सरकारी स्वामित्वको नेपाल टेलिकमको प्रमुख पदमा पुग्ने पहिलो महिला कामिनी राजभण्डारी नियुक्त भएको डेढ वर्ष भएको छ। हालैमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बालुटार बोलाएर टेलिकमको बारेमा चासो राखेका थिए। प्रधानमन्त्रीले देखाएको चसो र टेलिकमका पछिल्ला गतिविधि बारे सेतोपाटीले राजभण्डारीसँग गरेको कुकानीको सम्पादित अंश।
प्रधानमन्त्रीले टेलिकमको पांग्रा नै परिवर्तन गर्ने भनेर तपाईँसँग भनेको कुरा बाहिर आएको छ, खासमा के कुरा भएको थियो?प्रधानमन्त्रीसँगको भेटलाई लिएर बाहिर आएजस्तो केही पनि त्यस्तो कुरा भएको छैन। उहाँले टेलिकमका आयोजनाहरू कसरी अगाडि बढेका छन्, समस्याहरु के-के छन्, भनेर चासो राख्नुभएको थियो। त्यस्तै टेलिकमको आय, ग्राहकजस्ता कुरामा पनि चासो देखाउनुभएको थियो।
त्यसमा मैले हाम्रो आय, योजना तथा सेवाको बारेमा जानकारी गराएको थिएँ।
उहाँले टेलिकम (गाडी) राम्रो राख्नुहोस् र पांग्रा, इन्जिन् के-के बदल्नुपर्छ बदल्नुहोस् भन्नु भएको हो। त्यसको मतलब उहाँले यहाँका कर्मचारीदेखि प्रविधिसम्म परिवर्तन गर्न तयार हुनुपर्ने आसयको विचार राख्नुभएको हो। उहाँले तपाईँहरू काम गरिरहनुभएको रहेछ यसैगरी काम गर्दै जानुहोस् भन्नुभएको थियो।
तर तपाईँहरूका आयोजना त ढिला भएका हुन् नि? हाम्रा आयोजनाहरू प्रक्रियागत रूपबाट गएका छन्। हामीले ६ वर्षपछि ग्लोबल टेन्डर आब्हान गरेका छौं। देशभर एकैपटक ६५ लाख लाइन (उच्चगतिको एलटीइइ नेटवर्क फोरजी) विस्तारको आयोजना अगाडि बढाएका छौं। यसको काम अगाडि बढिरहेको छ।
फोरजी विस्तारमा टेलिकमले ढिलाई गरेकोप्रति पनि प्रधानमन्त्रीको चासो देखिएको छ, टेन्डर भएकै ३/४ महिना भइसक्यो यसको काम कहिले सकिन्छ? हाम्रो टेन्डरको मूल्यांकन भइरहेको छ। यो प्रविधिको क्षेत्रमा फोरजी मेरुदण्ड नै हो त्यसैले मैले यो छिटोभन्दा छिटो ल्याउनुपर्छं भनेरै प्रयास गरिरहेको छु। निजी क्षेत्रका कम्पनीले सिधै गर्न सक्छन् तर मैले त सक्दिनँ त्यसैले प्रक्रियाबाट जाँदा अलिकति ढिला भएको हो।
तर यसको मतलब कामै नभएको भने होइन। यसलाई छिटोभन्दा छिटो अगाडि बढाउनै पर्छ भनेर मैले मूल्यांकन टोली छुट्टै बनाएको पनि छु। यदि यो काम रोकियो भने टेलिकमको फोरजी ढिलामात्र होइन असान्दर्भिक पनि हुनसक्छ। त्यसैले जतिसक्दो चाँडो हामी अगाडि बढाउन द्रूत गतिमा काम अगाडि बढाइरहेका छौं।
यो आयोजना सम्पन्न भएपछि टेलिकमको रुपान्तरण हुनसक्छ। यसले आयमा पनि योगदान पुर्याउँछ।
फोरजी कहिले विस्तार हुन्छ? र तपाईँको सेवा कसरी चल्छ?हामीले टेन्डर मूल्यांकन गरिरहेका छौं। सम्झौता भएको ६ देखि ९ महिनाभित्र फोरजी देशभर लागू हुन्छ।
सम्झौताको लागि हामीले मूल्यांकन गरिरहेका छौं। छिटोभन्दा छिटो टेन्डर प्रदान गर्छौं।
हामी भारतको जियो रियलाइन्स मोडलमा सेवा दिनेगरी अगाडि बढेका छौं। यसमा जियोले दिइरहेको जस्तो डाटामा भ्वाइस कल सुविधासहितको भिडियो पनि समेटेर सेवा दिनेछौं जसले नेपालको दुरसंचारमा क्रान्ति ल्याउने छ।
हाम्रो सेवा बजारमा आउनेवित्तिकै यसले गाउँगाउँमा प्रविधिको पहुँच पनि विस्तार गर्नेछ। डिजिटल नेपालको अभियानमा हाम्रो सेवा कोशेढुंगा सावित हुने निश्चित छ।
तपाईँ नेपाल टेलिकमको प्रबन्धक हुँदा भ्याल्यू एडेड सेवा ल्याउने बताउनुभएको थियो, त्यसमा के हुँदैछ?
अबको टेलिकम व्यापारमा भ्याल्यु एडेड सेवा नै हो। हामीले पनि त्यस्तैगरी थप गर्दै गएका छौं। भर्खरैमात्र हामीले क्रेडिट सेवा ल्याएका छौं। त्यस्तै केही समय अगाडि भिडियो एप ल्यायौं। अब मोबाइल मनी पनि ल्याउँदै छौं।
भ्यालु एडेड सेवा कसरी चलाउँदै हुनुहुन्छ?हामीले यस सम्बन्धि कार्यविधि बनाएर अगाडि बढेका छौं। विभिन्न मोडलमा यसमा काम भइरहेको छ। यस्ता काम हामी आउटसोर्सिङ गरेर गरिरहेका छौ। दुई वा दुई भन्दा बढी सेवाप्रदायकक सामेल हुनसक्ने भएमा आउटसोर्सिङमा गइरहेका छौं भने एकमात्र सहभागी हुन सक्नेमा टेन्डर गरेर गएका छौं।
टेलिकममा कर्मचारीहरुको संख्या धेरै छन्, यसमा कसरी व्यवस्थापन हुँदैछ?पहिले हाम्रोमा पाँच हजार बढी कर्मचारी थिए। अहिले घटेर ४ हजारमा सिमित छन्। हामीले केही समय अगाडि स्वेच्छिक अवकास योजना ल्याएका थियौं र अब पनि नयाँ पद सिर्जना भएका छैनन्।
तपाईं प्रबन्धक भएर आएदेखि केके काम गर्नुभयो? हामीले मुख्य कुरा पहिलेदेखि नै चालु एक करोड जिएसएम लाइन आयोजना सम्पन्न गरेका छौं। त्यस्तै टिडिएम माइग्रेशन गरिरहेका छौं। फोरजी विस्तारको टेन्डर भएको छ भने मध्यपहाडी राजमार्गमा हामीले अप्टिकल फाइबर विस्तारको काम गरिरहेका छौं।
त्यस्तै फाइबर टु होम आयोजा पनि द्रूत गतिमा अगाडि बढाएका छौं भने सेवाको गुणस्तरीयता कायम गर्न विभिन्न प्राविधिक सुधार गरेका छौं जसको अनुभूति उपभोक्ताहरुले गर्नुभएको पनि छ।
हामीले फिक्स लाइनलाई रियल टाइम बिलिङमा ल्याइसकेका छौं। त्यस्तै उपभोक्ताको लागि हामीले एउटै बिलिङ सिस्टममा ल्याएका छौं। त्यस्तै कस्टुमर सेवा केन्द्र पनि एउटै झ्यालबाट दिने काम सुरु गरिसकेका छौं।
पैसा नतिर्नेको लाइन पनि काटिसकेका छौं। यसपछि हाम्रो बाँकी रहेको करोडौं बक्यौता उठेको छ।