ललितपुर ठैवका जयराम सुवेदी ट्याक्सी चढिरहन्छन्। कामका क्रममा साँझ अबेरसम्म बाहिर रहनुपर्ने र ८ बजेपछि घर जाने बस नपाइने भएकाले ट्याक्सी चढ्नुपर्ने सुवेदीको बाध्यता हो।
अधिकांश समय ट्याक्सी चढिरहने सुवेदीले आजसम्म बिल भने लिएका छैनन् । ‘ट्याक्सी त चढिरहेकै हुन्छु, तर बिल पनि पाइन्छ र?’ सुवेदीले अनविज्ञता प्रकट गरे।
सरकारले ट्याक्सीमा अनिवार्य मिटर तथा प्रिन्टर जडानको व्यवस्था गरेसँगै चालकले यात्रुलाई अनिवार्य रुपमा बिल दिनुपर्ने हुन्छ। बिल पाउनुपर्ने यात्रुको अधिकार हो। तर पर्याप्त जानकारीको अभावमा यात्रुले बिल माग्ने गर्दैनन्। त्यस्तै चालकले पनि यात्रुले नमाग्दासम्म बिल दिने गर्दैनन्।
ट्याक्सी चढेर मिटरमा जाँदा पाइने बिलमा यात्रा गरेको अवधि तथा दुरी लेखिएको हुन्छ। यसरी यात्रुले तय गरेको दुरीका आधारमा उसले तिर्नुपर्ने भाडासमेत बिलमा खुलाइएको हुन्छ।
ट्याक्सी नम्बर, चालकको नाम र सम्पर्क ठेगाना समेत लेखिएको हुन्छ। यसो हुँदा ट्याक्सीमा यात्रा गर्दा कुनै सामान छुटेमा चालकलाई सिधै सम्पर्क गर्न सकिन्छ भने ठगी सम्भावना पनि कम रहन्छ।
नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार काठमाडौं उपत्यकामा १० हजार ५ सय ट्याक्सी दर्ता भएका छन्। यी सबै ट्याक्सीमा मिटरको व्यवस्था गरिएको छ।
त्यस्तै यात्रु नठगिउन् भन्दै विभागले गत वर्षको पुसदेखि सबै मिटर ट्याक्सीमा प्रिन्टर जडानको व्यवस्था अनिवार्य गरेको छ। विभिन्न कम्पनीमार्फत लगभग सबैजसो ट्याक्सीमा विभागले प्रिन्टर जडान गराइसकेको छ।
प्रिन्टर नभएका ट्याक्सीको नवीकरण नगर्नेसम्मका व्यवस्था विभागले गरेको छ। तर प्रिन्टर जडानलाई जोड दिइए पनि बिल दिनुपर्ने व्यवस्था कार्यान्वयन हुन सकेको छैन।
सरकारले रिङरोडको २ किलोमिटर वरपरसम्म मिटरमा गुड्नै पर्ने भन्दै ‘फ्ल्याग डाउन’ (टयाक्सी चढेबापतको शूल्क) १४ रुपैयाँ तथा हरेक किलोमिटरको ३६ रुपैयाँका दरले भाडा निर्धारण गरेको छ।
हालको भाडादर विगत ५ वर्षअघिको भएको र त्यसपछि इन्धनको मूल्य धेरै बढेको भन्दै सोही दरमा ट्याक्सी गुडाउन नसकिने व्यवसायीको भनाई छ।
बिल दिँदा धेरै रकम अशुल्न नपाइने भएकाले व्यवसायीले प्रिन्टर बिग्रिएको बहानामा बिल नदिने गरेको पाइन्छ। स्वयम् व्यवसायीहरुले नै निर्धारित भाडादरमा ट्याक्सी चलाउन नसकिने बताउनुले यही कुरालाई स्पष्ट पार्दछ।
विगत १६ वर्षदेखि काठमाडौंमा ट्याक्सी सञ्चालन गर्दै आएका सिन्धुलीका कृष्ण थापाले प्रिन्टरले काम नगर्ने भएकाले यात्रुलाई बिल नदिएको बताए।
विभागले भनेकै कम्पनीबाट प्रिन्टर जडान गराएको तर कमसल परेकाले काम गर्न छोडेको उनको दावी छ। ‘प्रिन्टर जडान गर्र्नै पर्छ भनेपछि हामीले गर्यौँ। तर विभागले भनेकै कम्पनीले कमसल सामान भिडायो। ६ महिना चल्यो त्यसपछि बिग्रियो। मैले कसरी बिल दिनु?’ थापाले भने।
प्रिन्टर बिग्रिएको बताउने ट्याक्सी चालक थापा एक्ला भने हैनन्। नेपाल मिटर ट्याक्सी व्यवसायी महासंघका अध्यक्ष अर्जुन गौतमका अनुसार राजधानीमा गुड्ने करिब १५ प्रतिशत ट्याक्सीको प्रिन्टर मेसिनले काम गर्दैनन्।
गौतमले केही साथीको प्रिन्टर कमसल परेकाले काम नगरेको भन्दै अन्य सबैले भने बिल दिइरहेको दाबी गरे। ‘केहीले प्रिन्टर बनाएर चलाउँदा पनि पुनः बिग्रिएको पायौैँ, मेसिनले काम गरेसम्म यात्रुलाई बिल दिइरहेका छौँ’ गौतमले भने।
प्रति ट्याक्सी १२ देखि २० हजार खर्च गरेर प्रिन्टर जडान गर्दा करिब १२ करोड रुपैयाँ यस क्षेत्रलाई अतिरिक्त भार परेको भन्दै उनले एक वर्षमै बिग्रिएका प्रिन्टर नापतौल विभागले नै बनाइदिनु पर्ने बताए।
ट्याक्सी चालकले बिल दिएन्न भनेर गुनासो गर्नुभन्दा पनि यात्रु स्वंयले बिल माग्नुपर्नेमा उनी जोड दिन्छन्। ‘मलाई बिल चाहिन्छ भनेर यात्रुले माग्ने बानीको विकास हुनुपर्छ’ यसले हामीलाई पनि ‘बिल दिनका लागि दवाव पुग्छ’ गौतमले भने।
तर विभाग भने प्रिन्टर ब्रिगिएको भन्ने कुरा ट्याक्सी व्यवसायीको बहानाबाजी मात्र भएको तर्क गर्छ। विभाग अन्तर्गतको ट्याक्सी टेम्पो इकाई प्रमुख विशाल जिरेलले गुणस्तरीय प्रिन्टर जडान गराइएको भन्दै यस बहानामा ठग्न खोज्ने व्यवसायीमाथि अनुगमन गरिने बताए। जिरेलले अगुमन गरिरहने बताए पनि इकाईले ३ महिनादेखि नियमन गरेको छैन।
इकाई र ट्राफिक प्रहरीको संयुक्त टोलीले अनुगमन गर्ने कानुनी व्यवस्था भए पनि विगत ३ महिनादेखि यो कार्य हुन सकेको छैन। अनुगमन गर्न नसकिएको स्वीकार गर्दै उनी त्यसको प्रमुख कारण कर्मचारी अभाव रहेको बताउँछन्।
‘कर्मचारी अभावका कारण हामीले अनुगमनमा पठाउन सकेका छैनौँ’ उनले भने ‘यसबारे मन्त्रालयलाई अवगत गराइसकेका छौँ, कर्मचारी आएसँगै अनुगमनले तिब्रता पाउँछ’, जिरेलले भने। तर विभागले नगरेपनि ट्राफिक प्रहरी भने नियमित अनुगमन गरिरहेको बताउँछ।
ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेश रञ्जितकारका अनुसार गत साउनदेखि चैत २२ गतेसम्म मिटरमा नगुडेका, मिटर बिगारेको तथा बढी भााडा असुलेका ५ हजार ३२३ ट्याक्सी कारबाहीमा परेका छन्।
ट्याक्सीले प्रिन्टर बिग्रिएको बहानामा यात्रुलाई बिल दिन मान्दैनन् भने कारबाही हुने रञ्जितकारले बताए। उनले यात्रुको गुनासोका आधारमा सिभिल ड्रेसमा खटिएका ट्राफिक प्रहरीले अनुगमन गरिरहेको समेत बताए।
‘यदी कसैको प्रिन्टर बिग्रिएको छ भने बनाउनु पर्यो। तर त्यही बहानामा यात्रुलाई ठग्न खोजेमा कारबाही गरिन्छ’, उनले भने। ट्याक्सीमा यात्रा गरेपछि यात्रुको बिल पाउने अधिकार भएकाले माग्ने बानी बसाल्नुपर्नेमा रञ्जितकारको सुझाव छ।