तिहार सुरू भएसँगै काठमाडौं उपत्यकामा माटोको सामानको लागि प्रख्यात भक्तपुरको पोट्री स्क्वाएरका कुमालेहरुलाई भ्याई नभ्याई हुन थालेको छ।
उमेरले ४२ वर्ष काटेका सहदेव प्रजापती बिहानैदेखि पाला बनाई रहन्छन्। पालाको ब्यापार तिहारमा अत्याधिक हुने र तिहारपछि अत्यन्त न्यून हुने भएकोले पोट्री स्क्वाएरका प्राय सबै कुमालेहरुको अवस्था सहदेवको जस्तै हो।
‘पाला त मौसमी खेती जस्तै हो, अहिले जतिगर्न सक्यो–सक्यो, पछि त खुत्रुके, मकल, धुपौरो इत्यादी धेरै बनाइन्छ’ सहदेवले पसिना पुछ्दै भने।
एक जनाले राम्रोसँग काम गर्यो भने दिनमा १ हजार वटा पाला बनाउन सक्ने उनी बताउँछन्।
तिहारमा मात्र एकजनाले राम्रोसँग पाला बनाएर बेच्नेले ५०–६० हजार सम्म कमाउने गरेकोे ब्यवसायीहरुको अनुभव छ। तिहारमा पाला मात्र नभई कलश, धुपौरो आदि पनि राम्रै बिक्री हुने गरेको छ।
साधारणतया पाला ४ प्रकारको हुन्छ। सबैभन्दा सानो पालाको १ सय वटाको २ सय रुपैंया पर्छ। त्यस्तै त्योभन्दा ठूलाको प्रतिगोटा क्रमश १०, १५ र २० रुपैयाँ पर्दछ।
त्यस्तै कतिपयले आगोमा नपोलेको पाला लैजाने गरेको र त्यसको ३ वटाको ५ रुपैयाँ पर्छ। उनीहरुले काचो पालालाई चोखो मान्ने ब्यवसायी बताउछन।
पाला बनाउन झ्याउ हुने र पैसा कम आउने भएकोले धेरै कुमालेहरुले पाला भन्दा अरु चिज बनाउन तर्फ लागेको प्रजापती पोट्री शिल्ड एण्ड ट्रफी इन्डस्ट्रीका संचालक विनोद कुमार प्रजापती बताउछन्।
‘ धेरै कालीगढहरुले पाला बनाउन रुची नदेखाएपछी माग पुर्ती गर्न अन्य कुमालेलाई भ्याई नभ्याई छ, बजारको माग समेत धन्न सकिएको छैन’ उनले भने।
बिगतका तिहारमा अफुले मात्रै करिब २० हजार वटा पाला बेच्ने गरेको प्रजापतीले जानकारी दिए।
माटोको भाडो बनाउन झन्झटीलो हुने भएकोले पछिल्ला पुस्ताले बिस्तारै यो पेसा छोड्दै गएको बिगत ५४ वर्षदेखि माटोको भाडा बनाउदै आएका ७४ बर्षीय गणेश भक्त प्रजापती बताउछन्।
‘गर्दिन भन्नेलाई कर लगाउन मिलेन, यस्तै पारा हुने हो भने हाम्रो पुख्र्यौली पेसा नै लोप हुन्छ’ उनले भने।
माटोको भाडा बनाउन अहिले प्रबिधिको सहयोगले अहिले धेरै सहज भएको गणेश भक्तको अनुभव छ।
‘पहिले–पहिले हामीले सुरुमा माटोलाई खुट्टाले फुटाउथ्यौ अहिले त्यसको लागि मेसिन प्रयोग गर्छौ त्यसपछि भाडा बनाउन चक्र हातले घुमाउन पथ्र्यो अहिले मोटर प्रयोग गर्छौ र अन्तिममा सामान्य तरिकाले पोल्थ्यौ अहिले त्यसको लागि पनि आधुनिक भट्टी प्रयोग गर्छौ’उनले भने।
सबै चिज सहज भए पनि यो पेसामा भविष्य नदेखेर युवाहरुले अन्य काम गरेकोमा भने गणेशभक्त चिन्तित छन्।
तस्बिरहरू: नारायण महर्जन/ सेतोपाटी