'तिमी आफै केही गर्न सक्दैनौ।'
स्वस्तिक सापकोटाले यो कुरा धेरैको मुखबाट सुनेका थिए।
उन्नाइस वर्षको किशोरलाई बारम्बार यस्तो सुन्नुपरेपछि मनमा चसक्क त परिहाल्छ।
तर स्वस्तिकले यस्तै भनाइहरूलाई आफ्नो शक्ति बनाए र आज आफ्नै क्याफे चलाइरहेका छन्। अनि स्वदेशमै बसेर उद्यम गर्न चाहने युवाहरूका लागि उदाहरण बनेका छन्। उनी आफूजस्तै अरू युवाहरूलाई स्वदेशमै बसेर व्यवसाय गर्न प्रेरित पनि गर्छन्। यसका लागि अनेक व्यावसायिक आइडियाका भिडिओ बनाउँछन्।
यो स्वस्तिक, उनले पाटनढोकामा खोलेको 'लोबेन्स क्याफे' र उनको भिडिओ निर्माणको कथा हो।
सुरू गरौं स्वस्तिकको बाल्यकालबाट।
उनी धादिङको साधारण परिवारमा जन्मिएका हुन्। सानैमा परिवारसँग काठमाडौं आए। उनलाई मोबाइलमा भिडिओ गेम खेल्न धेरै रूचि थियो। बाह्र वर्ष उमेर पुग्दा त गेमिङ भिडिओ नै बनाउन थालेका थिए।
गेम खेल्दा र गेमिङ भिडिओ बनाउँदा उनी दिन बितेको पत्तो पाउँदैनथे। उनलाई त्यो काम गर्दा अर्कै जोस आउँथ्यो।
यसरी आफ्नो गेमिङ भिडिओ बनाउँदा बनाउँदै उनी अर्काको निम्ति पनि बनाइदिन थाले। गेमिङ भिडिओ बनाउँदा उनी हिन्दी भाषामा स्क्रिप्ट लेख्थे। भ्वाइसओभर पनि आफै दिन्थे। बच्चाको स्वर निकाल्न उनी पोख्त छन्। कतिपय भिडिओमा आफैले बच्चाको स्वर रेकर्ड गराएका छन्।
प्लस—टू सकेर स्नातक पढ्ने तयारी गरिरहँदा उनी पुल्चोकको 'मेरोमा' क्याफेका लागि मार्केटिङ गर्न थाले। उनी क्याफेका भिडिओ बनाउँथे र इन्स्टाग्राम, टिकटक लगायत सामाजिक सञ्जालमा हाल्थे।
क्याफेको मार्केटिङ भिडिओले उनलाई चर्चा दियो। मान्छेहरू उनले बनाएको भिडिओ खुब रूचाउन थाले।
त्यही क्याफेमा पाँच महिना काम गर्दा नै हो, स्वस्तिकले कुनै दिन आफ्नै व्यवसाय गर्छु भन्ने निधो गरेको।

उनलाई पहिल्यैदेखि जागिरमा रूचि थिएन। अर्काको जागिर खाएर कहिल्यै प्रगति हुँदैन, जिन्दगीमा अघि बढ्नुछ भने आफ्नै काम गर्नुपर्छ भन्ने उनको सोच थियो। तर परिवारको करकापले उनी जागिर खाने कि व्यवसाय गर्ने दुबिधामा थिए।
परिवारका सदस्यहरू व्यवसाय गर्नु भनेको जोखिम मोल्नु हो भनेर सम्झाउँथे। जागिर खाए भविष्य सुरक्षित हुन्छ भनेर बुझाउँथे।
स्वस्तिकलाई भने यो कुरा चित्त बुझ्दैन थियो। न उनी जागिर खान चाहन्थे, न विदेश जान। उनलाई स्वदेशमै बसेर आफ्नो व्यवसाय गर्न मन थियो।
जसले जेसुकै सल्लाह दिए पनि उनले मन दृढ बनाए र व्यवसायका अनेक आइडिया सोच्न थाले।
व्यवसाय नै गर्छु भनेर दृढ हुनुको एउटा कारण परिवारकै भलाइ थियो। जिन्दगीभरि जागिर खाँदा पनि घर चलाउन धौधौ भएको उनले देखेका थिए।
त्यसैबीच उनी करिब तीन साता भारत घुम्न गए।
'म त्यति बेला एकदमै दोमनमा थिएँ। व्यवसाय गर्छु भन्ने थियो, तर कुन व्यवसाय गर्ने प्रस्ट थिएन। घरमा पनि जागिर नै खानुपर्छ भन्ने दबाब थियो,' उनले भने, 'मन शान्त पार्न एक्लै भारत घुम्न गएँ।'
उनले त्यो भ्रमणमा हैदराबाद, बैंगलोर लगायत सहर घुमे।
ती सहर घुम्दा उनले त्यहाँको बजार ट्रेन्ड मिहिन अवलोकन गरे। स्ट्रिट फुड चाखे। राजमार्गका ढाबा गए। सामान्यदेखि हाइफाई क्याफेको अनुभव लिए।
उनले के देखे भने — युवाहरूको बढी जमघट क्याफेमा हुन्छ। स्तरीय क्याफे खोलेर राम्रो वातावरण दिन सक्यो भने युवाहरू आकर्षित हुन्छन्।
उनी करिब ४० हजार रूपैयाँ बोकेर भारत घुम्न गएका थिए। जसै पैसा सकियो, फर्केर आए।
फर्केर आउँदा गोजीमा एक पैसा बाँकी थिएन, तर दिमाग व्यवसायको आइडियाले भरिएको थियो।
उनले काठमाडौं आउनेबित्तिकै निर्णय लिए — म अब क्याफे खोल्छु।

उनले यस्तो निर्णय लिनुमा भारत भ्रमणको मात्र हात थिएन, पहिले काम गरेको 'मेरोमा' क्याफेको प्रभाव पनि थियो।
त्यहाँ मार्केटिङ गर्दा नै क्याफे कसरी चल्छ र कसरी राम्रो गर्न सकिन्छ भन्नेबारे उनले धेरै कुरा बुझिसकेका थिए। त्यसले पनि क्याफे खोल्न आँट आएको उनी बताउँछन्।
'म भारत घुम्दा थरी थरीका भिडिओ बनाएर सामाजिक सञ्जालमा हाल्थेँ। तिनैमध्ये एउटा भिडिओमा क्याफे खोल्ने कुरा गरेको थिएँ। त्यसमा धेरै सकारात्मक प्रतिक्रिया पाएँ,' स्वस्तिकले भने, 'यहाँ आएपछि पनि विभिन्न क्याफेका लागि भिडिओ बनाउने काम गरेँ।'
उनी आफ्ना भिडिओमा व्यवसाय कसरी गर्ने भनेर आइडिया पनि दिन्छन्। विदेश जान खुट्टा उचालिरहेका युवालाई स्वदेशमै बसेर उद्यम गर्न प्रेरित गर्दै 'नेपालमा बसेर के गर्ने' भन्ने शीर्षकमा अनेक व्यावसायिक आइडियाका भिडिओ बनाउँछन्।
उनीजस्तै जागिर खान मन नभएका र व्यवसाय गर्नुपर्छ भन्ने सोच भएका युवाहरू ती भिडिओ चाख मानेर हेर्छन्। कम समयमै उनको फलोअर्स निकै बढेको छ। टिकटकमा साढे ३८ हजार फलोअर्स छन्।
ती फलोअर्सले पनि क्याफे खोल्न आँट र हौसला दिएको उनी बताउँछन्।
त्यसैबीच एउटा यस्तो घटना भयो, जसले उनको क्याफे खोल्ने परिकल्पनाले मूर्तरूप लियो।
स्वस्तिकसँग क्याफे खोल्ने आइडिया त थियो, तर लगानी गर्न पैसा थिएन। त्यही बेला सामाजिक सञ्जालमा उनले बनाएका भिडिओ हेर्दाहेर्दै धेरैलाई उनको क्षमतामा भरोसा भइसकेको थियो। त्यही भरोसाले एक जना व्यक्ति उनको क्याफेमा लगानी गर्न तयार भए। त्यसबाहेक भिडिओबाटै बनेका केही साथीहरूले पनि क्याफेमा पैसा हाल्ने इच्छा देखाए।
'यो क्याफे खुल्नमा मुख्य हात मैले बनाएका भिडिओको छ,' उनले भने, 'त्यही भिडिओबाट मैले धेरै साथी कमाएँ। धेरै मान्छेले मलाई विश्वास गरे र यो क्याफे खोल्न हात पनि बढाए।'
स्वस्तिकले यही वैशाख ७ गतेबाट आफ्नो क्याफे सुरू गरेका हुन्। पाटनढोका क्षेत्रमा कोठा खोज्ने, सजावट गर्ने लगायतका काम आफैले गरेका थिए।
क्याफे निर्माण क्रममा उनी हरेक दिन भिडिओ बनाएर पोस्ट गर्थे। त्यसले पनि धेरैलाई उत्सुकता जगाएको थियो। अहिले क्याफेमा नियमित आउने ग्राहक तिनै हुन्।
'नाम चाहिँ कसरी जुराउनुभयो?' मैले क्याफेको नाम 'लोबेन्स' राख्नुको कारण सोधेँ।
जबाफमा उनले भने, 'यो नामसँग दुइटा कुरा जोडिएको छ। एक त, यो मेरो न्वारनको नामसँग मिल्छ। अर्को, जर्मन भाषामा यसको अर्थ 'केही कुराको प्रशंसा गर्नु' भन्ने बुझिन्छ।'
सोचविचार गर्दै जाँदा यो नाम अरूभन्दा फरक लागेको उनी बताउँछन्।

यो क्याफे बिहान ९ बजेदेखि राति ९ बजेसम्म खुल्छ। पाटन क्याम्पस लगायत वरपरका अन्य कलेजका विद्यार्थी बिहान बिहान चिया खान आउँछन्। दिउँसो पनि भिडभाड भइरहन्छ। उनीकहाँ आउने धेरैजसो ग्राहक युवा पुस्ता नै हुन्।
यहाँ कुर्सी र भुइँ दुवै ठाउँमा बस्ने सुविधा छ। नाम क्याफे भए पनि कफी मात्र पाइँदैन। म:म, चाउमिन, बर्गर लगायत पनि पाइन्छ। विद्यार्थीहरूको खाजालाई लक्ष्य गरेर यस्ता फास्टफुड राखेको स्वस्तिकको भनाइ छ।
क्याफे खोलेपछि पहिले जागिर खान दबाब दिइरहने परिवारका सदस्य पनि खुसी छन्। उनीहरू धेरैचोटि यहाँ खान आइसके। विदेश जानुपर्छ भन्नेहरू पनि 'नेपालमै बसेर राम्रो गर्यौ' भन्दै प्रशंसा गर्छन्।
'पहिले मान्छेहरूको मुखबाट 'तिमी केही गर्न सक्दैनौ' भन्ने सुन्दा मन चसक्क हुन्थ्यो। अहिले खुसी लाग्छ,' स्वस्तिकले भने, 'त्यही इखले म यहाँसम्म आइपुगेँ।'
क्याफे चलाउनुका अतिरिक्त उनी गेमिङ भिडिओ बनाउने, स्क्रिप्ट लेख्ने र भ्वाइसओभर दिने काम पनि गरिरहेका छन्। सामाजिक सञ्जालमा भिडिओ हाल्ने काम पनि जारी छ।
'मलाई यस्तो प्राविधिक काममा निकै रूचि छ,' उनले भने, 'भविष्यमा भिडिओ निर्माणको नयाँ नयाँ प्रविधि सिक्दै जाने विचारमा छु।'
सबै तस्बिर: आर्या श्रेष्ठ/सेतोपाटी
***