उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेसनलट्रेडिङ लिमिटेडलाई व्युँताउने प्रस्ताव गरेको छ। मन्त्रालयले खाद्य संस्थान र व्युँताइएको नेसनल ट्रेडिङलाई गाभेर नयाँ कम्पनी खडा गर्ने प्रस्ताव गरेको हो।
मन्त्रालयले खाद्य संस्थान र नेसनल ट्रेडिङलाई गाभेर एउटै कम्पनी तयार पार्ने प्रस्ताव सरकारको नीति तथा कार्यक्रममा पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयसमक्ष प्रस्ताव गरेको हो। यद्यपी मन्त्रालयको प्रस्तावमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयले कुनै निणर्य गरेको छैन।
आपूर्ति मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद पौडेलले दुई संस्थानलाई गाभेर नयाँ कम्पनी खडा गर्ने प्रस्ताव नीति तथा कार्यक्रममा समावेश गर्न सिफारिस गरिएको बताए।
‘मन्त्रालयको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयसमक्ष प्रस्ताव पेश गरेका छौँ। यदि नीति तथा कार्यक्रममा समावेश भएन भने बजेटमा नयाँ कम्पनी खडा हुने कुरा आउँछ’ पौडेलले भने।
घाटा चुलिँदै गएर सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै तत्कालिन शेरबहादुर देउवाको सरकारले गत माघमा नेसनल ट्रेडिङ खारेज गर्ने निर्णय गरेको थियो।
तर मन्त्रालयले करिब तीन महिनापछि नेसनल ट्रेडिङलाई नयाँ स्वरुपमा पुनः सञ्चालन गर्ने प्रस्ताव गरेको छ।
यसरी बन्ने नयाँ कम्पनीलाई चामल, तेल, दाल, मल, चिनी विभिन्न १० अत्यावश्यक वस्तुको आयात गरी देशभर विक्री वितरण गर्ने जिम्मा दिने योजना मन्त्रालयको छ।
हाल खाद्य संस्थानले खाद्य वस्तु खरिद, संकलन, सञ्चय तथा वितरण गर्ने जिम्मा पाएको छ। सरकारले तोकेको २३ दुर्गम क्षेत्रमा अनुदानको खाद्यान्न आपूर्ति गर्ने जिम्मा पनि यस संस्थानले लिएको छ।
देशभरका कार्यलयमार्फत सस्ंथानले धान, चामल, गहुँ, कर्णालीको सिमी, फापर लगायतका वस्तु विक्री वितरण गर्दै आएको छ।
तर नेसनल ट्रेडिङ भने खारेज हुनुपूर्वका केहि वर्षसम्म कामविहिन अवस्थामा रहेको थियो। स्थापनाको लामो समयसम्म कम्पनीले मल, चिनी, मदिरा, ग्यास लगायतका वस्तु अपूर्ति गरी विक्री गर्दे आएको थियो। पछिल्लो समय संस्थानले चीनले अनुदानमा उपलब्ध गराएको इण्डक्सन चुलो विक्री गरेको थियो।
बढ्दै गएको ऋण तथा सबै कर्मचारीलाई अवकाश दिनलाई नेसनल ट्रेडिङले टेकुमा रहेको ५० रोपनी जग्गा बेच्नुपरेको थियो। टेकुको जग्गा बेचेपनि ट्रेडिङको काठमाडौं, विराटनगर, बीरगञ्ज, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत, महेन्द्रनगर लगायतका स्थानमा जग्गा छ।
जग्गा, भवन, गोदाम सबै जोड्ने हो भने ट्रेडिङसँग देशभर करिब २५ अर्ब बराबरको सम्पत्ती छ। यी सबै संरचनालाई पुनः प्रयोगमा ल्याउने गरी मन्त्रलायले नयाँ कम्पनीको प्रस्ताव गरेको हो।
‘नेसनल ट्रेडिङको देशभर जग्गा तथा गोदामहरु छन् जुन अहिले प्रयोगबिहिन अवस्थामा रहेका छन्। त्यसको समुचित उपभोग हुने गरी नयाँ कम्पनीको मोडलमा जान लागेका हौँ’, पौडेलले भने।
पौडेलले यसअघिको असफलताबाट पाठ सिक्दै नयाँ कम्पनीमार्फत प्रभावकारी कार्य सम्पादन गर्ने गरी कार्ययोजना समेत तयार गरिएको दाबी समेत गरे।
पौडेलले नयाँ बन्ने कम्पनी प्रादेशिक संरचना अनुसारको हुने समेत बताए। ‘यसरी बन्ने कम्पनीले प्रादेशिक संरचनाको ढाँचामा लान्छौँ। यसले स्थानिय तहसम्म पुर्याइ प्रभावकारी सेवा प्रवाह गर्ने गरी कार्ययोजना मन्त्रालयले बनाइरहेको छ’, पौडेलले भने।