जापानसँगको उच्च व्यापार घाटा अमेरिकाका लागि टाउको दुखाइको विषय बन्दै आएको छ। व्यापार असन्तुलनकै कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापानसँग असन्तुष्ट छन्।
यही कारण जापानका नवनियुक्त प्रधानमन्त्री सनई टाकाइचीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई खुसी पार्ने उपाय खोजेकी छन्।
उनी अहिले आफ्नै देशमा उत्पादन हुने जापानी कारहरू पनि अमेरिकाबाट आयात गर्ने तयारीमा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
जापानी अटोमोबाइल कम्पनीहरूले अमेरिकी प्लान्टमा उत्पादन गर्ने कार फेरि जापान आयात गर्ने यो कदम आर्थिक रूपले खर्चिलो र व्यावहारिक रूपले कठिन हो। तर ट्रम्पलाई खुसी पार्न जापानी प्रधानमन्त्री यो कदम चाल्ने निष्कर्षमा पुगेकी छन्।
सरकारको यस्तो निष्कर्षपछि जापानी अटोमोबाइल कम्पनी टोयोटा र निसानका उच्च अधिकारीहरूले पनि आफ्ना अमेरिकी प्लान्टबाट 'रिभर्स इम्पोर्ट' गर्ने सम्भावनामा विचार गरिरहेको बताएका छन्।
तर अमेरिकाको उच्च श्रम लागत र कमजोर जापानी येनका कारण यसरी अमेरिकाबाट आयात हुने वस्तु महँगो पर्ने उनीहरू बताउँछन्।
विश्वकै सबभन्दा ठूलो कार निर्माता टोयोटाका प्रमुख कार्यकारी कोजी सातोले टोकियोमा आयोजित जापान मोबिलिटी शोमा भनेका छन्, 'टोयोटा रिभर्स इम्पोर्टको सम्भावनामा अध्ययन गरिरहेको छ।'
'यसलाई हामीले व्यापारिक अवसरका रूपमा लिएका छैनौं,' उनले भने, 'खुला र निष्पक्ष व्यापारको भावना प्रवर्द्धन गर्ने एउटा माध्यमका रूपमा हेरेका छौं।'
निसानका प्रमुख कार्यकारी गिलयोम कार्टियरले पनि अमेरिकाबाट 'रिभर्स इम्पोर्ट' लाई गम्भीर अध्ययन गरिरहेको बताएका छन्।
जापानी प्रधानमन्त्री टाकाइची सरकारले अमेरिकी कम्पनी फोर्डको 'एफ-१५०' ट्रकहरू खरिद गर्ने योजना पनि बनाइरहेको रोयटर्सले लेखेको छ। यो गाडी जापानको साँघुरा सडकका लागि अत्यन्तै अनुपयुक्त बताइन्छ। रोयटर्सका अनुसार जापानमा यसको प्रयोग हिउँ हटाउने गाडीका रूपमा मात्र हुन सक्छ।
'यो व्यापारिक कारणले भन्दा पनि अमेरिकासँगको राजनीतिक सम्बन्ध सुधारका लागि हो,' अटो विश्लेषक ताकाकी नाकानिशीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, 'अहिलेको अवस्थामा अटो उद्योग पनि अमेरिकासँगको व्यापारिक तनाव र घाटा कम गर्न सरकारलाई सहयोग गर्न तयार देखिन्छ।'
जापानसँग अमेरिकाको ६८.५ अर्ब अमेरिकी डलरको व्यापार घाटा छ। यति उच्च परिमाणको व्यापार घाटा केही कार आयात गरेर पूर्ति हुँदैन।
नाकानिशीका अनुसार जापानले वर्षको करिब २० हजार कार अमेरिकाबाट आयात गर्न सक्छ। जापान अटोमोबाइल उत्पादक संघका अनुसार गत वर्ष जापानले करिब १४ लाख सवारी साधन अमेरिका निर्यात गरेको थियो। जापानको अटोमोबाइल उद्योगले गत वर्ष अमेरिकामै ३३ लाख गाडी उत्पादन गरेको थियो।
जापानी अटोमोबाइल कम्पनीहरूले धेरै दशकदेखि अमेरिकी बजारमा आफ्नो कारखाना र उत्पादन नेटवर्क बनाउन अर्बौं डलर लगानी गरेका छन्। खासगरी सन् १९८० दशकको व्यापारिक तनावपछि यो क्रम सुरू भएको थियो।
अमेरिकी राष्ट्रपति ट्रम्प वा जापानी प्रधानमन्त्री टाकाइचीले चाहेजस्तो 'रिभर्स इम्पोर्ट' तत्काल कार्यान्वयनमा आउन सक्ने अवस्था छैन।
टोयोटाका प्रमुख कार्यकारी सातोका अनुसार दुई देशबीच सुरक्षा मापदण्डहरू फरक भएकाले ती गाडी सिधै जापानमा आयात गर्न सकिँदैन। त्यसका लागि जापानी मापदण्ड अनुसार मिलाउनुपर्छ। यसमा सरकारी सहयोगको खाँचो रहेको उनले बताएका छन्।
निसानका कार्टियरले पनि अमेरिकी बजारका लागि डिजाइन गरिएका कार त्यहाँका ग्राहकको आवश्यकता अनुसार बनाइने हुँदा जापानी उपभोक्ताको आवश्यकता र रूचिभन्दा फरक हुने बताएका छन्।
अर्को व्यावहारिक चुनौती भनेको जापानमा स्टेयरिङ दायाँपट्टि हुन्छ, जबकि अमेरिकामा बायाँपट्टि छ।
अटो बजार विश्लेषक नाकानिशी भने यो कदमले व्यापारिक घाटामा ठूलो सुधार नल्याए पनि राम्रो प्रतीकात्मक सन्देश भने दिने बताउँछन्।
'यसको प्रतीकात्मक महत्त्व निकै ठूलो छ। यसले ट्रम्प प्रशासनसँग विश्वासको वातावरण निर्माण गर्छ,' उनले भने, 'त्यसैले मेरो बुझाइमा यो व्यापारिक लाभभन्दा सम्बन्ध सुदृढीकरण र आपसी विश्वास कायम राख्ने कदम हो।'