एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा जारी आयोजना कार्यान्वयन सन्तोषजनक रहेको बैंकले जानकारी दिएको छ।
सन् २०१७ को समिक्षा र आगमी वर्षको रणनीति निर्धारण गर्न काठमाडौंमा भएको सयुक्त पोर्टफोलियो बैठकमा बैंकले आयोजना कार्यान्वयन सुधारोन्मुख रहेको बताएको छ।
लक्ष्यअनुसार आयोजना निर्माण सम्झौता र भुक्तानीको लक्ष्य सन्तोषजनक रहेको बैंकका दक्षिण एसिया विभाग साहयक निर्देशक दिवेश शरणले जानकारी दिए।
‘हामीले आगामी दिनमा गर्नुपर्ने सुधारहरु त धेरै छन् तर सन् २०१६ मा उल्लेख्य उपलब्धीहरु हात परेका छन्’ बैठकलाई सम्बोधन गर्दै शरणले भने।
सहरी पूर्वाधार, उर्जा, यातायात, कृषि, प्राकृतिक स्रोतसाधान,शिक्षा र पुर्ननिर्माणजस्ता क्ष्ोत्रमा बैंकले सन् २०१७ मा ४२ अर्ब १० करोड नेपाली रुपैयाँ लगानीको प्रतिबद्धता जनाएको थियो।
सन् २०१७ मा प्रतिबद्धतामध्ये ८२ प्रतिशत ठेक्का सम्झौता भएको र सम्झौताको ८८ प्रतिशत भुक्तानी सम्पन्न भएको बैंकले जानकारी दिएको छ।
नेपालका विभिन्न ३५ आयोजनामा २ खर्ब ४० अर्ब लगानी गरेको बैंकले नेपालको सार्वजनिक खर्च प्रणालीमा अझै सुधारको आवस्यकता रहेको औल्याएको छ।
‘अहिले पनि एयरपोर्ट आयोजनामा खर्च हुनै सकेको छैन’ बैठकमा धारणा राख्दै शरणले भने,‘एक दशकदेखि आयोजनाहरु होल्डमा छन्, सम्पन्नै हुन थालेको मेलम्चीको सुुनिश्चता के हुन्छ भन्ने आशंका कायमै छ।’
नेपालको आयोजना कार्यन्वयनमा हुने प्रदर्शनले आगामी दिनको सहयोग निर्धारण हुने भएकोले सरकाले त्यतातर्फ ध्यान दिनुपर्ने बैंकका नेपाल निर्देशक मुख्तोर खामुडखानोभको भनाइ छ।
बैंकले नेपालमा क्षेत्रगत रुपले हवाई यातायात, उर्जा, सहरी विकास, सडक यातायात, शिक्षा, भूकम्प सहयोग, जस्ता क्षेत्रका ३५ आयोजनामा लगानी गरेको छ।
सन् २०१७ को समिक्षाअनुसार ठेक्का सम्झौतामा यातायात क्षेत्रका आयोजनामा १७० मिलियन अमेरिकी डलर बराबर गर्नुपर्ने लिक्ष्य लिएको भएपनि ५० मिलियनको मात्र सम्झौता भएको छ। उक्त अवधिमा खर्च भने ३४ मिलयनमात्र भएको बैंकले जानकारी दिएको छ।
उर्जा क्षेत्रका आयोजनामा भने १६७ मिलियनको लक्ष्यमा १२२ मिलियनको ठेक्का र ८० मिलियनको लक्ष्यमा ५८ मिलियन खर्च भएको छ।
बैंककाअनुसार सन् २०१७ मा सहरी विकास तथा खानेपानीमा ८८ मिलियन डलरको ठेक्का सम्झौता भएको छ जहाँ ६७ अर्बकोमात्र लक्ष्य तोकिएको थियो। १०३ मिलियनको खर्च गर्ने भनेर लक्ष्य निर्धारण भएको यो क्षेत्रका आयोजनामा ९७ मिलियन डलर भएको छ।
त्यस्तै कृषि, शिक्षा, लगायतका आयोजनामा पनि सन्तोषजनक रहेको छ।
अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले एडीबीको नेपालमा सञ्चालित परियोजनाहरू समयमै सम्पन्न सरकारले हरसम्भव प्रयास गरिरहेको बताए। नेपाल सरकार एडीबीसँगको सहकार्यलाई अझै बलियो बनाउन तयार रहेको उनले स्पष्ट पारे।
आयोजना समयमै सम्पन्न गर्न खरिद, बजेट निष्काशनजस्त ाप्रक्रियामा व्यापक सुधार गरिएको र अन्य सुधारलाई पनि निरन्तरता दिइने सचिव अधिकारीलेब ताए।
‘हामीले अहिले पनि अर्थ मन्त्रालयको तर्फबाट सबै मन्त्रालयलाई आयोजना समयमै सम्पन्न गर्न निरन्तर ताकेता गरिरहेका छौं’ बैठकमा बोल्दै उनले भने,‘हामीले गर्नुपर्ने सहजीकरण पनिउत्तिकै बढाएका छौं।’
आयोजना निर्माणमा कुनै अवरोध आएमा तत्काल सरोकारवलाहरुलाई राखेर मन्त्रालयले समुन्वय गरिरहेको उनको भनाइ छ।