जेनजी आन्दोलनका क्रममा भएका क्षति संकलन गर्न कञ्चनपुर पुगेका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीलाई सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले दुर्व्यवहार गरेका छन्।
नेकपा (एमाले)का नेता रहेका पूर्वमुख्यमन्त्री रावलले आयोगका सदस्य भण्डारीलाई गालीगलौज गरी दुर्व्यवहार गरेका हुन्।
बिहीबार आयोगको टोली जेनजी आन्दोलनमा भएका क्षतिबारे बुझ्न कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालय पुगेको थियो।
कार्यालयमै पूर्वमुख्यमन्त्री रावल पनि थिए।
आयोगका सदस्य भण्डारीले जेनजी आन्दोलनमा भएका क्षतिबारे सोधपुछ गर्न थालेपछि पूर्वमुख्यमन्त्री रावल आक्रोशित भएका थिए। लगत्तै उनले भण्डारीलाई 'गेट लस्ट' (यहाँबाट जानुस्) भनेका थिए।
त्यतिबेलाको अवस्थाको भिडिओ स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन्।
रावल कड्किएपछि आयोग सदस्य भण्डारीले किन जाने भनेर अंग्रेजीमै जबाफ फर्काएका थिए।
त्यसपछि रावल भौतिक आक्रमणकै शैलीमा आयोग सदस्य भण्डारी नजिक गएका थिए।
‘मेरो घर जलायौ तिमी अपराधीहरुले,’ उनले आक्रोशित हुँदै भण्डारीलाई भनेका थिए।
रावलको आरोपमा तत्काल जबाफ दिँदै भण्डारीले भनेका थिए- मैले जलाएको हो तपाइँको घर?
'तपाईंले हो, तपाईं आफै हो। बढ्ता कुरा गर्ने। मेरा बाल बच्चाहरुको हालत देख्नु भएको थियो? अहिले नाटक देखाउन आउने? मेरो पार्टी कार्यालय र भवन आगो लगाउँदा तपाईंले के हेर्नु भएको थियो । के अहिले यहाँ तपाँइ तमासा देखाउन आउनु भएको हो? राज्यको तर्फबाट नाटक देखाउन आउने? तपाईं अपराधी हो। यहाँ कर्मचारी साथीहरुलाई थर्काउने?,’ पूर्वमुख्यमन्त्री रावलले भने।  
रावल त्यतिमै रोकिएनन्।
‘छाँट देखाउन आएको हो यहाँ? ठालु बन्न आएको?,’ उनले अगाडि भने।
त्यो बीचमा प्रहरीहरूले नेता रावतलाई छेक्दै सम्झाउँदै गरेको भिडिओमा देखिन्छ।
यसबारेमा हामीले कञ्चनुपरका प्रहरी प्रमुख एसपी खड्गबहादुर खत्रीलाई सोधेका छौं।
उनले पूर्वमुख्यमन्त्रीको प्रस्तुतीले माहोल केहीबेर अफ्ठ्यारो बनेको बताए।
‘उहाँ पनि पीडितको तर्फबाट पहिलै कार्यक्रम स्थलमा जानु भएको थियो,’ एसपी खत्रीले भने ‘ त्यो क्रममा उहाँको प्रस्तुती अलि संयमिति नभए पछि उहाँलाई सम्झाइ-बुझाइ गर्नु परेको थियो। उहाँ निस्किएर गएपछि अरु पालिका पदाधिकारहरुसँग सुझाव संकलनको काम भएको थियो।’
सुदुरपश्चिमका पूर्व मुख्यमन्त्री रावल करिब एक महिना मात्रै मुख्यमन्त्री बन्न पाएका थिए।
आयोगका सदस्यलाई दुर्व्यवहार गरेको विषयमा हामीले पूर्वमुख्यमन्त्री रावललाई पनि सोधेका छौं।
उनले जाँचबुझ आयोगको टोली आएको भनेर सिडिओले खबर गरेपछि आफू भीमदत्त नगरपालिका कार्यालय पुगेको बताए।
'त्यहाँ भण्डारीको शैली शासकको जस्तो पाएँ। कर्मचारीलाई थर्काएको देखेँ। मैले परिचय माग्दा राम्रोसँग दिएनन् । उल्टै अंग्रेजी बोले। मलाई डोमिनेट गरेको फिल भयो । झोंक चलेपछि मैले पनि अंग्रेजीमै जबाफ फर्काएँ। केही सबाल-जबाफ भएकै हो। त्यसपछि म बहिस्कार गरी त्यहाँबाट निस्किएँ।
उनले आफूले भण्डारीलाई रमिता देखाउन आएको र अपराधी भनेको स्वीकार गरे।
'हाम्रा घर र देश खरानी भइ सकेपछि त्यो खरानी हेर्न किन आएको भनेर सोधेकै हो । तिमीहरु अपराधी हौ पनि भनेकै हो,' उनले भने। 
जेनजी आन्दोलन क्रममा प्रदर्शनकारीहरूले पूर्वमुख्यमन्त्री रावलको घर पनि जलाइदिएका थिए। भिमदत्त – ६ स्थित ११ धुर जग्गामा उनको घर थियो। त्यसबाहेक अन्यत्र आफ्नो जग्गाजमिन नभएको उनले दाबी गरे।  
'हामीले एक पैसा भ्रष्टाचार गरेका छैनौं। इमानले बनाएको घर हो । अहिले पनि बैंकमा ३५ लाख ऋण छ । बुवा २०४१ सालमै घर बाससहितको जग्गा किन्नु भएको थियो । त्यो घरको इँटा निकालेर हामीले दुःख गरी तीन तला बनाएका थियौं । त्यो सबै खरानी बनाइ दिए । त्यो  दिन मैले फोन गरि जिल्लाका सिडिओदेखि एसपी सबैलाई गुहारेको थिए । तर कसैले केही गर्न सकेनन्।आगो झोस्दा कोही जोगाउन नलाग्ने  र अहिले त्यही खरानी हेर्न आउनुको के अर्थ छ ? म त्यही भएर रिसाएको हो,' उनले भने।