एभरेष्ट बैंकले पञ्जाब नेशनल बैंक भारतसँगको संयुक्त साझेदारमा भुक्तानी सञ्चालक फोनपेसँग सहकार्य गरी नेपालमा पहिलो पटक अफलाइन डिजिटल पेमेन्ट 'फोन ट्याग' सञ्चालनमा ल्याएको छ।
फोन ट्याग एक अफलाइन भुक्तानी समाधान हो जसले इन्टरनेट जडान नभएको क्षेत्रमा वा मोबाइल डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकहरूलाई मोबाइल बैंकिङ एपबाट 'एनएफसी ट्याग' वा 'सिपी क्युआर कोड' प्रस्तुत गरेर भुक्तानीहरू गर्न सक्षम बनाउने बैंकले जनाएको छ।
अफलाइन कारोबारको सीमा प्रतिकारोबार ५ हजार रुपैयाँसम्म रहेको बैंकको भनाइ छ। यो सेवा बैंकका सबै ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत प्रयोग गर्न सक्छन्।
हाल, यो सेवा एनएफसी सक्षम एन्ड्रोइड स्मार्ट फोनहरूमा उपलब्ध रहेको छ। एनएफसी नभएका मोबाइल फोनमा ग्राहकहरुले ‘सिपिक्युआर’ कोड ग्राहकले प्रस्तुत गर्ने 'क्युआर कोड' प्रयोग गर्न सक्छन्।
एभरेष्ट बैंक, अफलाइन मोडमा डिजिटल भुक्तानी समाधान सुरू गर्ने पहिलो बैंक रहेको बैंकको दाबी छ।
यो सेवाले कमजोर नेटवर्क जडान भएका स–साना शहर र ग्रामीण क्षेत्रहरूमा डिजिटल भुक्तानीलाई बढावा दिन सक्ने बैंकले जनाएको छ। यस सेवाले विभिन्न शहरी केन्द्रहरूमा, ठूला सार्वजनिक कार्यक्रमहरू, मेलाहरू र प्रदर्शनीहरूमा डेटा प्रयोग गर्न अनिच्छुक ग्राहकहरूलाई पनि भुक्तानी गर्न मद्दत गर्ने बैंकले बताएको छ।
‘यस सेवा मार्फत एभरेष्ट बैंकले ग्राहकको सुविधामा नयाँ गतिशीलता थपेको छ। डिजिटल भुक्तानीको प्रमुख समस्यालाई सम्बोधन गर्न अति आवश्यक ग्राहक केन्द्रित दृष्टिकोण अपनाएको छ,’ बैंकको उपमहाप्रबन्धक आशुतोष शर्मा भने।
फोनट्यागको सुरुवातसँंगै ग्राहकहरूले अब विभिन्न मर्चेन्ट आउटलेटहरूमा फोनट्यागद्वारा भुक्तानी गर्दा २० प्रतिशसम्म क्यास ब्याक र ५०० रुपैयाँसम्म पाउन सक्नेछन्।