रामेछाप र ओखलढुंगा जिल्लाको सीमाबाट बग्ने लिखु खोलामा निर्माण हुने जलविद्युत आयोजनाका लागि ऋण रकम जुटेको छ।
२८ दशमलव १ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजनामा विभिन्न चार बैंक र जलविद्युत लगानी तथा विकास कम्पनीले ऋण लगानी गर्ने छन्। लक्ष्मी बैंकको अगुवाईमा कुमारी, सेन्चुरी र प्रभु बैंकले ऋण लगानी गर्ने भएका हुन्।
उक्त आयोजनाको निर्माण लागत जम्मा ५ अर्ब ५९ करोड रुपैयाँ छ। यसमध्ये ७५ प्रतिशत अर्थात ४ अर्ब १९ करोड वित्तीय संस्थाहरुको ऋण लगानी रहेको छ।
जसमा लक्ष्मी बैंकको १ अर्ब २४ करोड, कुमारीको १ अर्ब, सेन्चुरीको ७५ करोड, प्रभु बैंकको ४० करोड र जलविद्युत विकास कम्पनीको ८० करोड छ। बाँकी २५ प्रतिशत कम्पनीका संस्थापक र सर्वसाधारणले लगानी गर्ने छन्।
श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले आयोजना निर्माणको जिम्मा पाएको छ। कम्पनीले उर्जा मन्त्रालयबाट २०७२ चैत २८ गते उत्पादन अनुमति प्राप्त गरेको थियो। २०७८ साल मंसिरमा आयोजना संचालनमा आउने दावी गरिएको छ।