न्यानो बनाइरहेछन्।
ओहो दुई दशकमै कस्तरी फेरियो काठमाडौंको दृश्य! काठमाडौंको हुस्सुको लोभलाग्दो चित्र!
काठमाडौंमा लाग्ने शीतकालीन हुस्सुको घुम्टो रातारात ठडिएका ठूला महलले मात्रै विस्थापित गराइदिएन। धुवाँ, धूलोले पनि निलिदियो।
अचेल काठमाडौंको वायुमण्डलमा धुवाँ–धूलोको साम्राज्य छ। जथाभाबी भत्काइएका सडक। बाह्रैमास चलिरहने बिगार्ने, भत्काउने उपक्रम। बेलगाम कुद्ने सवारी साधन। तिनले बेपरवाह फाल्ने कालो धुवाँको मुस्लो। यी सबैले काठमाडौंको वायुमण्डल धूलोमैलो बनाउन भूमिका खेलिरहेका छन्।
साँझपख ती धुवाँधुलो हामीले सास फर्ने वायुमण्डलको तहसम्म आइपुग्छन्। राति शीत पर्न थालेपछि त झन् तलै आउँछन्। जमिनको सतह पनि चिसो हुन्छ। उक्त चिस्यानमा पानी ससाना कण पनि हुने भइहाले।
वायुमण्डलमा धूलो–धुवाँ हुँदैनथ्यो भने शीतल सोस्ने माध्यम पनि हुँदैनथ्यो। अनि ती सिधै जमिनमा आइपुग्थे र हुस्सुको रूप धारण गर्थे। घाम लागेपछि माथि माथि जान्थे र तिनीहरूको चक्र पूरा हन्थ्यो। हुस्सुको सौन्दर्य पनि जीवित रहन्थ्यो!
यसरी चक्र पार गर्न नपाउँदा शीतले ढाडिएको धुवाँ, धूलोका कण बिहानीपख हामीले सास फेर्ने वायुमण्डलमै हुन्छन्। यिनीहरू घातक, विषाक्त मानिन्छन्। घाम नलाग्दासम्म वायु प्रदूषित देखिने त्यही कारण पनि हो।
विश्वभरका सहरहरूको वायुको गुणस्तर अनुगमन गर्ने प्रणाली आइक्यु एयरले जनाएअनुसार अहिले बिहान काठमाडौंको वायु शुद्धता सूचकांक (एक्युआई) १६९ पुगेको छ। एक्युआई १६९ हुनुले हावाको गुणस्तर अस्वस्थ छ भन्ने झल्काउँछ। केटाकेटी-वृद्धवृद्धा र स्वासप्रश्वाससम्बन्धी बिरामीका लागि यो संवेदनशील मानिन्छ।
बिहानी र साँझको वायुको गुणस्तर कमजोर हुनाले शीतकालमा मर्निङ र इभिनिङ वाक नगर्न विज्ञहरूले सुझाव दिएका छन्।
काठमाडौं उपत्यकामा घाम लाग्ने थालेपछि मात्रै धुवाँधुलो माथिमाथि उड्न थाल्छन्। यसरी उड्ने धुवाँधूलोलाई दिउँसोतिर चोभारगल्छी, चन्द्रागिरि, मुड्खु हुँदै बहेर आउने हावाले 'फ्लस' गर्छ। पछिल्लो समय हावा त्यसरी नआउँदा वातावरण सफाइ हुन सकेको छैन। धुवाँमाथि धुवाँ, धूलोमाथि धूलो थुप्रिइरहेका छन्।
त्यसैले त विज्ञहरू काठमाडौंमा घाम लागेपछि मात्रै हिँडडुल गर्न सुझाउँछन्।
हेर्नुहोस् अहिले बिहानको काठमाडौंको दृश्य —
-1764045613.jpeg)
-1764045613.jpeg)
-1764045611.jpeg)
-1764045611.jpeg)
-1764045610.jpeg)
-1764045609.jpeg)
-1764045609.jpeg)
-1764045608.jpeg)
-1764045608.jpeg)