नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै मंगलबार जारी गरेको विज्ञप्तिको सम्पादित अंश —
देशको असाधारण परिस्थितिबीच यही २०८२ मंसिर २७–२९ मा नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन आयोजना हुँदैछ। गत २०८२ भदौ २०–२२ मा सम्पन्न दोस्रो विधान महाधिवेशनले पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन र विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको हामीलाई स्मरण नै छ।
भदौ २३ पछिको अवस्था र २२ अघिको परिस्थितिमा ठूलो भिन्नता आएको हामीले बुझ्नुपर्छ। हिजोका हाम्रा कतिपय निष्कर्षलाई नयाँ सन्दर्भमा अद्यावधिक गर्न आवश्यक छ। मार्क्सवादीहरू वस्तुवादी हुने गर्छन्। मनोगत आग्रहले क्षणिक सन्तुष्टि त दिन सक्ला, तर वस्तुगत यथार्थबिनाको निष्कर्षले झन् ठूलो संकट र अन्योलमा पुर्याउँछ। तसर्थ सबैलाई वस्तुवादी भएर परिस्थिति बुझ्न र सही निष्कर्षका साथ नेपाली समाजलाई दिशानिर्देश गर्न आग्रह गर्छु।
मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गरेको हाम्रो पार्टी नेकपा एमालेको आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा विधान महाधिवेशनपछि उत्पन्न असाधारण परिस्थितिको वस्तुगत विश्लेषण गरी सही नीति निर्धारण गर्न, नयाँ चुनौती सामना गर्न सक्षम हुने गरी पार्टी संगठन पुनर्गठन गर्न, बलियो राष्ट्रिय शक्ति निर्माणमा सही तरिकाले अगुवाई गर्ने नेतृत्व निर्माण गर्न उच्च विवेक, अटल आत्मविश्वास र क्रान्तिकारी आशावादका साथ सक्रिय सहभागिताका लागि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्छु।
शान्तिपूर्ण र वैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गर्दै समानता र सामाजिक न्यायसहितको समाजवादको आधार निर्माण गर्नु जनताको बहुदलीय जनवादको मुख्य कार्यदिशा हो।
जननेता कमरेड मदन भण्डारीको अगुवाईमा स्थापित नेपाली विशेषता र मौलिकतामा आधारित जनताको बहुदलीय जनवादको कार्यान्वयनमा हाम्रो पार्टीले विगतमा प्राप्त गरेको अनुभवको वस्तुनिष्ठ समीक्षा हुन आवश्यक छ। जनताको बहुदलीय जनवादले भनेजस्तै गरी कति अघि बढ्न सक्यौं, यसबारे स्वयं समीक्षा गर्न आवश्यक छ।
म जनताको बहुदलीय जनवादका विगत ३३ वर्षका अभ्यास र अनुभवहरूको समीक्षा गर्दै जबजलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्न तमाम कमरेडहरूमा अपिल गर्दछु। यसका लागि महाधिवेशनपश्चात पार्टी स्कुल विभाग र नीति अध्ययन प्रतिष्ठानको आयोजनामा देशव्यापी अन्तर्क्रिया, छलफल, गोष्ठी आयोजना गर्ने, अन्तर्राष्ट्रिय अनुभवहरूको अध्ययन गर्ने, बौद्धिक तथा राजनीतिक व्यक्तिहरूसँग समेत छलफल र अन्तर्क्रिया गर्न हामी प्रतिबद्ध छौं।
पार्टी पंक्ति, शुभेच्छुक एवं आमसाधारणबीच विचारको बहस चलाउने, सुझाव संकलन गर्ने र संकलित सुझाव सुनुवाइ गर्ने व्यवस्था मिलाइनेछ। राज्य, नेपाली समाज र पार्टीको लोकतान्त्रीकरण जबजको आधारभूत पक्ष हो। २१औं शताब्दीको खुला समाजमा प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने नीति हामीले अंगीकार गरेका छौं।
विश्व कम्युनिस्ट आन्दोलनका अनुभवबाट सिक्दै सक्रियता, पहल र प्रतिस्पर्धाको माध्यमबाट पार्टीमा नेतृत्व विकास गर्ने बाटो हामीले स्वीकार गरेका छौं।
पार्टीको सार्वभौमिकता पार्टी सदस्यहरूमा निहित हुनुपर्छ। नीति र नेतृत्व छनोटमा पार्टी सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्छ। व्यक्तिको योग्यता अनुसार जिम्मेवारी, जिम्मेवारी अनुसार कार्यसम्पादन र कार्यसम्पादन अनुसार मूल्यांकन गरिने परिपाटी हुनुपर्छ। संसदीय फाँटका उम्मेदवारको छनोटमा पार्टी सदस्य र आमनागरिकको अभिमतलाई आधार मान्नुपर्छ।
समानुपातिक उम्मेदवार तथा लाभका अवसरहरूमा श्रमिक वर्गीय पक्षधरता, विषय विज्ञता, पार्टीप्रतिको प्रतिबद्धता, स्वच्छ छवि र आचरणलाई आधार मानेर स्पष्ट र पारदर्शी मापदण्ड कार्यान्वयनमा ल्याउनुपर्छ। पार्टीका तहगत अधिवेशन र जनसंगठनका अधिवेशनमा उच्चतम् सहमतिको प्रयत्नका साथै प्रतिस्पर्धालाई मर्यादित, स्वच्छ र पारदर्शी बनाउनुपर्छ।
राज्यमा शक्ति पृथकीकरण तथा शक्ति सन्तुलनको सिद्धान्तजस्तै पार्टीमा जबजको मान्यता अनुरूप नियन्त्रण र सन्तुलनको सिद्धान्त कार्यान्वयन गरिनुपर्छ। त्यसका लागि विधानमा स्पष्ट व्यवस्था गर्नुपर्छ।
पार्टीका केन्द्रीय निकायहरू—अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगलाई महाधिवेशनप्रति जबाफदेही हुनेगरी स्वयत्तता प्रदान गर्नुपर्छ। ती निकायले गरेका सिफारिस पार्टीका सम्बन्धित निकायहरूले अनिवार्य कार्यान्वयन गर्नुपर्छ। तिनै निकायको संरचना प्रादेशिक तहमा समेत प्रदेश अधिवेशनमार्फत निर्वाचित गर्नुपर्छ। आन्तरिक प्रतिस्पर्धालाई निषेध र प्रतिशोधबाट मुक्त गरिनुपर्छ।
प्रतिस्पर्धाको परिणामलाई सर्वस्वीकार्य गर्ने उच्चतम लोकतान्त्रिक संस्कार विकास गरिनुपर्छ। कमरेडली भावनाका साथ सहभागिता र सहकार्यको व्यवहार विकास गरिनुपर्छ। निर्वाचनपछि पनि प्रतिस्पर्धीबीच सँगसँगै काम गर्ने संस्कृतिको विकास गरिनुपर्छ।
पार्टीका आन्तरिक कार्यविभाजन र संसदीय तथा राजकीय जिम्मेवारीमा न्यायोचित र पारदर्शी मापदण्ड लागु गरिनुपर्छ। 'नीतिमा आबद्धता : संगठनमा स्वायत्तता' को नीति अनुरूप जनसंगठनलाई परिचालित गरिनुपर्छ। जनसंगठनलाई वर्गीय, सामुदायिक तथा पेसागत क्षेत्रको नेतृत्वदायी संगठनका रूपमा स्थापित गर्नुपर्छ। स्वच्छ र पारदर्शी प्रतिस्पर्धाबाट नेतृत्व निर्वाचनको प्रक्रिया अवलम्बन गर्नुपर्छ।
पार्टी नेताहरूको स्वार्थ र गुटबन्दीबाट जनसंगठनहरूलाई मुक्त गर्दै सम्बन्धित क्षेत्रमा योग्य पार्टी कार्यकर्ताको निर्माण तथा जनसम्बन्ध विस्तारमा परिचालित गर्नुपर्छ। पार्टी र जनसंगठनको हरेक कमिटीमा नवयुवाहरूको प्रतिनिधित्वको ग्यारेन्टी गर्नुपर्छ।
महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, थारू, अल्पसंख्यक तथा अपांगता क्षेत्रको सम्मानजनक प्रतिनिधित्वको व्यवस्था गर्न गरी विधानमा आवश्यक संशोधन गर्नुपर्छ।
वर्तमान पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीको लोकतान्त्रीकरणका सम्बन्धमा पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नुभएको, आठौं, नवौं र दसौं राष्ट्रिय महाधिवेशनले स्वीकार गरेको अवधारणालाई नयाँ सन्दर्भमा थप परिमार्जन गरी लागू गरिनुपर्छ। यसअन्तर्गत पार्टीको मुख्य नेतृत्वमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनःस्थापित गरिनुपर्छ। नेतृत्व विकास र हस्तान्तरणको सहज प्रक्रियालाई कार्यान्वयन गरिनुपर्छ।
निर्वाचनमा अन्तरघात गर्ने, पार्टी अनुशासन उल्लंघन गर्ने, राज्यका कानुनबाट दण्डित हुने प्रकृतिका घटनामा संलग्नहरूलाई कारबाही गरिनुपर्छ। निर्णयउपर पुनरावेदन गर्ने व्यवस्था मिलाइनुपर्छ।
पार्टीको लेखा प्रणालीलाई पारदर्शी बनाइनुपर्छ। आर्थिक अनुशासनलाई उच्च महत्व दिनुपर्छ। अधिवेशनप्रति जबाफदेही हुने गरी केन्द्र र प्रदेश स्तरमा लेखा आयोग गठन गरिनुपर्छ। लेखा परीक्षण प्रतिवेदन वार्षिक रूपमा सार्वजनिक गरिनुपर्छ। सल्लाहकार समितिबाट नियमित रूपमा सुझाव–सल्लाह लिने व्यवस्था गरिनुपर्छ।
गैरआवासीय नेपाली तथा प्रवासी नेपाली मञ्चहरूसँग पुँजी, प्रविधि, सीप र ज्ञान हस्तान्तरण लागि सहकार्य गरिनुपर्छ। थिंक ट्यांकमार्फत नियमित रूपमा विचार तथा सुझाव प्राप्त गर्ने संयन्त्र स्थापना गरिनुपर्छ। सम्पर्क समिति तथा मञ्चहरूलाई पार्टी निर्माण, जिल्लाको पार्टी काम तथा जनसम्बन्ध विस्तारका काममा प्रभावकारी रूपमा परिचालित गरिनुपर्छ। पार्टी र राज्य सञ्चालनसम्बन्धी नीति निर्माणमा पार्टीका विभागहरूलाई थिंक ट्यांकका रूपमा क्रियाशील गरिनुपर्छ।
नेता, कार्यकर्ता, सदस्य र नागरिकबीचको सम्बन्धलाई आस र त्रासको छायाबाट मुक्त गरी आपसी विश्वास र आत्मीय सम्बन्धमा रूपान्तरण गरिनुपर्छ। पार्टी कार्यक्रम तथा नेताहरूमा देखिने तडकभडकपूर्ण जीवनशैली अन्त्य गरी सादा र जनपक्षीय जीवनशैलीमा जोड दिनुपर्छ। हरेक तहको पार्टी कमिटीलाई सम्बन्धित तहको पार्टी काम, सामाजिक तथा जनकार्यमा पूर्ण जबाफदेही बनाइनुपर्छ।
सारमा, नेकपा एमालेलाई आम जनसमुदाय र पार्टी सदस्यहरूले गौरव गर्नलायक राजनीतिक संस्थाका रूपमा विकास गरिनुपर्छ। पार्टी र जनसंगठनका हरेक तहमा नवयुवा, युवा र पाका पुस्ताको सम्मानजनक सहभागिता गराउनुपर्छ।
चार दशकभन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गर्नुभएको पार्टीका पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले राष्ट्रपति जस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्केर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय हो। पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा–हुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई वैचारिक रूपमा थप सशक्त, सांगठनिक ढंगले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ।
तसर्थ, उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ।
म स्कुले जीवनदेखि न्याय, समानता र स्वतन्त्रताप्रति समर्पित भएर यहाँसम्म आइपुगेको छु। मधेसको तातो घामदेखि हिमालको चिसो सिरेटोसम्मका भूगोलमा पार्टी निर्माणमा क्रियाशील हुँदै मैले मूल्यवान अनुभव र शिक्षा हासिल गरेको छु। सामाजिक रूपान्तरण, व्यवस्था परिवर्तन र पार्टी निर्माणका क्रममा लामो र कठोर भूमिगत जीवन बिताएको छु। जेलनेल भोगेको छु, यातना सहेको छु। संसदीय र राजकीय जिम्मेवारी सम्हालेको अनुभव छ।
नेपालको लोकतान्त्रिक आन्दोलन र नेकपा एमालेको निर्माण मेरा लागि जीवनमा कहिल्यै नभुल्ने पाठशाला र विश्वविद्यालयका रूपमा रहेका छन्। लाखौं जनसमुदाय र हजारौं पार्टी सदस्यहरूको न्यानो माया र स्नेही व्यवहारप्रति म सदैव ऋणी तथा कृतज्ञ छु। राष्ट्र, जनता र पार्टीलाई सदैव शिरमा राखेको छु। जीवनका उतारचढावहरूमा इमान र निष्ठालाई कहिल्यै डगमगाउन दिएको छैन। यही नै मैले आर्जन गरेको नैतिक बल हो।
शक्तिमा होइन, विधि, समन्वय, सामूहिकता र सहकार्यमा म विश्वास राख्छु। पार्टी निर्माणसम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारका रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु। पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ।
पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रूचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न म प्रतिबद्ध छु।
पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। अभिभावकीय भूमिकामार्फत् सहज निकासका लागि पार्टी अध्यक्ष कमरेडलाई अनुरोध गर्छु।
यति बेला नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन तयारीका कामहरू सुरू भएका छन्। पार्टी सदस्यहरूको प्रत्यक्ष सहभागितामा यही मंसिर १३ गते देश तथा प्रवासमा महाधिवेशनका प्रतिनिधि चयन हुँदैछ।
माथि उल्लिखित विषयमा गम्भीर हुँदै प्रतिनिधि छनोटमा उच्च विवेकको प्रयोग, स्वस्थ, मर्यादित र निर्भयताका साथ सक्रिय सहभागी हुन पार्टी सदस्य कमरेडहरूलाई हार्दिक आह्वान गर्छु। पार्टीको रक्षामार्फत नेपाल राष्ट्रको रक्षा तथा नेपाली जनताको हित रक्षालाई सर्वोपरी मानेर अघि बढ्नु हामी सबैको साझा दायित्व हो। यो ऐतिहासिक जिम्मेवारीलाई सबैले मनन गरौं।
आन्तरिक लोकतन्त्र समृद्ध भएको पार्टीले मात्र लोकतान्त्रिक समाजको निर्माण र नेतृत्व गर्न सक्छ। महाधिवेशनसमक्ष प्रस्तुत गर्ने राजनीतिक तथा सांगठनिक दृष्टिकोणको विस्तारित दस्तावेज निकट भविष्यमा सार्वजनिक गर्नेछु। सबैको साथ र सुझावको अपेक्षा गर्छु।
***