बजारमा चाडपर्वको चहलपहल बढेको छ। खाद्यन्न, लत्ता कपडाबाहेक यतिबेला फर्निचर पसलमा पनि ग्राहकको भीड देखिन्छ। दशैं नजिकिएसँगै नयाँ सोफा, कुर्सी, बेड किन्ने तथा अर्डर दिने पनि बढेको व्यपारीहरु बताउँछन्।
लामो समयदेखि फर्निचर व्यवसायमा संलग्न टेकुस्थित लिसु फर्निचरका सञ्चालक विष्णु डंगोलका अनुसार फर्निचरको कारोबार चाडपर्व तथा विवाहको सिजनमा उल्लेख्य बढ्ने गर्छ।
उनका अनुसार यो समयमा अरू बेलाभन्दा कारोबार दोब्बर हुन्छ। फर्निचरका सामानले घरभित्रको सौन्दर्यतालाई झल्काउँछ।
शहरी क्षेत्रमा सीमित कोठा भाडामा लिएर बस्नेहरुलाई त झन् फर्निचरको सही व्यवस्थापन पनि चुनौतिपूर्ण बन्ने गरेको छ। सही तरिकाले उपयुक्त फर्निचर कोठामा व्यवस्थापन गर्न सकेमा कोठा आकर्षक समेत देखिन्छ।
फर्निचर किन्दा वातावरणलाई ख्याल गर्दै आफ्नो आवश्यकता, कोठाको आकार, बजेट, फर्निचरको गुणस्तर, टिकाउपन र भविष्यको प्रयोगलाई ध्यान दिनु जरूरी हुने व्यवसायीहरुको सुझाव छ।
एउटा फर्निचर किनिसकेपछि टिकाउ अवधिसम्म त्यसको भरपुर प्रयोग गर्न सकिएमा तपाईको छनोटले सार्थकता पाउनेछ।
फर्निचर किन्दा मात्रै नभएर किनिसकेपछि पनि त्यसको संरक्षण र प्रयोगमा सावधानी अपनाउनु जरुरी हुन्छ।
त्यसकारण सही फर्निचरको खरिद र व्यवस्थापनका लागि सघाउ पुर्याउन भन्दै अहिले विभिन्न फर्निसिङ सेन्टर तथ ‘इन्टेरियर डिजाइनर’ हरुको संख्या पनि बढ्दै गएको छ।
यद्यपी कमसल फर्निचरमा उपभोक्ता ठगिने क्रम पनि यथावत छ। व्यापारीहरुले धेरै नाफा हुने खालका र न्यून गुणस्तरका फर्निचर उपभोक्तालाई भिडाउने गरेको पनि पाइन्छ।
त्यसकारण फर्निचर किन्दा र किनिसकेपछि यी कुरामा ध्यान दिन व्यापारी सुझाव दिन्छन्।
१.वारेन्टीमा भन्दा क्वालिटीमा ध्यान दिनेव्यापारी डंगोलको भनाइमा फर्निचर किन्दा धेरै वर्षको वारेन्टीमा नभई गुणस्तरमा विशेष ध्यान दिनुपर्दछ।
बजारमा ५० वर्षको वारेन्टी दिएर पनि उपभोक्ता ठग्ने क्रम बढ्दै गएको भन्दै डंगोलले ५ वर्षको अवधिपछि जुनसुकै काठ खुम्चिने वा गुणस्तर ह्रास हुँदै जाने भएकाले त्यसप्रति सचेत हुनुपर्ने सल्लाह दिन्छन्।
‘हाल बजारमा फर्निचरमा ५० वर्षसम्म वारेन्टी भनेर ठग्ने गरेको देख्छु’, डंगोलले सेतोपाटीसँग भने, ‘तर त्यतिन्जेलसम्म न त्यो पसल नै त्यही रहन्छ न फर्निचर नै, त्यसैले यो त केवल ग्राहकलाई झुक्याई आर्कषित गर्ने मेलो मात्र हो।’
२.प्रयोग भएको काठमा ध्यान दिनेव्यापारीहरुको सुझावमा फर्निचर किन्दा फर्निचरमा प्रयोग भएको काठमा विशेष ध्यान दिनुपर्छ।
फर्निचरजन्य समाग्रीमा सल्ला, मसाला, सिसौ तथा अग्राखको काठ प्रयोग हुने हुँदा ती काठ फर्निचरको कुन भागमा कति र कसरी प्रयोग गरिएको छ भनेर एकीन गरेर मात्र खरिद गर्नुपर्छ। अग्राखको काठ सबैभन्दा दह्रो हुन्छ। सल्लाको प्रयोग भएका फर्निचर सकेसम्म प्रयोग नगर्दा नै राम्रो।
३.सोफाको हकमा प्रयोग भएको फर्म तथा कपडामा ध्यान दिनेसोफामा प्रयोग भएको फर्म ‘लो डेन्सिटी’ वा ‘हाइ डेन्सिटी’ हो भन्ने कुरा जाँच्नु पर्छ। व्यवसायीका अनुसार हाइ डेन्सिटी भएको फर्म राम्रो हुन्छ। लो डेन्सिटी भएको फर्म प्रयोग भएको सोफामा बसेर उठ्दा खाल्डो देखिने र विस्तारै मात्र माथि उठ्छ। हाई डेन्सिटीको फर्म प्रयोग भएको सोफा भने आफू बसेर उठ्दा तुरुन्तै सही आकारमा फर्कन्छ।
त्यस्तै, सोफामा प्रयोग भएको कपडाको गुणस्तरमा चनाखो हुनुपर्दछ। जसमा टेलिकटनको कपडा हालिएको सोफालाई खासै राम्रो मानिँदैन। सोफा किनिसकेपछि सोफाको कपडामाथि कभर लगाउने गर्नुपर्दछ। सोफामै सेट भएको कपडा मैलिएपछि त्यो धुन मिल्दैन तर कभर पुनः हेरफेर गर्न वा धुन सकिन्छ।
४. घाम तथा पानीबाट जोगाउने जति घाम तथा पानीबाट फर्निचरका सामान जोगायो, उति धेरै त्यसको आयु पनि बढ्ने गर्छ। फर्निचरका सामानलाई सकेसम्म घाम वा पानीले प्रत्यक्ष भेट्ने ठाउँभन्दा टाढा राख्नुपर्छ।
५.प्रयोग नगरी राख्दा बिग्रने भएकाले प्रयोगमा ल्याउनेव्यापारीहरुका अनुसार फर्निचरको साम्रागी लामो समयसम्म प्रयोगमा नल्याउँदा त्यसमा प्रयोग गरिएको रयाक, ह्यान्डिल, नट बल्टमा खिया लाग्ने तथा झ्याल, ढोका पसाङ्ग्रिने, काठमा ढुँसी पर्ने जस्ता समस्या देखा पर्न थाल्छन्।
फर्निचरजन्य सामानलाई ३ महिना भन्दा लामो समय प्रयोगविहीन राख्न् नहुनेमा व्यापारीहरु जोड दिन्छन्।
६.सिसा, कुलिन र काठ सफा गर्दा कपडा वा खाने तेलको प्रयोग गर्नेफर्निचर व्यवसायीको सल्लाहअनुसार फर्निचरमा लागेको धुलो, मैलो, अनावश्यक रङ्ग सफा गर्दा जस्तो पायो त्यस्तै वस्तुले पुछ्नु हुँदैन्। सिसा पुछ्दा कुलिन तथा काठ सफा गर्दा भान्सामा भएको खाने तेलको प्रयोग गर्नु उपयुक्त हुन्छ।
काठको पोलिसमा भने कुलिनको प्रयोग गर्नुहुँदैन। काठको पोलिसमा कुलिन प्रयोग भएमा पोलिस नै पुछिन्छ र फर्निचर झन् नराम्रो देखिन्छ।
७. चाइनिज फर्निचर प्रयोगपछि फाल्ने खालको धेरै हुनेहुँदा त्यसप्रति सतर्क रहने व्यवसायीका अनुसार यदि दुई विभिन्न पसलमा एकैजस्तो देखिने फर्निचरको मूल्यमा भने निकै नै अन्तरको भिन्नता छ भने सस्तो किनेर लैजानुभन्दा विवेकको प्रयोग गर्ने गर्नुपदर्छ।
कतिपय चाइनिज फर्निचर एकपटक प्रयोग भइसकेपछि पुनः प्रयोग गर्न मिल्दैन भने बिग्रे वा फूटेमा मर्मत पनि प्रभावकारी हुँदैन्। त्यसकारण पछि मर्मत गर्दा पनि दुरुस्तै हुने फर्निचर छान्नु पर्दछ।
८.बाहिरी फिनिसिङ भन्दा भित्री मेटिरियलमा ध्यान दिनेफर्निचर किन्नुभन्दा पहिले त्यो फर्निचरको बाहिरी फिनिसिङ मात्र हेरेर आर्कषित भई किन्ने प्रचलन ज्यादा भएको अनुभव सुनाउँदै व्यापारीहरुले त्यसो गर्दा कमसल चिज किन्न पुगिने तर्फ सचेत गराउँछन्।
फर्निचर किन्न आउने उपभोक्ताले रङ्ग रोगनमा धेरै प्राथमिक्ता दिने हुदाँ भित्र प्रयोग भएको काठ, प्लाइ भने कम गुणस्तरको पर्न गई ग्राहक ठगिने क्रम बढ्दो छ।
तसर्थ, फर्निचर किन्नु भन्दा पहिले त्यसको ड्रयर, खापा, फम, मोटाइ तथा फिनिसिङ राम्रोसँग हेरेर मात्र किन्ने गर्नुपदर्छ।
९.स्वास्थ्यकर भए नभएको भन्नेमा सर्तक रहने हामी फर्निचर किन्दा स्वास्थ्यकर भए या नभएको प्रति त्यति ध्यान दिने गर्दैनौं। तर व्यवसायीहरुले कुनै पनि फर्निचर किन्नु भन्दा पहिले त्यसमा प्रयोग भएको रङ्ग, केमिकल वा म्याटेरियल स्वास्थ्यका लागि लाभदायी वा हानीकारक भएको भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने भनी सुल्झाएका छन्।