विश्वकै सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड बनाएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार एउटा बिटक्वाइनको मूल्य सोमबार १ लाख २५ हजार ८३५ डलर पुगेर नयाँ रेकर्ड बनाएको हो।
आइतबार पहिलोपटक १ लाख २५ हजार डलर नाघेको बिटक्वाइन सोमबारको सुरूवातमै करिब २ प्रतिशतले बढेर १ लाख २५ हजार २५३ डलरमा कारोबार भएको थियो।
साँझसम्म यसको मूल्य १ लाख २५ हजार ८३५ डलर पुगेको रोयटर्सले जनाएको छ।
सो अनुसार मंगलबारको विनिमयदरसँग हिसाब गर्दा एउटै बिटक्वाइनको नेपाली मूल्य १ करोड ७८ लाखभन्दा बढी पर्न आउँछ।
१६ वर्षअघि कारोबार सुरू भएको बिटक्वाइनको मूल्य गत मंसिरमा पहिलो पटक ६ अंकको पुगेको थियो।
बजार विश्लेषकहरूका अनुसार यस वर्ष मात्र बिटक्वाइनको मूल्य ३३ प्रतिशतभन्दा बढी बढिसकेको छ। यसको माग संस्थागत लगानीकर्ताबाट बढेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारको क्रिप्टोमैत्री नीतिले पनि यसमा थप बल दिएको भनेर रोयटर्सले लेखेको छ।
ट्रम्पले राष्ट्रपतिको चुनाव लड्दैगर्दा आफू बिटक्वाइनमा रूची राख्ने मानिस रहेको बताएका थिए। उनले बिटक्वाइनको मूल्य अझै बढाउने काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्न प्रतिबन्ध लगाइएको छ। क्रिप्टोकरेन्सीको कारोबार गर्नेलाई प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा २६२ अनुसार कारबाही गर्दै आएको छ। उक्त दफामा रोक लगाइएको मुद्रा चलन चल्तीमा ल्याउन नहुने उल्लेख छ।
त्यसअनुसार कारोबार गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुनेछ। र त्यसरी चलन चलाएको लेनदेन गरेको वा राखेको मुद्रा समेत जफत हुने व्यवस्था उक्त दफामा छ।