वर्ल्डलिंकले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ। इ-स्पोर्टस् समुदायलाई लक्षित गर्दै इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले गेमिङ प्याकेज ल्याउन लागेको हो।
मोबाइल गेमिङ समुदायका लागि प्रतिक्षित मानिएको उक्त प्याकेज केहि इ-स्पोर्टस् खेलाडिले परिक्षणका रूपमा प्रयोग गर्दै आएका थिए। उनीहरूले उक्त प्याकेज प्रयोग गर्दा पब्जीको लेटेन्सी निकै न्यून पाएको बताएका छन्।
यो प्याकेज 'प्रो गेमिङ वाईफाई सिक्स' राउटरको साथमा उपलब्ध हुने बताइएको छ। जसले गर्दा इ-स्पोर्टसमा अहिले देखिएको लेटेन्सीको समस्या सम्बोधन हुने अपेक्षा गरिएको छ।
गेमिङ प्याकेज साउन १८ गते बिहिबार राति ८ बजे भर्चुअल रूपमा सार्वजनिक गर्ने तयारी रहेको वर्ल्डलिंक कम्युनिकेशन्सले जनाएको छ। वर्ल्डलिंकको फेसबुक पेजबाट प्रत्येक्ष प्रसारण गरेर प्याकेज सार्वजनिक गर्ने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार पब्जीसँगको सहकार्यमा नेपालमै पहिलोपटक यस्तो प्याकेज ल्याउन लागिएको हो। नेपालमा मोबाइल गेमिङमा सक्रिय प्रयोगकर्ताको संख्या करिब ४५ लाख छ। जसमध्ये ८० प्रतिशतले मोबाइलबाटै गेम खेल्छन् भने १५ प्रतिशतले पिसीको प्रयोग गर्छन् र ५ प्रतिशतले गेमिङ कन्सोलको प्रयोग गर्ने तथ्यांकले देखाएको छ।