नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बसिरहेको छ। यो केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्ने सम्भावना छ।
तर सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसालसहित कम्तीमा तीन जना पदाधिकारी र रामकुमारी झाक्रीसहित केही स्थायी कमिटी सदस्य माओवादी केन्द्रसँगको एकतामा नजाने बताइरहेका छन्।
यही सन्दर्भमा हामीले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग कुराकानी गरेका छौं:
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ, त्यहाँ के-के विषयमा छलफल भइरहेको छ?
अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा केन्द्रीय कमिटीको एउटा समूह अब नेकपा (माओवादी केन्द्र) मा एकीकरण गर्न जाने भन्ने कुरा आयो। अर्को 'फ्र्याक्सन' अहिलेको अवस्थामा सबैभन्दा पहिले पार्टीको समीक्षा गर्नुपर्छ, बिहङ्गम रूपमा पार्टीको समीक्षा गर्ने र निष्कर्ष ननिकाली अहिले नै एकताको प्रक्रियामा जानु हानिकारक हुन्छ भन्ने विचार आइको छ। यो दुईवटा विचार, फ्र्याक्सनका बीचमा छलफल भइरहेको छ। यो छलफलपछि मलाई लाग्छ, आज एउटा निर्णय हुन्छ। उहाँहरू माओवादी केन्द्रमा जाने निर्णय गर्नुहुन्छ। हामीहरूसहितको पंक्ति पार्टीलाई पुनःगठन गर्ने, रूपान्तरणको दिशामा लैजाने दिशामा जान्छौं।
तपाईंले पार्टीको पुनःगठन, पार्टी आन्दोलनको विशद समीक्षा र यसको जगमा नयाँ आन्दोलनको विकास गर्नुपर्छ भनिरहनुभएको छ। तर अध्यक्ष माधव नेपालसँग सुरूदेखि नै टसल देखियो। के-के विषयमा कुरा मिलेन र अन्ततः विभाजनकै बाटो हिँड्नुपर्ने भयो?
अध्यक्ष माधवकुमार नेपालसँग मेरो सुरूदेखि नै कुरा मिलेन। उहाँले सधैँभरि दक्षिणपन्थी कार्यदिशा अँगाल्नुभयो। नेपाली कांग्रेससँग साँठगाँठ गर्ने र कांग्रेसकै पुच्छरगिरि गर्दै हिँड्नुभयो। कांग्रेससँग गठबन्धन गर्ने नीति मात्रै लिइरहनुभयो। यो दक्षिणपन्थी कार्यदिशा नै हो। यहाँहरू हेर्न सक्नुहुन्छ, यो कार्यदिशा उहाँले कुनै पनि घटनाक्रममा छाड्नुभएको छैन। मैले बिहीबार केन्द्रीय कमिटीमा करिब ३० बुँदे आफ्नो दस्तावेज प्रस्तुत गरेको छु। त्यो ३० बुँदामा मैले विगतको चार वर्षको समीक्षा गरेको छु। उक्त समीक्षाभित्र कमरेड माधवकुमार नेपालले कहाँकहाँ गल्ती गर्नुभयो। प्रष्ट भनेको छु। उहाँको नेतृत्व पूर्णतया असफल भएको छ। घटनाक्रमहरूले उहाँ असफल भएको कुरा सिद्ध गरेको छ।
उहाँले त अहिले नेतृत्व छाड्नुपर्ने हो। पार्टी पुनःगठन गर्नका लागि उहाँले आधार प्रस्तुत गर्नुपर्ने हो। तर त्यो नगरेर उहाँ जसरी पार्टी एकीकरणको दिशातर्फ हिँड्नुभयो। अहिलेको अवस्थामा एकता–एकीकरण गर्नु भनेको पार्टी चलाउन नसकेर विसर्जन गर्नुबाहेक केही पनि होइन।
कम्युनिस्ट आन्दोलनमा टुटफुट, बेमेल, विभाजन, वैचारिक असहमतिको लामो इतिहास छ। यहाँहरू सधैँ यही बाटो हिँडिराख्नुभएको छ। पार्टीको आन्दोलनको नेतृत्वको अन्तिमतिर आइपुग्दा पनि फेरि फुटकै बाटो किन हिँड्नुपरेको होला? अहिलेको फुटले यहाँले भन्दै आउनुभएको एमालेसँगको विद्रोह पुष्टि हुन्छ?
हामीले विभाजन गर्न लागेका होइनौं नि! हामी यो बाटो हिँड्न खोजेका हौं र! हामी त सधैँ एकताको पक्षमा छौं। एकीकृत समाजवादीलाई पनि एकताबद्ध गरौं। सबै वामपन्थी शक्तिहरूलाई पनि एकताबद्ध गरौं। व्यापकतम वामपन्थी मोर्चा निर्माण गरौं भन्ने पक्षमा छौं। पार्टी कमिटीका बैठकहरूमा व्यवस्थित हिसाबले राख्दै आएका छौं।
तर पार्टीलाई चार वर्षपछि ल्याएर, जुन ढंगले विखण्डनको डिलमा, विभाजनको सङ्घारमा पुर्याएर एउटा हिस्सा लिएर माओवादी केन्द्रतर्फ जाने कुरा भइरहेको छ, यो चाहिँ विखण्डनवादी चिन्तन हो। हामीले भनिरहेको एकता, एकीकरणको अभियान चलाऔं। व्यापक वाममोर्चा बनाऊँ भन्ने कुरा जुन हो, त्यसलाई उहाँहरूले अस्वीकार गर्नुभयो। खाली दुईवटा समूह (पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल) एकता गर्ने बाटामा मात्रै उहाँहरू लाग्नुभयो। त्यसबाट मात्रै अहिलेको समस्या समाधान हुनेवाला छैन।
यहाँले यसो भनिरहँदा माओवादी केन्द्रभित्र पनि एकताको एक मत छैन। एकीकृत समाजवादीमा पनि मतैक्य देखिएन, यस्तो बेलामा प्रचण्ड र माधव नेपाल चाहिँ एकताका लागि किन हतारिएका होलान्? तपाईंलाई के लाग्छ?
म आफै पनि आश्चर्यचकित छु। प्रचण्ड र माधव नेपाल एकताका लागि किन हतारिइरहेका छन्! उहाँहरूको हतारोले पार्टी एकता हुँदैछैन। बरू भएकै पार्टी फुट्दैछ। हाम्रो पार्टी पनि विभाजनतर्फ जाँदैछ। माओवादी केन्द्र पनि विभाजनकै बाटोमा जाँदैछ।
पार्टीलाई त अझ उन्नतस्तरमा लगेर, हिजोका कमीकमजोरीलाई पनि हटाएर, पार्टीलाई पुनःगठन गरेर, उन्नतस्तरमा एकताबद्ध बनाउनुपर्ने ठाउँमा यथास्थितिबाट जान खोज्दाखेरी दुइटै पार्टीमा दरार पैदा हुन थालिरहेको छ। म त भन्छु, अहिलेको एकीकरण, एकीकरण होइन एकीकृत समाजवादीको विसर्जन हो। हामी आन्दोलन विसर्जन हुँन दिँदैनौं। नयाँ ढंगले पुनःगठन हुन्छ।
तपाईंले यसो भनिरहँदा एमालेसहित वामपन्थी शक्ति पुनः एक ठाउँमा हुनुपर्छ, एकीकृत समाजवादी एमालेमै समाहित हुनुपर्छ भन्ने यहाँहरूको मत हो?
अहिलेको अवस्थामा सबै वामपन्थी शक्तिबीच एकता र सहकार्यको बाटो नै उत्तम बाटो हो। म यसकै पक्षपाती हुँ। गल्ती–कमजोरी सबैबाट भएका छन्। त्यसकारण गल्ती–कमजोरी सबैले हटाउनुपर्छ। सबै गल्ती, कमजोरीको केन्द्रविन्दु चाहिँ केपी शर्मा ओली नै हो भन्ने भाष्य ठीक होइन। गल्ती, कमजोरी सबैले गरेकाले त्यसको निराकरण गर्ने र सिंगो वामपन्थी आन्दोलन एकताबद्ध बनाउनुपर्छ। एउटा समूह (नेकपा एमाले) लाई अलगथलग पारेर अरूलाई चाहिँ एकताबद्ध तुल्याउन सकिन्छ भन्ने भाष्य आफैमा गलत छ। यो चिन्तन नै गलत चिन्तन हो। त्यसकारण एमालेसँग पनि यत्रो ठूलो पंक्ति छ। त्यो पंक्ति त एकताकै चाहनामा छ।
बहुसंख्यक कार्यकर्ताहरू एकताकै चाहना बोकेर बसेका छन्। त्यसकारण्(ा हामी सबैलाई एकता गर्ने एउटा फराकिलो छाती लिएर पो अगाडि बढ्नुपर्छ।
अहिलेकै अवस्थामा एमालेसँगको एकता सम्भव छ त! केपी ओलीको कार्यशैली, प्रवृत्तिबाट आजित भयौं भन्नुभयो, अहिले त्यसमा सुधार देख्नुभयो?
सबै समूहको बीचमा, सबै घटकभित्र एकताको चाहना प्रबल छ। तीव्र छ। एकताको आवश्यकता पनि महसुस भएको छ। एकता नभएर नै कम्युनिस्ट आन्दोलन कमजोर भयो भन्ने बुझाइ छ। यो सत्य पनि हो।
त्यसो हुनाले कम्युनिस्टहरूबीचका राजनीतिक, वैचारिक, कार्यक्रमिक हिसाबले एकता प्राप्तिका लागि लगातार प्रयत्न गर्नुपर्छ। सबैले आफ्नो कमजोरीको समीक्षा गर्नुपर्छ। निराकरण गर्नुपर्छ।
अब म सबैसँग वार्ता गर्छु। एमालेसँग पनि गर्छु। माअोवादी केन्द्र, समाजवादी घटक र नेत्रविक्रम चन्दसँग पनि छलफल गर्छु। सबैको विचार, भावना सुनेर हामी बृहत् वाम, प्रगतिशील र कम्युनिस्ट आन्दोलनको स्वरूप दिन्छौं।
संकीर्णताको चस्मा लगाएर, आग्रह–पूर्वाग्रह पालेर अब देशलाई अगाडि बढाउन सकिँदैन। विगतको पुराना सङ्कथन टिपेर, पुरातनपन्थी सोच पालेर पनि कहीँ पुगिँदैन।
तपाईं ३० को दशककै उत्तरार्द्धमा  कम्युनिस्ट आन्दोलनको नेतृत्व गरिसक्नुभएको व्यक्ति, अहिलेको खाँचो त आफ्नै पार्टी एकताबद्ध बनाउने थियो होला नि? यो भूमिकामा चाहिँ किन चुक्नुभयो?
म त अहिले पनि पार्टी फुटतर्फ नजाओस् भन्ने मै छु। विभाजनमा जानु दुर्भाग्यपूर्ण हुनेछ भन्नै नै मानिस हुँ। पार्टीलाई एकताबद्ध बनाउने कुरा खाली लिपापोती गरेर, टाउको जोडेर, ओहोदा बाँडेर, पद बाँडेर, आफ्ना मानिसहरूलाई र अरूलाई समेत पदमा ल्याएर, उनीहरूलाई लड्डुपेडा बाँडेर एकता हुँदैन नि त! कम्युनिस्ट आन्दोलन त्यसरी एकताबद्ध हुन्छ त?
कम्युनिस्ट आन्दोलनको एकता भनेको त नीतिनिष्ठ हुन्छ। सिद्धान्तनिष्ठ हुन्छ। विचारनिष्ठ हुन्छ। यो भनेको राजनीति, विचार, नीति र कार्यदिशाका हिसाबले मात्रै एकता सम्भव छ। 
अब हाम्रो यही पार्टीभित्र त कस्तो देखियो भने- विद्रोह गरेको विन्दुदेखि एकता भएन। विद्रोह गरेको दिनदेखि नै हामीभित्र गम्भीर प्रकारको विवाद छेडियो। त्यो विवाद छेडिँदैछेडिँदै जाँदा आजको अवस्था आयो।
म सुरूदेखि नै क्रान्तिकारी कार्यदिशा लिऊँ भन्ने, माधवकुमार नेपाल दक्षिणपन्थी बाटो हिँडेको हिँड्यै गर्ने। उहाँ त समाजवाद पनि होइन, बहुदलीय जनवाद अँगाल्नुपर्छ भन्ने। यही बेमेलले विवाद बढायो। 
विभाजनकै डिलमा पुगिसक्नुभयो, जाँदाजाँदै अध्यक्ष माधव नेपाललाई सन्देश के छ?
उहाँले जनताको बहुदलीय जनवादको पक्षमा जुन रटान लगाउनुभयो, त्यसलाई छाड्नुस्। वैज्ञानिक समाजवादको बाटोमा आउनुस्। वैज्ञानिक समाजवाद मात्र पनि भनेर पुग्दैन। त्यसलाई प्राप्त गर्ने क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्त लिएर अगाडि बढ्नुस्। कमसेकम बुढेशकालमै भए पनि कम्युनिस्ट आन्दोलनलाई नीति–सिद्धान्तनिष्ठ ढंगले एकताबद्ध बनाउने काममा लाग्नुस्।