मुम्बईको व्यस्त पवई–मरोल क्षेत्रमा एउटा चकित पार्ने घटना सार्वजनिक भएको छ।
पुणे निवासी रोहित आर्या नामका व्यक्तिले बिहीबार दिउँसो करिब ३ बजेतिर महावीर क्लासिक बिल्डिङ परिसरभित्र रहेको एक स्टुडियोमा १७ जना बालबालिका बन्दी बनाएका थिए।
यसमा मुम्बई प्रहरीले तुरून्तै कारबाही गर्दै सबै बालबालिका र एक महिलालाई सुरक्षित रूपमा बाहिर निकाल्यो।
प्रहरी सुटआउटमा घाइते भएका रोहित आर्यलाई अस्पताल लगिएको थियो। उनको उपचार क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ।
बिबिसीका अनुसार रोहितले कुनै सरकारी ठेक्काको रकम प्राप्त नभएको रिसमा यस्तो कदम उठाएको बयान दिएका थिए।
बालबालिकालाई कसरी बनाइएको थियो बन्धक?
रोहित आर्यले बालबालिकालाई अडिसन भनेर स्टुडियोमा बोलाएका थिए र भित्रबाट ढोका बन्द गरेका थिए।
उक्त घटना हुँदा स्टुडियोभित्र १७ जना बालबालिका र केही वयस्क उपस्थित थिए।
बिहीबार दिउँसो करिब ३ देखि साढे ३ बजेसम्म बालबालिकालाई झ्यालबाट बाहिर झुन्ड्याइएको र उनीहरूले चिच्याउँदै सहयोग मागिरहेको देखियो। त्यसपछि वरपरका मानिस जम्मा भएर प्रहरीलाई खबर गरे।
प्रहरीले जानकारी पाउनेबित्तिकै उक्त क्षेत्रलाई घेरा हालेर उद्धार अभियान सुरू गरेको थियो।
करिब पौने दुई घन्टासम्म प्रहरी, अन्य सुरक्षा टिम र रोहित आर्यबीच वार्ता चलिरह्यो। यसबीच रोहितको व्यवहार आक्रामक रहयो। उनले कसैगरी पनि ढोका खोलेनन्।
वार्तामा रोहितले केही माग राखेका थिए। प्रहरीले भने बालबालिकालाई सुरक्षित नछाडे कडा कारबाही गर्ने चेतावनी दिए।
आखिरमा प्रहरी टोली बाथरूमको झ्यालबाट स्टुडियोमा प्रवेश गर्यो।
प्रहरी उपप्रमुख दत्ता नलावडेका अनुसार यो अपरेसनमा अपहरणकर्ता रोहित घाइते भए। उनलाई तुरून्तै अस्पताल लगिएको थियो। अस्पतालमै उनलाई मृत घोषणा गरियो।
अपहरणमा परेका १७ जना बालबालिका सुरक्षित छन्। उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रहरीले अपहरणकर्ताको साथबाट एउटा एयरगन र केही रासायनिक पदार्थ बरामद गरेको छ।
अभियुक्तको पहिचान पुणे निवासी रोहित आर्या भनेर गरिएको छ। प्रारम्भिक जानकारीअनुसार उनी एक व्यवसायी थिए। केही वर्षदेखि सरकारी ठेक्काको रकम पाउन नसकेपछि उनले यस्तो कदम चालेको प्रहरीको भनाइ छ।
'यो अपरेसन हाम्रा लागि अत्यन्त चुनौतीपूर्ण थियो। एकातिर बालबालिका अड्किएका थिए भने अर्कातिर उनी सहयोग गर्न अस्वीकार गर्दै थिए,' नलावडेले भने, 'आखिरमा मुम्बई प्रहरीले अवस्था सम्हाल्यो। बालबालिकालाई सुरक्षित बचायो र अभियुक्तलाई समात्यो।'
भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार दीपक केसरकर महाराष्ट्रको शिक्षामन्त्री हुँदा रोहित आर्यलाई एउटा स्कुल पुनर्निर्माणको ठेक्का दिइएको थियो। यही कामको भुक्तानी नपाएको रोहितले बताएका थिए।
उनले रकम भुक्तानीका लागि केसरकरको घरअगाडि धेरै पटक विरोध प्रदर्शन गरे। तर सरकारको तर्फबाट सुनुवाइ नभएको उनले बताएका थिए।
यसमा प्रतिक्रिया दिँदै दीपक केसरकरले भनेका छन्, 'मैले व्यक्तिगत रूपमा उनको सहायत गरेँ र उनलाई चेकमार्फत भुक्तानी गरेँ। सरकारी काममा सबै प्रावधान पूरा हुनुपर्छ। मलाई दुई करोड रूपैयाँ बक्यौता थियो भन्ने लाग्दैन। त्यस्तो थियो भने उनले सम्बन्धित विभागसँग सम्पर्क गरेर यो मामिला समाधान गर्नुपर्थ्यो।'