बाँकेको बैजनाथ गाउँपालिकाका वीरबहादुर दमाईलाई शनिबार प्रहरीले पक्राउ गर्यो। उनलाई आठ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको हो।
वीरबहादुरले बालिकालाई फकाएर आफ्नै घरको कोठामा लगी बलात्कार गरेको उजुरी छ।
त्यस्तै, साउन २२ गते (बिहीबार) दैलेखमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भयो। प्रहरीले चामुण्डाबिन्द्रासैनी नगरपालिकाका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई पक्राउ गरेको छ।
तीजको नाच हेरेर घर फर्किँदै गरेकी बालिकामाथि ती दुई युवकले पालैपालो बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर लालबहादुर सुनारले जानकारी दिए।
केही समयअघि खोटाङमा यस्तै घटना घटेको थियो।
केपिलासगढी गाउँपालिकामा रहेको एक विद्यालयबाट घर फर्किँदै गरेकी १४ वर्षीया बालिकामाथि साउन १९ गते सामूहिक बलात्कार भएको थियो।
स्कुलबाट फर्किने बेला उनकै विद्यालयमा पढ्ने दुई जनाले नजिकै जंगलको ओढारमा लगेर बलात्कार गरेको खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए।
यी प्रतिनिधि घटना मात्र हुन्। केन्द्रीय प्रहरी कार्यालयको तथ्यांक हेर्ने हो भने पछिल्लो ५ वर्षमा १२ हजार ६४३ जनामाथि बलात्कार भएको उजुरी परेको छ। यसमा ७ हजार ५६४ जना बालिका छन्।
आर्थिक वर्ष २०८१/८२ मा २ हजार २६२ जनामाथि बलात्कार भएको उजुरी परेको छ। यसमा पनि १ हजार ४३७ जना बालिका छन्।
केन्द्रीय प्रहरी कार्यालयको तथ्यांकानुसार १० वर्षभन्दामुनिका २१७ जना, ११ देखि १४ वर्षसम्मका ४७२, १५ देखि १६ वर्षका ४५९ र १७-१८ सम्मका २८९ बालिका बलात्कृत भएका छन्।
त्यस्तै, २०८०/८१ मा २ हजार ५१४ जनामाथि बलात्कारको उजुरी परेको थियो। तीमध्ये १ हजार ५९२ जना बालिका बलात्कारको उजुरी छ।
यस आर्थिक वर्ष १० वर्षभन्दा कम उमेरका २५२ बालिका, ११ देखि १४ वर्षका ५२३, १५ देखि १६ वर्षसम्मका ४८६ र १७-१८ का ३३१ जना बालिकामाथि बलात्कार भएको केन्द्रीय प्रहरी कार्यालयको तथ्यांक छ।
२०७९/८० मा २ हजार ३९८ जनामाथि बालत्कार भएको छ। यसमा १ हजार ५१५ बालिका छन्। त्यसमा पनि १० वर्षमुनिका २५९ जना, ११ देखि १६ सम्मका ९४४, १७ देखि १८ वर्षसम्मका ३१२ जना बालिकामाथि बलात्कार भएको छ।
आर्थिक वर्ष २०७८/७९ मा २ हजार ६५४ जनामाथि बलात्कार भएको छ, जसमा १ हजार ५०५ जना बालिका बलात्कारमा परेका छन्। तीमध्ये १० वर्षमुनिका २५९, ११ देखि १६ वर्षसम्म ९४४, १७ देखि १८ सम्म ३१२ जना छन्।
२०७७/७८ मा २ हजार ८१५ बालिकामाथि बलात्कार भएको उजुरी परेको छ, जसमा १ हजार ५१५ जना बालिका छन्। त्यसमा १० वर्षमुनिका २५९ जना, ११ देखि १६ वर्षसम्मका ९४४ जना, १७ देखि १८ सम्म ३१२ जना छन्।
यही अवधिमा १३ हजार ३२० प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
सबभन्दा धेरै बालिका चिनेजानेकै व्यक्तिबाट बलात्कार हुने गरेको केन्द्रीय प्रहरी कार्यालयको तथ्यांक छ। आधाभन्दा बढी चिनेजानेकाबाट बलात्कार हुने केन्द्रीय प्रहरी कार्यालयका प्रवक्ता डिआइजी विनोद घिमिरेले जानकारी दिए।
उनका अनुसार पछिल्लो ५ वर्ष अवधिमा बलात्कार हुनेमा आधाभन्दा बढी पीडित अर्थात् ६ हजार १७ जना चिनेजानेकैबाट हुने गरेको देखिन्छ। दोस्रोमा छिमेकीबाट अर्थात् ३ हजार २५० र केटा साथीबाट ७४१ जना बलात्कार भएका छन्।
त्यस्तै, बुबाबाट ३६५ र श्रीमानबाट २४९ छन् भने शिक्षक लगायत भिनाजु, काका, दाइबाट बालत्कार हुनेको संख्या धेरै रहेको प्रवक्ता घिमिरेले जानकारी दिए।
उनका अनुसार ५ वर्षयता यस्ता घटनाको उजुरी संख्या उस्ताउस्तै देखिन्छ। यस्ता घटना बाहिर आउने क्रम बढ्दो छ।
पहिला आफन्त वा चिनेजानेका व्यक्तिले बलात्कार गरे लुकाइने गरिन्थ्यो। अहिले आफ्नै परिवारविरूद्ध पनि उजुरी दिन थालिएको छ। बुबा, काका, दाइ, हजुरबुबा लगायतविरूद्ध पनि बोल्न थालेको उनको भनाइ छ।
'आममानिसमा अपराधविरूद्ध बोल्नुपर्छ भन्ने चेतना विकास भइरहेको छ,' उनले भने, 'बोल्नेसँगै यस्ता घटना पनि बढिरहेका छन्।'
नेपाल ल क्याम्पसका उपप्राध्यापक तथा अधिवक्ता रूक्मणी महर्जनका अनुसार बालिका बलात्कारका घटनामा ऐन संशोधन गर्नुपर्ने जरूरी छैन। तर भएका कानुनी आधार टेकेर अनुसन्धान र तथ्य खोज्न प्रहरी चुकेका छन्।
उनका अनुसार घरपरिवार र समाजले पनि बाल्यकालदेखि नै प्रहरीको डर देखाउँदै हुर्काइन्छ। प्रहरी देख्दा आजकालका बालबालिका पनि डराउँछन्। त्यसैले बालिकाहरू दुवै पक्षमा आफ्ना कुरा राख्न नसक्ने उनी बताउँछिन्।
'विद्यालयहरूले गलत छुवाइबारे खासै सिकाउँदैनन्। कसैले छोइहाले के गर्नुपर्छ भनेर भन्दैनन्,' उनले भनिन्, 'विद्यालयभित्रै हुने गलत छुवाइलाई स्कुलले बाहिर ल्याउन दिँदैन। बालिकाहरूलाई चुप राख्न खोजिन्छ।'
त्यस्तै चर्चित घटनामा पीडितले न्याय नपाउँदा पनि यस्ता घटना बाहिर आउन सकेका छैनन्।
'ऐनकानुन छ तर कार्यान्वयन र सुरक्षा छैन,' महर्जनले भनिन्, 'बलात्कारका घटनाको अनुसन्धान लामो समयसम्म टुंगिएका छैनन्। त्यसले पीडकहरूलाई प्रोत्साहन मिलिरहेको छ।'
बलात्कार गरेर हत्या भएको निर्मला पन्तको घटनामा ७ वर्ष बितिसक्दा पनि प्रहरीले पीडकलाई कानुनी दायरामा ल्याउन सकेको छैन। यस घटनामा पीडितले न्याय पाएको भए अरू पीडकहरू हच्किने उनको भनाइ छ।
उनका अनुसार प्रहरीले आमनागरिकलाई सुरक्षा दिन सकेको छैन। कानुनी मापदण्डअनुसार कारबाही गर्न नसक्दा बालिकामाथि बलात्कारको घटना उकालो लाग्दैछ। उनी यसलाई प्रहरी प्रशासनकै कमजोरी मान्छिन्।
***