सरकारले अर्थसचिवको परिवर्तन गरेको छ।
गत वैशाखमा अर्थसचिवको जिम्मेवारीमा आएका अर्जुन पोखरेलको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरी पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिएको हो।
अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उनलाई शुक्रबारको मन्त्रिपरिषद बैठकले अर्थसचिवमा सरूवा गरेको हो।
पुष्करको स्वागतका लागि सोमबार अर्थ मन्त्रालयमा कार्यक्रम राखिएको एक अधिकारीले जानकारी दिए।
‘शुक्रबारको मन्त्रिपरिषद्को निर्णयबाट अर्थसचिवको हेरफेर भएको छ, आजै स्वागत तथा बिदाइ कार्यक्रम राखिएको छ,’ ती अधिकारीले भने।
आफैं अर्थमन्त्री भएपछि ल्याइएका अर्जुन पोखरेलसँग अर्थमन्त्री प्रकाशरशण महत सन्तुष्ट थिएनन्। अर्थस्रोतका अनुसार धेरै निर्णय प्रक्रियामा समेत अर्थसचिव पोखरेलको सहभागिता रहने गरेको थिएन। यद्यपि अहिले ल्याइएका पुष्कर पनि मन्त्री महतको रोजाइबाट नआएको दाबी छ।
कृष्णहरी पुष्करको सुरूवा भएसँगै उनी ८ महिनापछि अर्थ सचिवकै रूपमा फर्किएका हुन्। सचिवमा बढुवा भएसँगै २०७८ भदौमा राजस्व सचिवका रूपमा उनी अर्थमन्त्रालय प्रवेश गरेका थिए। उनी २०७८ असार २४ गते सचिवमा बढुवा भएका थिए।
उनी सह-सचिव हुँदा उद्योग मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, वैदेशिक रोजगार विभाग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका निकायमा बसेर काम गरेका थिए।
४/४ महिनामा अर्थसचिव परिवर्तन
बजेट विवादमा तत्कालीन अर्थसचिव मधु मरासिनीको सरूवा भएपछि २०७९ साउनमा कृष्णहरि पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिइएको थियो।
त्यसको पाँच महिनापछि पुसमा उनको त्यहाबाट सुरूवा भएको थियो।
२०७९ पुसमा अर्थसचिवका रूपमा तोयम रायले जिम्मेवारी पाएका थिए। उनको ४ महिनापछि गत वैशाखमा सरूवा भएको थियो।
२०८० बैशाखमा अर्थसचिवको जिम्मेवारी अर्जनु पोखरेलले पाएका थिए। उनको पनि ४ महिनापछि सरूवा गरिएको थियो।
अर्थसचिवको जिम्मेवारी पाएका पछिल्ला ३ सचिवले ४ महिनाको मात्रै समय पाएका छन्।