नेपालमा फाइभजी सेवा सञ्चालनका लागि नीतिगत तयारी अघि बढेको छ। दूरसञ्चार क्षेत्रको नियमक नेपाल दूरसञ्चार प्राधिकरणले फ्रक्वेन्सी निर्धारणका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
प्राधिकरण बोर्ड बैठकले नेपालमा फाइभजी सेवा सञ्चालन अनुमति दिन फ्रिक्वेन्सि पहिचान गरी रेडियो फ्रिक्वेन्सी समिति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक बोर्ड सदस्यले जानकारी दिए।
प्राधिकरणले चालु वर्षको नियमित कार्यक्रमअनुसार नै विश्व बजारमा आइसकेको फाइभजी प्रविधिको मोबाइल नेटवर्कका बारेमा सुझाव फोरम बनाएको थियो। नेपालमा उपलब्ध ब्यान्डमा उपयुक्त र दिन सकिने फ्रिक्वेन्सीको वितरण गर्नका लागि बनेको उक्त फोरमले दिएको सुझावका आधारमा बोर्डले सिफारिस गर्ने निर्णय गरेको हो।
प्राधिकरणले अब यो सिफारिस रेडियो फ्रिक्वेन्सि निर्धारण समितिमा पठाउने छ।
समितिले बोर्डले पठाएको सिफारिसअनुसारको फ्रिक्वेन्सी दिन सकिने नसकिने बारेमा अध्ययन गर्ने छ। अध्ययनबाट दिन उपयुक्त हुने देखिएमा निर्णय गर्ने छ। त्यसरी निर्णय गर्दा फ्रिक्वेन्सीको दस्तुरसमेत निर्धारण हुने छ।
समितिले निर्णय गरेपछि प्राधिकरणले बोलकबोलको माध्यमबाट दूरसञ्चार सेवाप्रदायकहरुलाई उपलब्ध गराउने छ। त्यसपछिमात्र सेवाप्रदायकहरुले सेवा सञ्चालन गर्नसक्ने छन्।
प्राधिकरण बोर्डले न्यून,मध्यम र उच्च रेन्जमा फ्रिक्वेन्सी ब्यान्डको सिफारिस गर्ने निर्णय गरेको छ। ९, १८, २३ र २६ सय मेगाहर्ज ब्यान्ड सिफारिस गरेको छ।
नेपालमा मुख्य दुई मोबाइल सेवा प्रदायक कम्पनी रहेका छन्।यसमध्ये सरकारी स्वामित्वको नेपाल टेलिकम फोरजी सेवा विस्तारकै अभियानमा रहेको छ। नेपाल टेलिकमले सरकारले नीतिगत व्यवस्था गरेपछि फाइभजी सेवाको विस्तारलाई पनि सँगै लिन तयार गरेको यसअघि नै घोषणा गरिसकेको छ।