पछिल्लो आर्थिक वर्ष २०८१/८२ मा करिब ६५ अर्ब (६४ अर्ब ९६ करोड) रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ।
याे लगानीकर्ताले लगानीको लागि गरेको प्रतिबद्धताको आधारमा उद्योग विभागले दिएको स्वीकृत रकम हो। आर्थिक वर्ष २०८०/८१ मा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानीको लागि स्वीकृति दिइएको थियो।
विभागको तथ्यांक अनुसार अटोमेटिकरुटबाट चार अर्ब ६१ करोड रुपैयाँका चार सय ५१ परियोजना स्वीकृत भएका छन्।
अप्रुभल रुटबाट ६० अर्ब ३५ करोड रुपैयाँ लगानी स्वीकृत भएको उल्लेख गरिएको छ।
गत आर्थिक वर्षमा ८४० वटा परियोजनालाई लगानी स्वीकृति दिइएको थियो। संख्यागत आधारमा सबैभन्दा धेरै सूचना प्रविधि क्षेत्रका छन्। सूचना प्रविधि क्षेत्रमा एक अर्ब ८५ करोड रूपैयाँ बराबरको ३८२ वटा परियोजनलामा लगानी स्वीकृति दिइएको छ।
लगानी मूल्यको आधारमा भने सेवामूलक उद्योग र पर्यटन क्षेत्रमा धेरै छ। गत आर्थिक वर्षमा ८४ सेवा मूलक उद्योग सम्बन्धी परियोजनामा ३० अर्ब ९० करोड रूपैयाँ लगानी स्वीकृत दिइएको छ।
पर्यटन उद्योगका ३०४ परियोजनाको लागि २६ अर्ब ८२ करोड लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ।
५५ उत्पादनमूलक उद्योगको लागि तीन अर्ब ८४ करोड, एउटा ऊर्जा उद्योगको लागि २ करोड ५५ लाख, १२३ वटा कृषि उद्योगको लागि एक अर्ब ४६ करोड लगानी स्वीकृति दिइएको छ।
गत वर्ष खनिज उद्योगमा लगानी प्रतिबद्धता आएको छैन भने दुई वटा पूर्वाधार उद्योगमा पाँच करोड रूपैयाँ बराबरको लगानी छ।
हालसम्म करिब ६ खर्ब रूपैयाँको विदेशी लगानी प्रतिबद्धताको स्वीकृति दिइएको छ। तर स्वीकृतिको आधारमा यथार्थ लगानी भने कम आउने गरेको छ।