आर्थिक वर्ष २०८१/८२ सम्म संघीय सञ्चित कोष एक खर्ब ९६ अर्ब रूपैयाँ बढीले ऋणात्मक देखिएको छ। यो भनेको सरकारले गरेको आम्दानीको तुलनामा बढी भएको खर्च हो। 
आर्थिक वर्ष २०८१/८२ को खर्च र आम्दानी मात्रै तुलना गर्दा आम्दानी नै बढी भएको देखिए पनि हालसम्मको समायोजनको हिसाबले यो घाटा देखिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। 
आर्थिक वर्ष २०८०/८१ सम्म यस्तो घाटा दुई खर्ब २४ अर्ब रूपैयाँ पुगेको थियो। गत वर्ष समग्रमा २८ खर्ब रूपैयाँले घटेको देखिन्छ। 
शुक्रबार महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई बुझाएका हुन्। 
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाख रूपैयाँले ऋणात्मक देखिएको छ। त्यस्तै संघीय सरकारको  नगद अवस्था ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक देखिएको छ।  
तर,  विभिन्न कोषहरुको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात  भने ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक देखिएको छ।