कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) को आयोजनामा आगामी माघ २४ गतेदेखि २९ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २८औं संस्करणको क्यान इन्फोटेक मेला हुने भएको छ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माण तथा सार्थक अन्तर्क्रिया गर्ने यो मेलाको उद्देश्य रहेको छ।
क्यान महासंघले आयोजना गर्ने मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको महासंघका अध्यक्ष रणजीत पोदारले बताए।
'क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनी तथा सरोकारवालाहरूबीच गहन छलफल हुनेछ,' बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने।
क्यान इन्फोटेकको अवलोकनका लागि सर्वासाधारणलाई एक सय रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
इन्फोटेकको टिकेटिङ पार्टनर पेवेलको मोबाइल एप डाउनलोड गरी एपबाटै २५ रुपैयाँमा अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था ल्याइएको छ।
सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहने छ।
प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन्।
२८औं क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा इन्फोडेभलपर्स र एसोसिएट स्पोन्सरमा स्मार्ट च्वाइस टेक्नोलोजी (एससिटी) छन्।
प्रायोजक कम्पनीका आधारमा यो बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम 'इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ एससिटी' रहेको छ।
क्यान इन्फोटेकको इतिहासमै पहिलो पटक सफ्टवेयर कम्पनीले शीर्ष प्रायोजन गरेको हो।
त्यस्तै, क्यान इन्फोटेक २०२३ को प्लाटिनम स्पोन्सरमा डिशहोम फाइबरनेट, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरमा माया एनिमेसन एकेडेमी र ह्वावे छन्।
त्यस्तै, सिल्भर स्पोन्सरहरूमा एसपावर, डिजिकम र अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी) छन्।
प्रदर्शनीको टिकेटिङ पार्टनरमा पे वेल, इन्स्यारेन्स पार्टनरमा आइएमई जेनेरल इन्स्योरेन्स, नलेज पार्टनरमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा इन्टरनेसनल स्कुल फर स्किल्स, फुड एन्ड बेभरेज पार्टनरमा र्याकेटबार एन्ड इभेन्टस, पावर्ड बाई आइएमई पे र एसएमएस पार्टनरमा स्प्यारो एसएमएस छन्।
प्रदर्शनीलाई सफल रुपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु लगायतका संस्थाले सहयोग गरेका छन्।
यस्तै, अन्तर्राष्ट्रिय रूपमा एसियन ओसियन कम्प्युटिङ इयडष्ट्री अर्गनाइजेशन र वर्ल्ड इन्फरमेशन टेक्नोलोजी एण्ड सर्मिसेस अलायन्सको पनि सहयोग रहेको छ।