कोटेश्वरकी ममता न्यौपाने क्यान इन्फोटेक एक्स्पोमा नयाँ– नयाँ प्रविधीको बारेमा बुझ्न भन्दै भृकुटी मण्डप आएकी थिइन्। साथै मेलामा नयाँ ग्याजेट्सहरु पनि सहुलियतमा किन्न पाइने उनको बुझाई थियो।
एक्स्पो हेरेर भ्याएपछि उनले प्रविधिका नयाँ जानकारी केही नपाएको गुनासो गरिन्। मोबाइलमा समेत बाहिरी बजार मूल्यभन्दा कुनै सहुलियत नभएको उनले बताइन्। ‘छुट छ भन्ने सुनेकी थिएँ, मूल्य त बाहिर र यहाँ उस्तै रहेछ, मोवाइल किन्दा पेन ड्राइभ, टिसर्ट जस्ता सानातिना गिफ्ट दिँदा रहेछन्’ उनले भनिन्। नाम चलेका मोबाइलका स्टल समेत नपाएको उनले गुनासो गरिन्।
कीर्तिपुरबाट मेला हेर्न आएका रमित महर्जनले वेष्टर्न डिजिटलको पोर्टेबल हार्ड ड्राइभ खोजे पनि मेलामा कतै नपाएको गुनासो गरे। ‘यो मेलामा प्रविधिसँग सम्वन्धित सबै सामान र जानकारी पाइनुपर्ने हो, तर खोजेको सामान नै कतै भेटिनँ’ उनले भने।
क्यान इन्फोटेकको २४ औँ संस्करण चलिरहँदा यो जानकारीमुलक भन्दा पनि ब्यापारमुखी भएको अवलोकनकर्ताको अनुभव छ।
मेला सर्वसाधारणको लागि प्राविधिक जानकारी दिने भन्दा पनि मोवाइल र ल्यापटपमा छुट दिने थलो मात्रै बनेको अवलोकनकर्ता बताउँछन्।
पहिले भन्दा अहिले अवलोकनकर्ता बढी देखिए पनि यसको खास उद्देश्य हराउँदै गएको सन् १९९५ देखि मेलाको अवलोकन गर्दै आएका रमेश श्रेष्ठ बताउँछन्।
‘क्यान इन्फोटेक मस्ट भिजिटेड एक्स्पोमध्ये एक हो, पहिले यहाँ नयाँ–नयाँ प्रविधि देख्न पाइन्थ्यो, मेलाको छुट्टै चार्म थियो’ उनले भने ‘अहिले यो छुट तथा अफर दिने ब्यापारिक थलो मात्र बनेको छ।’
महासंघले समय समयमा आइसिटी कन्फ्रेन्स राख्ने तथा प्रोक्डक्ट तथा ब्राण्डहरुसँग सहकार्य गरेर अघि बढ्नु जरुरी रहेको श्रेष्ठले बताए।
क्यान नयाँ प्रविधिको प्रदर्शनमा उदासिन बनेको उनको अनुभव छ। ‘क्यानले नेपाली प्रविधिलाई जोड दिन सकेको छैन, यहाँका विद्यार्थीले बनाएका प्रविधिमा जोड दिँदै नेपाल विज्ञान तथा प्रविधी प्रतिष्ठान (नास्ट) सँग सहकार्य गर्न जरुरी छ’ श्रेष्ठले भने।
एक्स्पो व्यापारिक थलो भएको गुनासो आइरहँदा क्यान भने यसलाई अस्वीकार गर्दछ। नयाँ प्रविधिको प्रदर्शन र जानकारी दिन मेला महत्वपूर्ण रहेको क्यानको तर्क छ। कम्प्यु्टर एसोसिएसन नेपाल महासंघका उपाध्यक्ष रोमकान्त पाण्डेले देश प्रविधिमा धेरै अगाडि बढिसकेकाले पछिल्लो समय केहीलाई मेला खल्लो लागेको हुन सक्ने बताए।
‘पछिल्ला २/३ महिनामा भएका इनोभेसनहरु हाम्रा एक्जुबिटरहरुले ल्याउनु भएको छ, इन्टरनेटका ठूला सेवा प्रदायक संस्थाहरु यहाँ छन्’ उनले भने ‘तिनीहरुले सूचना प्रविधिका बारेमा भरपुर जानकारी दिइरहेका छन्।’
धेरैजसो मोवाइल कम्पनीका प्रतिनिधीहरु पनि मेलामा रहेको उनले बताए। सबै कम्पनीको बिजनेस प्रमोसन गर्ने आ–आफ्नो तरिका भएकोले आफ्नो पोलिसीका कारण पहिले पहिले भएका केही कम्पनीहरु यो वर्ष नआएको उनले स्वीकार गरे।
‘सबैसँग कोअडिनेसन गरेर अघि बढेका हौँ, केही कम्पनीहरु आफ्नो इन्टरनल पोलिसीका कारणले नआएका हुन्, हाम्रो कमजोरी भएर नआएका होइनन्’ उनले भने।
क्यान इन्फोटेक मार्फत यो वर्ष विभिन्न कम्पनीहरुले आफूलाई प्रमोसन मात्र नभएर ब्राण्डिङ गर्ने कोसिस गरिरहेको पाण्डे बताउँछन्। यहाँ आइओटी डिभाइस, क्लाउड लगायत प्राविधिक संसारमा आएका नयाँ–नयाँ उत्पादनको बारेमा बुझ्न सकिने उनले बताए।
महासंघले मेला बृहत भएको दावी गरिरहँदा मेलामा २– ३ वटा मात्र इन्टरनेट सेवा प्रदायक कम्पनीका स्टल छन्।
ठूला भनिएका मोवाइल कम्पनीको स्टल नहुनु र इन्फोटेक जानकारीमा भन्दा ब्यापारमा केन्द्रीत हुनुले यसको मर्म हराउँदै गएको भिजिट गर्नेहरुले पनि सहजै अनुमान गर्न सक्छन्।
कम्प्युटर एसोसिएसन नेपाल महासंघले यो विषयमा आगामी संस्करणमा ध्यान नपुर्याउने हो भने ‘सूचना प्रविधिको कुम्भ मेला’ को रौनक हराउन सक्नेछ।